मार्च ८ लाई नेपालको राष्ट्रिय पर्यटन दिवस घोषणा गर्ने आधार र ब्रान्डिङको अवसर

मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ । वामपन्थी कित्ताले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउँछ । सन् १९७७ मा संयुक्त राष्ट्रसंघले मान्यता दिएपछि अन्तर्राष्ट्रिय महिला दिवस मनाइन सुरु भएको हो । त्यसअघि रुसी कम्युनिष्ट हेभिवेट भ्लादिमिर इलिच लेनिनले सन् १९१७ मार्च ८ को रुसी क्रान्तिताका महिलाहरुको बृहत् सहभागिताको कदर गरेर सन् १९२२ मा मार्च ८ लाई सम्मान गरेर महिला दिवसको उपमा दिए ।
यी त भए संयुक्त राष्ट्रसंघ र सोभियत संघको तर्फबाट मार्च ८ लाई महिला जोडेर गरिएका ऐतिहासिक प्रयत्नहरु । मार्च ८ लाई नेपाली पर्यटनमा पनि जोड्न सकिन्छ । जोड्ने ऐतिहासिक आधार छन्, तथ्यहरु छन् । राष्ट्रिय होइन, अन्तर्राष्ट्रिय तथ्यहरु छन् । र, ती तथ्यहरुलाई जोडजाड गरेर हामीले ब्रान्डको रुपमा र दिवसको रुपमा मनाउन सक्छौं ।
मार्च ८ मा नेपाली पर्यटन दिवस मनाउने आधार
नेपालमा अनुसन्धान गर्न, उपनिवेश प्रयास गर्न, कूटनीतिक काम र हिमाली आरोहणको लागि विदेशीहरु आउनेजाने क्रम लामै समयबाट छ, तर पर्यटक भिसा लिएर नेपालमा आउने चलन सन् १९५५ मा सुरु भयो । सन् १९५५ मा रुसबाट युरोप हुँदै बेलायत नियन्त्रणको भारत हुँदै नेपाल आएका उद्यमी बोरिस लिसानेभिचको प्रयत्न र पहलमा नेपालमा सन् १९५५ बाट पर्यटन भिसा दिन सुरु गरियो । राजा महेन्द्रले भिसा दिन सहजीकरण गरे ।
त्यसैको फलस्वरुप सन् १९५५ मार्च ८ मा नेपालमा पासपोर्ट बोकेका पर्यटकहरु तत्कालीन गौचरन विमानस्थलमा ओर्लिए । मार्च ८ को दिन आएका उनीहरु सबै महिला नै थिए । त्यसबेला संयुक्त राष्ट्रसंघले महिला दिवसको मान्यता दिएकै थिएन । ती महिलाहरु वामपन्थी वा भनौं कम्युनिष्ट देशका पनि थिएनन्, तर संयोग नै मान्नुपर्छ, उनीहरु मार्च ८ मा पर्यटकको रुपमा नेपाल आएका प्रथम अनुहारहरु थिए । १० अमेरिकी र २ ब्राजिली महिलाको उक्त समूह नै पर्यटकको रुपमा नेपाल आएको पहिलो समूह भन्दै अमेरिकी अखबारले मार्च ९ को दिन समाचारको हेडलाइनमा भनेको थियो, ‘नेपालमा पर्यटक युग सुरु ।’
मार्च ८ को बिहान ११ बजे गौचरन विमानस्थलमा इन्डियन एअरलाइन्सको दुई इन्जिन भएको जहाज अवतरण भएको र ढुङ्गे बाटो हुँदै पर्यटकहरु होटल (तत्कालीन रोयल होटल, जुन अहिलेको निर्वाचन आयोगको भवनमा थियो) आएका थिए ।
थोमस कुक एन्ड सन्स नामक विश्वको चलेको यात्रा कम्पनीले ती महिला पर्यटकहरुलाई नेपाल ल्याएको थियो । आउने विदेशी, ल्याउने विदेशी, होटल सञ्चालकका मुख्य हर्ताकर्ता विदेशी थिए । विमानदेखि कुक भारतीय अर्थात् विदेशी थिए । सायद यही भएर हुनुपर्छ, नेपालीहरु नेपालको पर्यटक युग सुरु भएको अनभिज्ञ थिए । त्यही भएर न्यूयोर्क टाइम्समा पत्रकार ए.एम. रोसेन्थलले मार्च ८ मा लेखेर मार्च ९ मा प्रकाशन भएको समाचारमा भनिएको थियो- ‘देशको यो ऐतिहासिक क्षणको बारेमा औंलामा गन्न सकिने नेपालीहरुमात्रै जानकार थिए ।’
सबै विदेशी हुँदाहुँदै काठमाडौं घुमाउने अनुहार अशोक शर्मा चैँ नेपाली थिए, तर सेन्ट जेभियर्समा पढेर अंग्रेजी जान्ने भएकाले संयोगले ‘गाइड’ हुन पुगेका शर्मा खासमा गाइड होइनन्, ‘गेसपेपर’ चैँ थिए । किनभने उनले व्यवसायिक गाइडको तालिम र सूचना पाएका थिएनन् । नेपाली पर्यटनको यो पक्षबारेमा अनुसन्धानकर्ता अमेरिकी प्राध्यापक मार्क लिक्टीले लेखेका छन् ।
महिला पर्यटक तान्ने र महिलामैत्री गन्तव्य बनाउने आधार
मार्च ८ लाई नेपाली पर्यटन दिवस मनाउने आधार अमेरिकी अखबारको हेडलाइनदेखि अमेरिकी प्राध्यापककै अनुसन्धानले सहयोग गर्छन् । मार्च ८ महिलाहरुले खास मान्ने दिन नै हो । औपचारिक नै सही महिलाहरुलाई खास स्पेस दिने दिन हो । यही दिन नेपाली पर्यटन दिवस हुने हो भने यसले महिलामैत्री गन्तव्यको रुपमा प्रवर्द्धन गर्न र विश्वका महिलाहरुको नेपाल चासो बढाउन प्रयोग गर्न सकिन्छ । पूर्वाधारमा कमजोरी छन् । प्रचार र जनशक्तिमा कमजोरी छन् । यति हुँदाहुँदै पनि नेपाल अरु दक्षिण एसियाली देशहरुको तुलनामा सबैभन्दा सुरक्षित र स्वतन्त्र गन्तव्य नै हो ।
आज महिलाहरुले ढाका, दिल्ली र इस्लामावादमा मध्यरात एक्लै हिँड्न गाह्रो हुने समाचार आउँदा काठमाडौंमा मध्यरात महिलाहरु निस्फिक्री हिँड्ने वातावरण छ । पोखरादेखि चितवनसम्मका गन्तव्यहरुमा यस्तै छ । यही देखेर श्रीलंकाली साहित्यकार तथा प्रकाशक कन्चना प्रियाकन्थाले नेपाल अनुभव सुनाउँदै भनेकी थिइन्, ‘तिम्रो देशको सार्वजनिक यातायात सुरक्षित छैनन्, तर महिलाहरु सुरक्षित छन् ।’
मार्च ८ लाई पर्यटन दिवस मान्दा नेपालले नेपालमा महिलाहरुको लिगेसीलाई पर्यटन गन्तव्य वा मार्च ८ विशेष प्याकेज ल्याउन सक्छ । गौतम बुद्धकी आमा मायादेवीको ब्रान्ड बनाएर बुद्ध धर्म मान्नेहरुले मायादेवीकोमा आउने वातावरण बनाउन सक्छन् । बुद्धको बुद्धत्वसँग भारतीय भूमि पनि जोडिन्छ, तर मायादेवी त भावना र भूमि दुवैमा नेपालमै जोडिन्छिन् । मायादेवीको मन्दिर नेपालमा मात्रै छ । यसलाई ब्रान्ड गरेर मार्च ८ लाई उत्सवमय बनाउन सकिन्छ ।
युरोपको स्विट्जरल्यान्डको केन्द्रीय चुनावमा महिलाहरुले भोट हाल्न सन् १९७१ मा मात्रै पाए । नेपाली महिलाहरुले पहिलो आमनिर्वाचन हुँदा सन् १९५९ मै मताधिकार पाएका थिए । त्यो चुनावबाट प्रत्यक्ष चुनाव जितेर मन्त्री बन्न सफल भएकी थिइन् द्वारिकादेवी ठकुरानी । उनले तत्कालीन ‘क्षेत्र नम्बर ६६ डडेलधुरा’बाट चुनाव जितेकी थिइन् । डडेधुरामा पूर्वाधार, संग्रहालय र अरु चित्ताकर्षक कुराहरु राखेर ठकुरानीको यो जितलाई नेपाली महिलाको लोकतान्त्रिक लिगेसीको ब्रान्ड गरेर गन्तव्य बनाउन सकिन्छ ।
ठीक त्यसैगरी योगमायाको गन्तव्यलाई महिला आन्दोलनसँग जोडेर गन्तव्य बनाउन सकिन्छ । नेपाली विभूति सूचीमा मात्रै नभएर चन्द्रमाको क्रेटरको नाम सूचीमा पनि भएकी प्रथम सगरमाथा आरोही नेपाली महिला पासाङल्हामु शेर्पाको गाउँ शुर्केलाई विश्वस्तरीय पूर्वाधारहरु बनाएर ब्रान्ड गर्न सकिन्छ । सन् २०२४ जुलाई २९ अर्थात् यही वर्षको साउन १४ मा अमेरिकाको भौगर्भिक अनुसन्धान गर्ने संस्थाले चन्द्रमाको माइनस ८६ डिग्रीको क्रेटरलाई पासाङल्हामु शेर्पाको नामबाट राखिएको छ । यो कुराले मार्च ८ मा पासाङल्हामुको ब्रान्ड बलियो बनाउँछ ।
विश्वभर सन् २०२४ मा १ अर्ब ४० करोडले अन्तर्राष्ट्रिय यात्रा गरेको संयुक्त राष्ट्रसंघको पर्यटनकीय निकाय यूएनडब्लूटीओले उल्लेख गरेको छ । त्यसमा एसिया प्रशान्त क्षेत्रमा मात्रै ३१ करोड ६० लाखले अन्तर्राष्ट्रिय यात्रा गरेको आँकडा देखाइएको छ । यो आँकडाको एक प्रमुख हिस्सा महिला हुन् । र, ती महिलाहरुमा एक सानो अंश नेपाल ल्याउन, नेपाल आउने विज्ञापन गर्न र वातावरण बनाउन मार्च ८ को पर्यटन दिवस एक प्रस्थानविन्दू हुनसक्छ । अहिले स्वतन्त्र वा एकल घुमन्ते महिलाहरु विश्वभर बढेका छन् । त्यस्ता महिलाहरुलाई नेपाल सुरक्षित भएको, नेपालको पर्यटन दिवस नै महिला दिवसको दिन भएको भन्ने ब्रान्ड, पूर्वाधार, प्रचार र जनशक्ति तयार गरेर काम गर्ने ठूलो क्षेत्र छ ।
सायद यही बुझेर हुनुपर्छ, काठमाडौं उत्सवको गत फागुन १६ मा पर्यटन बोर्डमा भएको ‘पर्यटनमा पहल’ विषयमा यो प्रश्नमा पर्यटन उद्यमी जिश्वन तुलाधर श्रेष्ठ उत्साहित देखिइन् । ‘टुरिजम सिस्टरहुड नेपाल एसोसियसन’की संस्थापक सभापतिसमेत रहेकी उनले भनिन्, ‘मार्च ८ को महिलासँग जोडिएको कुरा खासै थाहा थिएन । त्यो सुनेर खुशी लाग्यो । यसलाई नेपालको पर्यटन दिवस बनाउन हामी टुरिजम सिस्टरहुडबाट पहल गर्छौं ।’
पहल जिश्वन तुलाधरले मात्रै गरेर हुँदैन, पर्यटन बोर्डले गर्नुपर्यो । पर्यटन मन्त्रालयले गर्नुपर्यो ।