कस्तो छ विदेशमा रहेका महिलाको अवस्था ? – Nepal Press
११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस:

कस्तो छ विदेशमा रहेका महिलाको अवस्था ?

आबुधावी । आज मार्च ८, अर्थात ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । हरेक वर्ष आजैका दिन विश्वभर महिलाहरूको अधिकार, समानता, तथा श्रमिक महिलाहरूको संघर्षको सम्मानमा यो दिवस मनाइन्छ। भन्न त हाम्रो समाजले महिलालाई ‘आधा आकाश’ भनेर भन्ने गरे पनि वा एउटा रथका दुई पाङग्रा भनेपनि व्यवहारमा त्यस्तो भएको अनुभूति बिरलै पाइन्छ ।

स्वत्नत्रताको कुरा र ठूला उदाहरण हेर्ने हो भने ‘हिलारी क्लिटन’ देखि ‘कमला ह्यारिस’सम्मको राजनीतिक इतिहास र उनीहरुको रोडम्यापमा आएको तगारोले हाम्रो यो शताब्दीमा भएका गतिविधिले पनि थप सहजरुपमा बुझ्न सकिन्छ । यी त भए आदर्श, सिद्दान्तका कुरा ।

यद्यपि हामी यहाँ हाम्रै दिदीबहिनीको अवस्थाबारे कुरा गर्दैछौं। अर्थात परदेशमा बसेर घरदेशका लागि कार्यरत पौरखी चेलीहरुका कुरा । ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको पूर्व सन्ध्यामा शुक्रबार साँझ गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएन आईसीसी) महिला विभागले विशेष कार्यक्रमको आयोजना गर्दै दिदिबहिनीका कुरा सुन्ने र साझा समस्याबारे चर्चा परिचर्चा गर्‍याे । कार्यक्रममा श्रमिक महिलाका हक, अधिकार, सुरक्षा तथा महिला सहभागिताका विषयमा विस्तृत छलफल भयो ।

कार्यक्रममा एनआरएन आईसीसी महिला उपाध्यक्ष रोजिना प्रधानले अध्यक्षता गरेकी थिइन् भने महिला सचिव राधिका टिका गुरुङले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपसभामुख इन्दिरा रानामगर, काठमाडाैंकी उपमेयर सुनिता डंगाेल, महिला आयोगकी अध्यक्ष कमला पराजुली लगायतको विशेष आतिथ्यता थियो । भर्चुअल रुपमा आयोजित कार्यक्रममा ड‌ंगाेल उपस्थित हुन सकिनन् । यद्यपी उपस्थित सबै महिलाहरुले श्रमिक महिलाका विषयमा झन्डै ४ घन्टा धेरै विचार विमर्श गरे ।

महिला श्रमिकको सुरक्षा र अधिकारको माग

पौरखी नेपालकी संस्थापक अध्यक्ष मञ्जु गुरुङले श्रमका लागि विदेशिने महिलाहरूको उच्च माग भएतापनि उनीहरू सुरक्षित नरहेको बताइन् । उनले महिलाहरूको सुरक्षाका लागि सबैले मिलेर पहल गर्नुपर्नेमा जोड दिँदै नेपाली महिला श्रमिकहरू अझै पनि धेरै जोखिममा रहेको बताइन्।

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले श्रमका लागि विदेशिएका नेपाली नागरिकका विषयमा पत्रकारिता गर्ने अधिकांश पुरुषहरू मात्र देखिएको उल्लेख गर्दै महिलाहरू पनि सक्रिय भएर आफ्ना अधिकार, सरोकार र सम्बन्धित देशका कानुनी व्यवस्थाबारे लेख्नुपर्नेमा जोड दिइन् । आफू पत्रकार महासंघको नेतृत्वमा रहेपनि महिलाहरुको हक अधिकारका विषयमा संचारमाध्यममा बहस पैरवी गर्न वा अन्य कार्यक्रमहरु गरेर सहयोग गर्न सधैं तत्पर रहेको शर्माले बताइन् ।

महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बैदेशिक सहयोगमा आउने सहयोग बन्द हुँदा नेपालमा स-साना विद्यार्थीका लागि विद्यालयमा न्यूनतम पोषणयुक्त खाना उपलब्ध गराउन नसक्ने अवस्था आएको बताउँदै महिला अधिकार, कर्तव्य र जिम्मेवारीप्रति समाज पछि परिरहेको धारणा राखेकी थिइन् ।

विदेशमा महिलामाथि हुने हिंसा र चुनौती

एनआरएनकी युरोप महिला संयोजक प्रशुना कँडेलले नेपाल मात्र नभई विकसित देशहरूमा समेत महिलामाथि विभेद कायमै रहेको बताइन्। उनले उच्च शिक्षित परिवारहरूमा समेत छोरी मात्र जन्मिएको भन्दै भेदभाव गरिने गरेको तथ्य उल्लेख गरिन् । कँडेलले पहिले नेपालका दुरदराजमा मात्र हुने समस्या भनिएको महिलाप्रतिको विभेद गाउँ वा अशिक्षित परिवारमा मात्रै नभएर विकसित मुलुकमा बस्ने शिक्षित परिवारमा समेत हुने गरेको उल्लेख गरिन् ।

एनआरएनकी मध्यपूर्व महिला डिआरसी सरिता भण्डारी पौडेलले मध्यपूर्वका विभिन्न देशहरूमा कार्यरत नेपाली महिलाहरू असुरक्षित अवस्थामा रहेको बताइन् । एनआरएन तथा नेपाली दुतावासहरुले केही सहयोग गरे तापनि अझै धेरै महिलाहरू गम्भीर समस्यामा रहेको उनको भनाइ थियो।

एनआरएन क्यानडाकी महासचिव चन्दा अधिकारीको कुराले मन जिरिङ हुन्छ । उनले क्यानडामा नेपाली विद्यार्थीमाथि बलात्कार, यौन दुर्व्यवहार तथा अन्य किसिमका हिंसाका घटनाहरू बढ्दै गइरहेको तथ्य प्रस्तुत गरिन् । गएको डिसेम्बर महिनामा नेपाली छात्रा त्यहा सामूहिक बलात्कारको सिकार भएको घटनाको उदाहरण दिँदै उनले नेपाली चेलीहरू असुरक्षित रहेको तथ्य उजागर गरिन् ।

साथै, भर्खर विदेश अध्ययन गर्न आएका चेलीबेटीलाई नेपाली दाजुभाइलेनै कोठा खोज्ने, जागिर मिलाईदिने, एक ठाउँ बाट अर्को ठाउँ सारीदिने, वा सहारा बनिदिने बहानामा यौन हिंसा गर्ने, तिहारमा टीका लगाउने कुरा गर्दै बलात्कारसम्म गर्ने गरेका घटनाहरू समेत वृद्धि भइरहेको उनले बताइन् ।

संघसस्थाहरुमै हुन्छ महिलालाई विभेद

विदेशमा रहेका दिदिबहिनीका समस्याका विषयमा कार्यरत संघसस्थाहरुमै महिलालाई गरिने विभेद झनै डर लाग्दो छ । हालै मध्यपूर्व र युरोपमा रहेका घरेलु महिला कामदारको विषयमा अध्ययन र अनुसन्धान गर्न यूएई आएकी एक नेपाली छात्राले यूएईमै रहेको एउटा अन्तर्राष्ट्रिय स्तरको सस्थाका प्रतिनिधिबाट आफूलाई हिंसा भएको बताइन् ।

अमेरिकाको एक विश्वविद्यालय अध्ययन गर्दै गरेकी काभ्रेकी एक २१ वर्षीय रमिला कार्की  (नाम परिवर्तन) महिला कामदारको विषयमा अध्ययन अनुसन्धान गर्न खाडीका देश आएको बेला यहाँका विभिन्न सामाजिक संघसस्थाका अगुवाहरुलाई भेटेकी थिइन् । आफ्नै बुवाका उमेर समूहका दाईहरुलाई भेट्ने बखत कतिपयले आज मेरै कोठामा बसौ, होटल बुक गर्छु यतै बसौ, किन अलग बस्ने, यत्तिको उमेरमा रस रमाइलो गर्नपर्छ जस्ता शब्दले आफूलाई ह्यारेस्मेन्ट गर्ने गरेको तथ्य उजागर गरिन् । यस तथ्यबाट यस क्षेत्रमा महिला भएकै कारण त्यो पनि नेपाली पुरुषहरुबाटै कति समस्या भोग्नपर्छ भन्ने पुष्टि हुन्छ ।

पहिले यूएईमा बसेकी र मधेशी एकता समाज यूएईकी सस्थापक मध्यकी एक मधेशी महिला तथा मधेशी एकता समाज नेपालकी संयोजक डा. बबी सिंह यादव महिलामाथि कति विभेद छ भन्ने विषय हालै स्वास्थ्य मन्त्रालयको गतिविधिबाट छर्लङ्ग भएको बताउँछिन् । डा.संगीता मिश्र स्वास्थ्य सचिवका लागि पहिलो नम्बरमा सिफारिस भएकी भएपनि सरकारले नियोजित रूपमा उनको नियुक्ति रोकेर अन्य पुरुषलाई सचिवमा नियुक्त गरेको विषयले स्पष्ट पारेको यादवको भनाइ छ ।

के पुरुष स्वास्थ्यमन्त्रीले महिला सचिवसँग काम गर्नै नहुने हो?  कि महिला भनेर हेपेको हो ? अनि नीतिगत सुधार गर्नुपर्ने ठाउँमा बसेका युवा मन्त्रीले नेतृत्व गरेको मन्त्रालयमा महिलामाथि भएको विभेदले नेपालमा महिला अधिकारको विषय कस्तो छ भनेर बुझ्न असहज नहुने उनको भनाइ छ ।

महिला सशक्तिकरणका लागि ठोस कदम आवश्यक

महिलाहरूको सशक्तिकरणका लागि सरकार, संघसंस्था तथा अन्तर्राष्ट्रिय निकायहरूले मिलेर ठोस नीतिगत सुधार गर्नु आवश्यक रहेको महिलाहरुले बताए । उनीहरूले महिला श्रमिकका लागि सुरक्षित रोजगारीका अवसरहरू सिर्जना गर्ने, विदेशमा कार्यरत महिलाहरूका लागि आपतकालीन सहयोग प्रणाली विकसित गर्ने तथा महिला शिक्षालाई प्राथमिकता दिने विषयमा जोड दिए।

साथै, कार्यक्रममा श्रमिक महिलाहरूको आवाज बुलन्द बनाउन सामाजिक सञ्जाल तथा मिडियाको भूमिकालाई सशक्त पार्नुपर्नेमा जोड दिइयो। महिलामाथि हुने हिंसा तथा विभेद अन्त्य गर्न कानूनी तथा सामाजिक अभियान सञ्चालन गर्नुपर्ने र महिला नेतृत्वलाई प्राथमिकता दिनुपर्ने सहभागीहरुले बताए ।

कार्यक्रमको अन्त्यमा सहभागी सबैले महिला श्रमिकको अधिकार र सुरक्षाका लागि एकताबद्ध भएर काम गर्ने प्रतिबद्धता जनाएका थिए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *