हाइकिङले बदल्दै लगेको दृष्य, परिदृश्य र अन्तरदृष्य – Nepal Press
यात्रा स्मरण:

हाइकिङले बदल्दै लगेको दृष्य, परिदृश्य र अन्तरदृष्य

उदये सविता रक्त्तःश्चास्तमये तथा ।
सम्पतौ च विपत्तौ च महातामेकपता ।।

अर्थात् महान व्यक्तिको स्वभाव, सम्पत्ति, समृद्धि र विपत्ति वा कठिनाईमा एकै स्वभावको हुन्छ । सूर्य उदाउँदा र अस्ताउँदा पनि रातो भए जस्तै उनीहरू धैर्यवान भएर जस्तोसुकै समयमा रहेका हुन्छन् ।

यहिँ श्लोक आजकल मलाई झन बढी मन पर्न थालेको छ । कारण देशमा देखिएका भीआईपी र भीभीआईपी भन्दा गाउँका सामान्य मान्छे महान लाग्न र मन पर्न थालेको छ । घोष्ट राइटिङ नेपाल चलाएपछि, लेखन कुन्ज खोलेपछि समाजमा देखिएका भीआईपी र भीभीआईपीको संगत भयो । देश बर्बाद भएर बिग्रँदै गयो । खत्तम भयो । षडयन्त्र भयो । देशलाई संकट छ । हामी त्यसैको लागि आएको भन्नेहरूसँग भेट भयो । देशलाई खतरा छ भन्नेले त जनतालाई खतरामा लगेको थाहा पाएँ । उनीहरूको कथा लेखियो । पढियो । नजिकबाट संगत गरियो ।

केही छाडेर अक्सर सबै उनीहरू त सन् १९४५ मा लेखेको जर्ज ओर्वेलको उपन्यास ‘एनिमल फार्म’ को पात्र जस्तै रहेछन् । सत्ता र शक्ति नपाउन्जेल पहिलेको शासकको विरोध गर्ने र सब परिवर्तन गर्नै पर्दछ भन्ने । सत्ता पाएपछि आफू पहिलेकै शासक जस्तै सबै भन्दा पहिले परिवर्तन हुने देखेँ । जनतालाई दिग्भ्रमित पारेर आफ्नो सत्ता र स्वार्थमा खतरा भएपछि देश बिग्रँदै छ भनेर आफ्नै दुनो सोझाउने उनीहरू नै रहेछन् भन्ने चिने । सत्तामा हुँदा सबै सकरात्मक , सत्ता बाहिर पुगेपछि सबै नकारात्मक भएको भन्नेहरूसँगै भेट भईरह्यो ।

दिक्दारको दृष्यले दिमागमा दिगमिग बनायो ।

सफा मान्छे देखेर दिगमिग भएको मगजलाई मज्जा दिन म आजकल मिलेसम्म माटोले मैलिएका मान्छे भेटन हाइकिङ जाने गर्दछु । गाउँका साधा जीवन र उच्च विचार भएको मान्छे मलाई महामहान लाग्दछ । प्रकृति र मान्छेको कुरा सुनेर शरीरलाई थकाउँदै गिदीमा क्यामराले भन्दा बढी फोटो खिचेर म फर्कन्छु र एक हप्ता फ्रेस हुन्छु । यसको तर्जुमा गरेको छ ह्याप्पी हाईकर्सले ।

हरेक हप्ता नयाँ ठाउँ लैजाने सहचरी राजाराम फुँयालको समूहसँगै हिँडिरहेछु । सूर्य उदाउनुअघिको ब्रम्हमुहूर्त ( बिहान तीन बजेदेखि ५:३० को समयभित्रै) मै हिँडाउँछ उसले । फागुन १७ को यात्रा पूर्वतिर थियो । चराहरू पनि सूर्य उदाएतिर उड्दै थिए । हामी पनि ब्रम्हमुहूर्तमै सूर्य उदाएतिरै भक्तपुर , साँगा , बनेपा , पनौती, खोपासी हुँदै ख्याकुतिर जाँदै थियौ । पनौतीबाट ख्याकुतर्फ जाँदा बाटोमा बन्दै गरेका हाउजिङ ख्याक जस्तै लाग्दैथियो । आलु टन्नै हुने आलु फाँटमा घरहरू बन्दा ख्याकको जुलुस जस्तै जिङग्रिङ लाग्यो ।

पहिले चार भञ्ज्याङमा गनिने उकालो-ओरालो भएको साँगा अहिले भन्ज्याङ लाग्दैन । गाडीको माथि बसेर सररर हिड्दा हिजोको पूर्खा हिडको बाटोको भन्ज्याङ कस्तो थियो होला भनेर सम्झिरहेको थिए । इँटाभट्टाको प्रदूषण बिहानै सूर्य नआउँदै आइरहेको थियो । घृतकौषिक ऋषि पुत्र भोला खनाल ‘भट्टाले भटाभट धुँवा भट्टाया’ भन्दै हुनुहुन्थ्यो । बाटो बन्दै गएको र घरहरू खस्दै गएको देख्दा नरमाइलो लाग्यो ।

‘दुई वर्षमा त गजब हुन्छ होला बाटो’ भनेर कौडिन्य ऋषिपुत्र मनोज प्याकुरेलले भन्न थाल्नुभयो । चार वर्ष लागेर पनि नबनेर ठेक्का रद्द गरेको समाचार काभ्रेकै बाटोको हिजैमात्र पढेको थिएँ, तर म बोलिनँ । बसमा पनि पहिलेदेखि चिनेजानेकाको हो हल्ला र भर्खर छिरेकाको शून्यता हुन्छ । शून्य र हल्ला दुवै हेर्दै म गम खाइरहेको थिएँ ।
सूर्य झलमल्ल झुल्कियो । मलाई त सूर्य अघिअघि हामी पछिपछि जस्तै लाग्यो । सूर्य समाउन हामी हिँडेरहे झैँ लाग्यो । जति जति गाडी पूर्व जान्छ सूर्यको लालीमाले लाज मान्दै हामीतिर आईरहेको झैँ लाग्यो । मलाई अँध्याराको उज्यालो वाउ.. लाग्दछ । बिहानको झलमल्ल हुनु अगाडिको उज्यालो बत्तीहरू देख्दा भित्रै खुशी छिरेझैँ हुन्छ ।
ह्याप्पी हाईकर्ससँग हिँड्दा सधैँ नै यो देखिन्छ । आकाशका तारा झरेजस्तै घरघरमा बत्तीहरू र परबाट टिलपिल गरेका यी बत्तिहरूको चित्र चित्ताकर्षक लाग्दछ ।
चप्पल कारखानाबाट दुई घन्टा गाडी चढेपछि ख्याकु अलिक माथि डाडाँ गाउँ आईहाल्यो । ख्याकु के हो भन्ने लागिरहेको थियो । न वृहत शब्दकोषमा भेटिने न गुगलमै ! नेवारी भाषामा ख्याक त सुनेको तर क लाई तर्कुले लगाएको नसुनेको । सहरका पुराना ठूला घरका अँध्यारा कुनामा बस्ने तर्साउने भूतलाई ख्याक भनिन्छ । कस्तो ख्याक भएछ भन्यो भने दुब्लो र बुढो बुझिन्छ तर ख्याकु बुझिन ।

ह्याप्पी हाईकर्सको ब्रेकफास्ट पुवा, तरकारी, दूध अण्डा खानुअघि स्थानीय ७५ वर्षीय नानीबाबु तामाङ (वाईवा) भेटेँ । उहाँले डाडाँगाउँ आफ्नो २० पुस्ता भैसकेको बताउनुभयो ।

उहाँलाई सोधे ‘ख्याकु भनेको के हो ? ‘

भन्नुभयो ‘गाउँको नाममात्र हो ।’

मलाई चित्तै बुझेन । कसलाई सोध्ने ? दुई/तीन जनालाई भेटे । कसैले सही उत्तर दिएन । स्थानीय रामकुमार श्रेष्ठले भन्नुभयो, ‘सन्यासी , जोगीहरू त्याहाँ बस्ने र उनीहरू मरेपछि लास त्यहीँ गाड्ने हुनाले ख्याकु भनेको हो ।’

ख्याकु बुझेपछि, डाडाँगाउँको ब्रेकफास्ट पछि हामी उकालो लाग्यौ । उकालो, ओरालो लाग्दै जाने बाटो ‘हाईकिङ ट्रेल’ हुन्छ । अहिले ‘हाईकिङ ट्रेल’ भत्कदै गएको छ । डोजर र वडाध्यक्ष बसेर गरेको विकास ( जुन हरेक जस्तो गाउँमा अनप्लान बाटो बनेका छन्) भेटिन्छ । त्यहिँ भेटिन्छ । जसलाई मूल बाटो भनिन्छ । हाईकिङ हिँड्दा मोटरबाटो भन्दा पूर्खा हिँडेको बाटो भए मस्त हुन्छ मन । उकालो उक्लँदै वा ओरालो ओर्लदै जाँदा हिँडन मज्जा आउँछ तर जब मोटरबाटो त्यही पूर्खा हिँड्ने बाटोमा भेटिन्छ । अनि जुत्ता धुलो मैलो हुन्छ र नाकमा म गाउँको बाटो हुँ बुझिस् भन्दै सर्लक्कै धुँलो आउँछ । अनि हाइकिङको मज्जा आउँदैन ।

०००

वसन्त ऋतु नजिकिँदै गएको छ । यो समयमा आरु फूलिरहेका छन् । गुराँस फूलिरहेका छन् । तोरी फूलिरहेका छन् । ती सबैले आऊ मसँग फोटो खिच भनेर बोलाइरहेछन् । कहिँ फोटो खिचिन्छ, भिडिओ पनि बनाइन्छ । कहिँ आँखालेमात्रै खिच्दछ फोटो । डाडाँगाउँबाट उक्लदै गइयो । मान्छेहरू हिँडिरहँदा चराले चिरविर गरेर ए मान्छे आए, मान्छे आए… भने झैँ लागिरहयो । चराले पनि स्वागत गरिरहेको झैँ लाग्यो ।

तामाङ संस्कृति बागमती प्रदेश वरिपरिको डाडाँमा भेटिन्छ । यो पनि काभ्रेको डाँडा थियो । जहाँ प्राय तामाङहरू नै भेटिन्थे । हिँडाइकै क्रममा लठ्ठी टेकेर घरमै बसिरहेका कृष्णबहादुर थिंग भेटियो । ८५ वर्षीय उहाँलाई दमको रोग रहेछ । कुखुरा, भँसी, बाख्रा घरमै पालेर आफैँले आफैँलाई ‘होम स्टे’ मा राख्नुभएका उहाँ बिहानी घाममा चहकिलो भएर बस्नु भएको थियो । दिकाली डाडाँ कटेर, साउनेपानी हुँदै पोखर डाडाँमा भेटिनुभएका कृष्णले बताएअनुसार त्यो ठाउँमा तामाङ (थिङ्, लोप्चन, स्याङ्तान) हरू मात्र छन् ।

बाटोमा आउने पिपलबोट चौतारा र खर्कहरूले छुट्टै आनन्द दिन्थे । केहीबेर आराम गरौ गरौ झै लाग्दथ्यो । कहिँ बसिन्थ्यो । कहिँ हिँडिन्थ्यो । टोली ठूलो थियो । त्यहाँ एकै स्वर एकै बोली थिएन । हिँड्नु टाढा भएपछि बस्नु नजिकै हुँदैन । यहि सिद्धान्तमा हामी हिँडिरहयौं ।

बाटोमा सुन्दरी युवती सरस्वती ठोकर भेटियो । बेथानचोक वडा नम्बर ४ पटगाउँमा कोईली कराइरहेको समयमा कोईलीजस्तै स्वर भएकी विदेश बसेर आएकी सरस्वतीले सुमधुर स्वरमा भन्नुभयो ‘बाढी पहिरो गएको कारणले चारैतिर भताभुङ्ग भए पनि बिस्तारै गाउँहरू बन्दैछ, गाउँ राम्रो छ, माथि बन्दै गरेको गुम्बा हेर्नुहोला ।’

नेताहरूको आश्वासनभन्दा उहाँको आफ्नो आशा र विश्वास मलाई मन पर्‍यो । मान्छे मलाई पृथ्वीको उत्कृष्ट फूल लाग्दछ । गाउँ-गाउँमा यस्तै मान्छे रूपी फूलहरूले गर्दा गाउँ रमाइलो भए झै लाग्यो । घरमा आएर उहाँसँग कुरा गरेको टिकटकमा हालेको त उहाँका त लाखौं फ्यान फलोअर रहेछन् । गायिका, मोडल पो हुनुहुँदो रहेछ । उहाँले बेलुका टिकटकको म्यासेजमा लेख्नुभयो ‘टिकटक हाल्ने भनेको भए झन् राम्रो बोल्नेथेँ ।’

मलाई ओहो अरुको प्राईभेसिमा दख्खल पो दिए की भन्ने लाग्यो र सोधेँ ‘हटाउँ त ?’

उहाँले भन्नुभयो ‘पर्दैन भो हाल्नु ।’

अहिलेसम्मकै बढी भ्यू टिकटकमा उहाँकै कारण आयो । म छक्कै परेँ ।

हातभरि उहाँले लिएको गुराँस फोटोको लागि दिनुभएको थियो । त्यसमै फोटो खिचेको सम्झना आइरहयो ।

उहाँले भनेको बन्दै गुम्बा देखियो । होटलजस्तै लाग्यो । यति टाढा यस्तो राम्रो भवन बन्दै गरेकोमा खुशी लाग्यो । एकै छिनमा आईपुग्यो । कपुर महांकाल प्राथामिक बिद्यालय , बेथानचोक गाउँपालिका ४ पट्गाउँडाडाँ काभ्रे । त्याहाँ पुग्दा बिहानको १०:०० बजेको थियो । २०५६ सालमा स्थापना भएको विद्यालय भूकम्पले भत्काएपछि गाउँगाउँमा बनेको जस्ताको छाने भएका घर जस्तै घर बनेको रहेछ । बिदाको दिन विद्यार्थी भेटिने कुरै भएन । स्कुल हाता भित्र एकछिन बसेर सुस्ताइयो । स्कुलको अर्को भवनको पाँच वटा कोठा जापानीज सुन्जी ओगाताले बनाइदिएका रहेछन् । गाउँ-गाउँमा विदेशी आउने र सहयोग गर्ने चलनको चलन त्यहाँ पनि देखियो ।
०००

वनहरूमा हरियो बोटको गुराँस राताम्मे हुँदैछ । गुराँसको बोटले बोलाएर गुराँस झैँ गुराँसकै बोटमा ढकमक्क भएछन् साथीहरू । रातो गुराँस हेरिरहँदा नीलो आकाश कालाम्मे भएको थियो । एकै छिनमा पानी छिट्टायो । बर्षा रोक्न छाता ओडे ।

छाता ओडेर अलिकति उकालो र ओरालो गरेपछि भेटियो साइँली तामाङ, ५९, । भन्ज्याङखर्ककी दश दिदीबहिनी र चार दाजुभाइको साईली उहाँको नागरिकता र बोलाउने नाम नै साइँली रहेछ । यो नामले गाउँको पुरानो तस्बिर हेरे झैँ लाग्यो । ललितपुरको बतासेबाट काभ्रेको भन्ज्याङ्खर्कका बुद्धलाल लोप्चनसँग बिहेवारी भएर आउनुभएकी उहाँको घर वरपर दाउँराको भारीहरू टन्नै देखेँ र सोधेँ

‘के काम गर्नु हुन्छ नी ?’

भन्नुभयो ‘के हुनु नि उही घाँस दाउँरा त हो ।’

मैले सोधेँ ‘बेच्ने हो र यो ।’

उहाँले भन्नुभयो ‘हामी कृषक हौं’

फेरि सोधेँ ‘कति सन्तान छन् नी ?’

‘मेरा पाँच वटा छन् ।’

मैले ठट्टा गर्दै भनेँ ‘भएन न आमाको जति पुर्‍याउनु पर्‍यो ।’

उहाँले भन्नुभयो ‘म २२ साले उमेरले डाडाँ कटिसक्यो ।’

मैले भनेँ ‘२२ सालको मान्छे तगडा भएर यहिँ हाईकिङमा दौडेको हेर्नु त ।’.

उहाँले भन्नुभयो ‘छोराको १७ वर्षको नाति भयो , छोरीको एक नाति छ ।’

मैले भनेँ ‘आमा तगडा भएपछि तपाईँ बुढो भन्न मिल्यो त ?’

भन्नुभयो ‘ए मिलेन त है मिल्न त, आमा तगडै छ मेरो ।’

फुङ्ग उडेको अनुहारमा सेतो मुस्कान थियो साइँलीको । मस्त हाँसेर कुरा गर्ने उहाँ सहरको मान्छे जस्तो कपटि देखिन् । हाँस्न मन नलागी हिहिहि गर्ने , हाँस्न मन लागेर मुख सिलाएर बस्ने सहरको स्वभाव उहाँको थिएन । प्रकृतिको निश्चलता उहाँमा देखिएको थियो ।
०००
उकाली ओराली भन्ज्याङ चौतारी त हो नेपाल । हिड्दै जाँदा अर्को भन्ज्याङ आइपुग्यो । खनिखर्कको माने भन्ज्याङ । पटगाउँ डाँडा ठूलै रहेछ । यसलाई पनि पटगाउँ डाडाँको माने भन्ज्याङ भन्ने रहेछ । माने रहेको त्यो भन्ज्याङको मानेमा केहीबेर बसियो ।

त्यही कुरा गरियो रामकुमार श्रेष्ठसँग ।

उहाँले भन्नुभयो ‘हामी गुम्बु डाँडा, बेथानचोक भ्यू टावर , बुढा महाँकाल हुँदै फाँटमा पुग्नेछौं र केहीबेर उकालो ओराले गरेपछि ढुङ्खर्क आउँछ ।’

बाटोमा एक बुढी आमा भेटिनुभयो । उहाँले लगाएको ढुँग्री, सिसिफूल, झम्केफुली पुराना नेपाली गहना भएको चाल पाए । पार्थली पुग्नु भन्दा केही अघि भेटिनुभएको आमाले आफूलाई सुगर भएको घरमा अरु कसैलाई पनि किन नभएको होला बाबु भनेर सोध्नुभयो । यसको अर्थ मैले दिन सकिनँ । पार्थली डाँडागाउँ डेरी फर्म गाउँको दूध संकलन हुने कुरा बोर्डले बोलिरहेको थियो ।

बेथानचोक गाउँपालिका-४ चलाल गणेशस्थानकै पार्टीमा कालापानी सामुदायिक वन उपभोक्ता समूहले सूचना जारी गरेको रहेछ । डालेघाँस ,खस्रुघाँस लेकाचौरमा उपभोक्ता जम्मा भई कटानी गर्ने र उपभोक्ता समूहले आफ्नो वनको सिमाना पूर्व सिमाना नाकेडाडाँ , पश्चिम सिमाना आल्काडाँडा, उत्तर सिमाना भ्यू टावर रोड , दक्षिण सिमाना खरे जाने बाटोभित्रको घाँस काट्ने भनेर । सामुदायिक वनले नेपालमा व्यवस्थापनको एक नमूना दिएको पढेको थिए । नेपालले प्रशंसा पाएको वन संरक्षणको यो अभियान गाउँ गाउँमा यसरी नै उपभोक्ताहरूले र गाउँले जनताले गर्दा नै हो भनेर फेरि एक पल्ट गाउँका जनतालाई मनमनै अभिवादन गरे ।

पाथीभारा चर्चित भएको यो समयमा अघिल्लो हप्ता नल्लुमा र यो पालि पनि बेथानचोक टावरनजिकै पाथीभारा मन्दिरमा पुगियो । हल्का उकालोपछि पुगिने पाथीभाराको परम्परा यहाँ पनि देखियो । सँगै स्थानीय देवी देवताको फोटोमा दर्शन , त्रिशूलमा यसो हात राखेर लागे बेथानचोक टावर । अरु टावरभन्दा अलिक व्यवस्थित लाग्यो यो टावर । छेउमै पाथीभारा भिलेज रिसोर्ट रहेछ । स्वाँ स्वाँ फ्वाँ फ्वाँ गर्दै हिँडेको आफूलाई टावर चढदा भिजेको टिसर्ट फेरेपछि आनन्द आयो । टावरनजिकै रतुवा मृग देखियो । हाहाहुहु गरेपछि मृग टाप ठोक्यो । टावरमा बसेर आफूले ल्याएको नट्स अरुलाई बाँड्दै खाइयो । फलफूल बाँडियो । सफला नेपालले ल्याएको कफी खाइयो । लगभग एक घन्टा त्याहाँ बिताएपछि ठाडै ओरालो लागियो ।

सलिङ डाँडा मगर गाउँ ओर्लदै जाँदा गजबको एक रुख देखियो । अमूर्त आर्ट जस्तो बादल जस्तो रुख एकटकले हेरिरहे । मगर गाउँमा २५/३० घर थापा मगर र अरु ५/७ घर राना मगरहरू रहेछन् । त्यो डाँडाबाट अकाशतिर फर्केर हेर्दा आकाशले आफ्नो रङ्ग पोतेर आफैँ नीलो भए झैँ लाग्यो । साह्रै सुन्दर आकाश र सेतो बादल देखेर मनमा झंकार पैदा भयो । ओर्लिएपछि आयो कुनेखर्क । कुनेखर्कबाट हामी हिडेर आएको मगर गाउँ फर्केर हेर्दा गाउँहरू मिलेर कुरा गरे झै लाग्दै थियो । कहिले अगाडी कहिले पछाडी कहिले आकाशतिर र प्राय भुँईतिर हेरेर हिड्दा पनि प्रकृतिले बनाएको फरक पेन्टिङ देखिन्थे ।

त्यहाँ देखे । प्राथमिक विद्यालय भत्केको । अनि कुनेखर्क सल्लेनी सामूहिक लप्सी प्रसोधन साझा सुविधा केन्द्रको नाममा अष्ट्रेलियनले सहयोग गरेको । गाउँ-गाउँमा नेपाल सरकार वा विदेशीले सहयोग गरेका छन् । त्यसको उपलब्धि के कति भिन्न कुरा होला तर सहयोगी हात गाउँ पुगेका रहेछन् । महिलालाई सशक्तिकरण गर्न सीपमूलक तालिम कुचो, साबुन, हर्पिक, क्लिनरलगायतका सफाइ सामाग्री, निर्माण, प्रशोधन, लेबलिङ, बजारीकरणको सीपमूलक तालिम कार्यक्रम बेथानचोक-३ नम्बर वडा कार्यालयले दिँदै भनेर सूचना टाँसिएको देखेँ ।

अब आयो थानी महांकाल(बुढा महाङ्काल ) । पुग्दा एक बजेर २१ मिनेट गएको थियो । संगै कृष्ण गोपाल माध्यामिक बिद्यालय देखियो । तीन घन्टा अगाडी राम कुमार श्रेष्ठले मानेमा भनेको कथा यहाँ सुनियो ।

कथा अनुसार, गजबको ठूलो ढुंगामा आएर एक जोडी बुढाबुढी गन्थन गरिरहेका थिए । राति सुतेर बस्दा उनीहरूले यहाँ पूजापाठ गरे सबैलाई कल्याण हुन्थ्यो भनेछन् र उनीहरू अलप भएछन् । स्थानीयले सुनेकोले पूजापाठ गर्न थालेपछि फूलपातीको दिन बुढा महांकालमा पूजा र मेला लाग्ने रहेछ ।

गाउँ-गाउँमा मन्दिर छँदैछ । मन्दिर भएपछि पुजारी पनि हुने नै भए । श्रीहरी तिमल्सिना भेटिनु भयो । लक्ष्मी नारायण मन्दिरको पूजारी हुनुहुँदो रहेछ । तोरी पेल्न कोलमा जाँदै हुनुहुँदो रहेछ ।

भन्दै हुनुहुन्थ्यो ‘एक पाथीको १० रूपैयाँ तिरेर आफ्नै बारीको तोरीको तेल खान पाउँदा खुशी छु म, छोराबुहारी काठमाडौं गठ्ठाघरमा पसल थापेर बसेका र नातिनातिना पनि उतै र यहाँ आफू र बुढी बसेको छु , उनीहरूलाई पनि तेल पठाउँछु ।’

सखा सन्तोष अचार्यले केही दिनअघि काठमाडौंमा एक रेष्टुरेन्टको तेलको कथा भनेको सम्झेँ र श्रीहरी सम्झेँ ।

उत्तम सञ्जेलसँग सन्तोषजीले भन्दै हुनुहुन्थ्यो ‘रेष्टुरेन्टमा सात दिनसम्म लगातार एकै तेलमा पकाएको, ग्राहकले खाएर प्लेटमै छाडेको मोमो होस् वा मासुभात सबै अर्को ग्राहकलाई त्यही दिएको देखेर , पाप लाग्ने भयो भनेर मैले यो पेशै छाडिदिएँ ।’

कम्तीमा गाउँमा त आफ्नै बारीको तेल पेलेर सानले हिड्नु भएको छ श्रीहरी । झूटमुठ नभएको स्वच्छ गाउँ यस कारण पनि मलाई मन पर्दछ र गाउँमा हिँड्छु भन्ने लाग्यो ।

उहाँलाई छाडेर हिड्दै जाँदा गैह्री भन्ज्याङ, बतासे हुँदै पुगियो ढुङ्खर्कको पाटने खोला । खोला नदीको सानो रूप हो । तर, यो रूपले पनि बेरूप बनाएको छ । सानो देखिएको खोलाले फाँट नै पुरेर घरहरू लतार्दै लगेको हेरे । त्यो दिनको बित्याँस र अत्याँस कस्तो थियो होला जुन दिन यहाँ बाढी आएको थियो भन्ने लाग्यो ।

त्याहाँ पनि बाढीले विनाश ल्याएको दुर्दान्त दृष्य हेरेँ । हिँड्दै जाँदा बाटोहरूको घुमाउरो पहाड नै बाढीले खसाल्ला जस्तो देखिन्थ्यो । पुलहरू भत्किँदै गएका । भिरालो बाटोमा पहाडहरू नै खस्दै गरेको । अर्क‍ो वर्ष कस्तो होला भन्ने डर लाग्यो ।

पाटने खोलाबाट हिँडेको २० मिनेटमा ढुङ्खर्क आइपुगियो । ८:१० मा डाँडागाउँबाट हिडेको हामी ढुङ्खर्क आईपुग्दा ३:३० भएको थियो । थालको भात कुन बेला पेटमा लैजाउ जस्तै भोक लागेको थियो । मज्जाले खाना खाएर, खुवा लिएर बसमा बस्दा मुसलधारे पानी परयो । बाटो बिग्रेर जाम हुने हो कि भन्ने डर लाग्दै बसबाट ४:३० मा काठमाडौतिर फर्कियो ।

०००

ह्याप्पी हाइकर्सको त्यो दिन २९ जनाको टोली थियो । टोली नेता उहि राजाराम फुयाँल थियो । एकाघरका दाजु भुवन ढकाल , यो पाला थपिएकी पत्रकार , लेखक र कमेरी प्यारी बहिनी रीता सापकोटा , ज्वाइँ सा’व निरज गौतम , ह्याप्पी हाइकर्स टोलीका प्रदीप कँडेल , राम श्रेष्ठ , निराकार श्रेष्ठ , मोडल एवम चर्चित हाइकर्स वा ट्रेकर्स नम्रता योगी, मनमौजी मनोज प्याकुरेल (जसले रमाइलो रेल चलाइरहनु हुन्थ्यो ), वकिल भोला खनाल , गोपाल पन्थ , बद्री अर्याल , ओम प्रकाश गुरुङ, मुना आचार्य , विष्णुहरि पण्डित, लक्ष्मण काजी श्रेष्ठ , प्रताप महर्जन, रोनिश श्रेष्ठ ,शंकर खरेल , निरुता , सफला नेपाल , ऋषि बराल , हिमांशु बडाल , निमेश घिमिरे , महिमा घिमिरे , प्रताप महर्जन लगायत २९ जना थिए ।

२९ जनाका २९ आचार, विचार, व्यवहार र आहार थिए । हिँड्दा कहिले कोसँग कहिले कोसँग सँगै परिन्थ्यो र परिचय गफगाफ हुन्थ्यो । नत्र हिँड्ने धुनमै सबै मस्त हुन्थे ।
हिँड्दा आँखै अगाडिको चित्रको दृष्य । वरिपरिको परिवेश देखिने परिदृष्य । दृष्यहरूको समूह अनि दृष्यादृष्यले पारेको दृष्यमान र सदृष्य । यसले भित्रै ल्याउने अन्तरदृष्यको लागि म हाईकिङलाई धन्यवाद दिन्छु । हाइकिङ जाँदा आफ्नो अहंकार सानो भएको पाउँछु । नयाँ मान्छे नयाँ प्रकृति भेटदा दृष्यले परिदृष्य र अन्तरदृष्यमा बहुत ठुलो प्रभाव पारिरहेको पाउँछु ।

बाढीले प्रलय ल्याएको देख्दा ३२ घन्टाको पानीले दशकौको जीवन कस्तो बनाउँदो रहेछ भन्ने पाउँछु । अनि लाग्छ ,सानो ढुंगा र दुई दिनको पानी पनि मान्छे भन्दा कैयौ गुणा शक्तिशाली रहेछ । एक रुख पनि मान्छेभन्दा कहाँ हो कहाँ फरक र शक्तिशाली रहेको पाउँछु । एक चराले सिंगो वनमा सुसेली हाल्दाको सुमधुर धुन गीतारको तार भन्दा कहाँ हो कहाँ फरक पाउँछु । गाउँको मान्छेको आतिथ्यता , हार्दिकता , छलछाम रहित व्यवहार बोलीले भित्रैबाट उनीहरू कति महान भन्ने लाग्दछ । कम्तीमा उहाँहरू जे सक्ने त्यही बोल्नुहुन्छ ।

हामीले भीभीआईपी र शक्तिशाली भनेका गाउँको प्रकृति र मान्छेको अगाडि कमजोर निरीह रहेको पाउँछु । देशलाई धोका नदिने गाउँको जनताले नसक्ने पनि गरिहाल्छु नि ! भनेर कहिल्यै झुलाएको पाइँदैन । भुलाउँदा र झुलाउँदा पाप लाग्दछ भन्ने ठान्नु हुन्छ । प्रकृति होस् वा मान्छे दुवै सहरका भीभीआईपी र भीआईपी भन्दा कहाँ हो कहाँ शक्तिशाली लाग्दछ मलाई । यही फरकपनको लागि म हिँडिरहेको छु । हिँडिरहनेछु ।

ढुङ्खर्कबाट बनेपा नआउँदै बिहानको सूर्य फेरि रातो हुँदै थियो । मैले उदाउँदा र अस्ताउँदा रातो भएको सूर्यजस्तै बाटोमा भेटिएका मान्छेहरू सम्झेँ । महान लाग्यो मलाई उहाँहरू । खोलाले घरै बगाउँदा, वा वस्तुभाउ बगाएको कुरा गर्दा हाँसिरहेको सम्झेँ । उहाँहरू मलाई त्यही रातो सूर्यजस्तै लाग्यो । सहरमा भए यति दुःख पाउँदा मान्छे डिप्रेशन वा फ्रस्टेसनमा जान्थे । उहाँहरू घरवारी र बस्तुभाउ सबै बाढीले लैजाँदा पनि आफूलाई विपन्न ठान्नु हुन्न । जस्तो कठिन परिस्थितिमा पनि भैहाल्छ नी, गरिहालिन्छ नी भन्नुहुन्छ ।

आशामुखी स्वभाव, मेहनती मान्छेहरू देखेर मनमा ऊर्जा आयो । सूर्यको चक्रजस्तै काम गर्ने उहाँहरू कतिपय सूर्यसँगै सुत्ने र उठ्ने गर्नु हुँदो रहेछ । चराजस्तै जीवन बिताउने उहाँहरू नेताजस्तो गह्रुँगो झूठ नबोलेकोले नै होला फिस्स-फिस्स हाँसिरहनु हुन्छ ।

यीनै कुरा सम्झँदै बसमा बस्दा रातो सूर्य ढल्केर गोधुली भैसकेको थियो । सूर्य ढल्कदै डाँडोबाट झरेपछि चिसो बढ्दै आयो । टोपी र ज्याकेट थपे । बनेपाबाट सूर्यविनायकसम्मको जाम छिचोल्न झण्डै एक घन्टा बढी लाग्यो । घुम्दै-घुम्दै चप्पल कारखाना आउँदा लगभग ७:४५ भएको थियो । गुँड पस्न हतारिएको चरा झै म पनि गुँडमा छिरे ।


प्रतिक्रिया

2 thoughts on “हाइकिङले बदल्दै लगेको दृष्य, परिदृश्य र अन्तरदृष्य

  1. पदयात्रा नेपालबाटै सुरु भएको मौलिक कर्म हो । गाउॅघरको कथा रहनसहन र मान्छेका प्रवृत्ति बुझ्न निकै सजिलो हुन्छ पदयात्राको माध्यमबाट ।शहरको अत्यास लाग्दो भिडबाट पर गाउॅमा पुग्दा मिल्ने सुकुनको शब्दमा बयान गर्नै सकिन्न ! जय पदयात्रा

    1. पूरापूर पढेँ । राम्रो लाग्यो । लेखनशैली राम्रो । ठाउँठाउँमा केही सुधार गर्नपाए पनि हुन्थ्योजस्तो भयो । बस चढेर काठमाडौँ फर्कियो भनिसकेपछि सकिएछ भनेझैं भएको थियो तर फेरि निरन्तरता पाउँदा दुईवटा लेख गाँसेजस्तो पनि भयो ।
      कमलजीको लेख भएको हुनाले मात्रै मैले यो कुरा लेखेको हुँ है मनजितेर । लेखिसकेपछि एकपटक स्वाध्यायन नगरी छपाइमा गयोभने यस्तो हुन्छ ।
      जे होस् नियात्रा/यात्रा संस्मरण सुन्दर छ । बधाई छ कमल सर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *