रोहिणीमा कर्मचारीमाथि हातपात प्रकरण : वडाअध्यक्षले माफी मागेपछि जुट्यो सहमति – Nepal Press

रोहिणीमा कर्मचारीमाथि हातपात प्रकरण : वडाअध्यक्षले माफी मागेपछि जुट्यो सहमति

रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिका वडानम्बर २ का वडाअध्यक्ष करम हुसेन खाले माफी मागेपछि तीन दिनदेखि कर्मचारीले थालेको आन्दोलन फिर्ता भएको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालयमा जनप्रतिनिधि र कर्मचारीबीचको छलफलमा वडाअध्यक्ष खानले माफी मागेपछि सहमति जुटेको हो ।

वडाअध्यक्ष करम हुसेन खानले गत फागुन ५ गते गाउँ कार्यपालिका बैठकमा रोहिणी गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मधु प्रसाद घिमिरेले आफ्नो विचार राख्दै गर्दा घिमिरेलाई अपशब्द तथा गालीगलौज गरी आक्रमण गरेको भन्दै कर्मचारी लगातार आन्दोलनमा रहेका थिए ।

उक्त घटनामा वडाअध्यक्ष खानले घिमिरेमाथि हातपात, कुटपिट तथा गालीगलौज गरेकोमा मनैदेखि आत्मालोचना गरी माफी माग्दछु र आगामी दिनमा यसप्रकारका कुनै पनि गैरकानूनी कार्य गर्नेछैन भन्दै माफी मागेका छन् ।

साथै रोहिणी गाउँपालिकामा कार्यरत राष्ट्रसेवक कर्मचारीहरुलाई यसप्रकारका कुनै गैरकानूनी कार्य गर्नेछैन, गरेमा कानूनबमोजिम कारवाही सहन मन्जुर छु भनेर कागजपत्रमा सहीछाप गरेपछि सहमति भएको हो ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी अयोध्या प्रसाद भण्डारी, रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरी, निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन रुपन्देहीका अध्यक्ष रमेश प्रसाद पाण्डेय, नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति रुपन्देहीका अध्यक्ष कमल पराजुली, नेपाल निजामति कर्मचारी युनियन रुपन्देहीका अध्यक्ष चक्रपाणी पाण्डेय र राष्ट्रिय कर्मचारी संगठन (निजामत) रुपन्देहीका अध्यक्ष उत्सव न्यौपानेको रोहबरमा पीडित र पीडक पक्षबीच सहमति भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *