सञ्चालकको मौखिक आदेशमा कन्सल्टेन्सीबाट एकैपटक निकालिए ३५ कर्मचारी, यस्ताे छ भित्री खेल – Nepal Press

सञ्चालकको मौखिक आदेशमा कन्सल्टेन्सीबाट एकैपटक निकालिए ३५ कर्मचारी, यस्ताे छ भित्री खेल

काठमाडौं । काठमाडौंको एक शैक्षिक परामर्शदाता संस्थाले ३५ जना कर्मचारीलाई एकैपटक जागिरबाट निकालेको छ । बेलायतको बहुराष्ट्रिय कम्पनी एएचजेडसँग सम्झाैता गरेर सञ्चालित म्याट्रिक्स हायर एजुकेसन कन्सल्टेन्सीले पूर्वजानकारी बिना सामूहिक बर्खास्त गरेको पीडित कर्मचारीले बताएका छन् ।

म्याट्रिक्स हाइयर एजुकेसन कन्सल्टेन्सीका सञ्चालक ऋशव गौतमले १ वर्षको सम्झौता अवधि नसकिँदै कर्मचारीहरुलाई जागिरबाट निकालेका हुन् । उनले एएचजेडका विद्यार्थीहरूको डाटा दुरुपयोगसमेत गरेको आरोप कर्मचारीले लगाएका छन् ।

एएचजेडले युकेका लागि मात्रै विद्यार्थीको प्रोसस गर्दै आइरहेको छ । नेपालमा एएचजेडको चारवटा शाखा रहेकोमा म्याट्रिक्स अन्तर्गत नयाँ बानेश्वर र पुतलीसडकमा गरी दुईवटा शाखा छन् । यी दुई शाखामा ५५ जना कर्मचारी थिए । तीमध्ये आफूनिकटका केहीलाई मात्र राखेर अरुलाई हटाएको कर्मचारीहरु बताउँछन् ।

फेबु्रअरी ८ मा एक्कासी मौखिकरुपमा ‘भोलिदेखि नआउनु’ भनेकोे एक कर्मचारीले बताए । लिखित पत्र दिइएको छैन । एएचजेडको युकेको प्रतिनिधिसँग छलफल नगरीआफूखुसी कदम चालिएको ती कर्मचारीको भनाइ छ ।

सञ्चालकको निजी स्वार्थमा पिसिए कर्मचारी

एएचजेड एजुकेशन कन्सल्टेन्सीले नेपालमा गौतमसँग एक वर्षअघि सञ्चालन गर्नको लागि सम्झौता गरेको थियो । गौतमले यसअघि नेपालमा म्याट्रिक्स हायर एजुकेसन कन्सल्टेन्सी चलाउँदै आएका थिए । सम्झौतापछि उनी एएचजेडका कन्ट्री म्यानेजर बने ।

म्याट्रिक्स कन्सल्टेन्सीको कर्मचारीको तलब, फर्निचर लगायतका खर्च सबै एएचजेडले व्यहोर्र्दै आइरहेको थियो । त्यसबापत गौतमले एएचजेडको लागि नेपालबाट विद्यार्थी पठाउँदै आएका थिए । तर, अहिले एएचजेडलाई जानकारी नदिई उनले क्यामडेन एजुकेसन कन्सल्टेन्सी नाममा आफ्नो छुट्टै कम्पनी खोलेका छन् ।

तीन/चार महिनायता एएचजेडका विद्यार्थीको डाटा लिएर एएचजेडबाटै अप्लाई गरेको भन्दै क्यामडेनबाट अप्लाई गर्ने गरेको पाइएको छ । एएचजेडबाट युकेका लागि प्रोसेस गर्न आएका झण्डै २ सय विद्यार्थीहरुलाई गौतमले क्यामडेनबाट अप्लाई गराएको स्रोत बताउँछ ।

म्याट्रिक्समा कर्मचारी भर्नाको सबै काम गौतमले नै गर्दै आइरहेका थिए । अहिले उनले केही कर्मचारीहरूलाई फकाएर आफ्नो लागि मात्र काम गर्न भनेका छन् । गौतमको पछिल्लो ६ महिनायताको गतिविधिप्रति एएचजेडको युके प्रतिनिधिलाई शंका लागेपछि छानविनमा आउनुअघि नै गौतमले एएचजेडसँग सम्झौता रद्ध गर्न आँटेको पनि बुझिएको छ ।

यसरी हटाए कर्मचारी

गौतमले अर्को कन्सल्टेन्सी एसआइ युके कम्पनीका मालिक विनय अधिकारीसँग मिलेमतो गरी नेपालमा एएचजेडलाई चल्न नदिने रणनीति बनाएको बर्खास्तिमा परेका कर्मचारीको भनाइ छ । बर्खास्त गरिएका कर्मचारीहरुलाई एसआइ युकेमा पठाउने योजना बनाइएको उनले बताए ।

ती कर्मचारी भन्छन्, ‘मौखिक रुपमा भोलिदेखि कार्यालय आउनुपर्दैन भने । यदि जागीर चाहिने भए एसआई युके कन्सल्टेन्सी जानु, नभए घर जानु भर उर्दी गरेका छन् ।’

एएचजेडको जति पनि सम्पत्ति छ सबै आफैंले हड्पने गौतमको योजना रहेको कर्मचारीहरु बताउँछन् । एएचजेडसँगको सम्झौता गौतमले सार्वजनिक गरेका छैनन् । म्याट्रिकको सम्झौता २८ फेब्रुअरीसम्म रहेको छ । तर गौतमले एएचजेड बन्द हुन लागेको भन्दै कसैको पनि जागिर नभएको बताए ।

एएचजेडमा जागिर नभएकाले ९ तारिखदेखि नै एएचजेडको कर्मचारीले एसआइ युकेका लागि काम गर्न गौतमले निर्देशन दिएका छन् । एएचजेडमा जति तलब छ, सबै पाउने आश्वासन देखाएर तुरुन्तै एसआइ युकेसँग सम्झौता गर्न भनिएको थियो । तर कर्मचारी कसैले पनि मानेनन् । म्याट्रिक्स बन्द हुँदा आफूलाई कतैबाट पनि समस्या नहोस् भनेर यस्तो योजना बुनेको कर्मचारीहरु बताउँछन् ।

कर्मचारीलाई बर्खास्त गर्नुभन्दा दुईअघि युकेबाट कम्पनीमा पैसा आएको थियो । निस्काशित ती कर्मचारी भन्छन्, ‘सुरुमा गौतमले अब कसैको पनि तलब आउँदैन भनेर ढाँटे । तर, अर्को दिन सबैको तलब दिए । अहिले कर्मचारीहरुलाई एएचजेडले हामीलाई कर तिर्नको लागि पैसा दिएको छैन भन्दै बहाना बनाइरहेका छन् ।’

तर, कर तिर्नको लागि पठाएको पैसा गौतमले हिनामिना गरी ६ महिनाको अग्रिम भाडा बुझाएको कर्मचारीको आरोप छ । एएचजेडको मुख्य कार्यालयले भने कर्मचारीहरुलाई नआत्तिन भनेको छ । सबै कानुनी समस्याहरु सल्टाएर पहिले जसरी नै काम गर्ने आश्वासन दिइएको छ ।

एएचजेड युकेले नेपालको प्रतिनिधित्व गर्नका लागि ऋशव गौतमको ठाउँमा अर्को व्यक्ति राख्न खोजेको छ । म्याट्रिक्सकाे नाममा भएको सम्पत्ति सबै एएचजेडको हो । गौतमले  ओैपचारिक रुपमा छुट्टै क्यामडेन ग्लोबल कन्सल्टेन्सी खोलेका छन् । उक्त कन्सल्टेन्सी२६ फ्रेबुअरीपछिमात्रै आधिकारिक रुपमा आफ्नाे भएकाे बनाउन खाेजेका छन् । एएचजेड कम्पनीले म्याट्रिक्ससँग सम्झौता गरेको छ, तर गौतमले क्यामडेनका लागि विद्यार्थी रिक्रुट गरिरहेका छन् । क्यामडेनको स्टाफ पनि म्याट्रिक्समै बसेर काम गरिरहेको छन् ।

के भन्छन् ऋशव गौतम ?

एएचजेडका कन्ट्री म्यानेजर ऋशव गौतमले आफूहरुले एएचजेडबाट कर्मचारी ननिकालेको दाबी गरे ।

उनले नेपाल प्रेससँग भने, ‘एएचजेडसँग सम्झौता सकिएकाले आधा कर्मचारी नयाँ खुल्न लागेको कम्पनीसँग काम गर्न लगेको हो । उनीहरुलाई निकालेको भन्न मिल्दैन ।’

गौतमका अनुसार म्याट्रिक्सकाे एएचजेडसँग सम्झौता सकाएर अर्को कम्पनीसँग मिलेर काम गर्न लागेको छ । आधा कर्मचारी आफूसँग रहेको र आधा एएचजेडको नयाँ कन्सल्टेन्सीमा काम गर्न लागेको उनले दाबी गरे ।

कर्मचारीहरुले एकपक्षीय आरोप लगाएको गौतमको भनाइ छ । आफूले कर्मचारीहरुलाई केही नभनेको र एएचजेडको लगानी क्यामडेनमा नगरेको उनले बताए ।


प्रतिक्रिया

One thought on “सञ्चालकको मौखिक आदेशमा कन्सल्टेन्सीबाट एकैपटक निकालिए ३५ कर्मचारी, यस्ताे छ भित्री खेल

  1. यिनीहरूलाइ म्यानपावर अन्तर्गत दर्ता गर्न लगा सरकार ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *