बलदेव भन्छन्- बाबुराम भट्टराई र मोहन वैद्य तत्काल एकतामा आउने सम्भावना छैन – Nepal Press

बलदेव भन्छन्- बाबुराम भट्टराई र मोहन वैद्य तत्काल एकतामा आउने सम्भावना छैन

'विप्लवजीलगायतसँग चाँडै एकता हुँदैछ'

रुपन्देही । नेकपा माओवादी केन्द्रका सचिव चक्रपाणी खनाल बलदेवले अब माओवादीले कसैको वैशाखी टेक्नु नपर्ने दाबी गरेका छन् ।

माओवादी केन्द्र बुटवल उपमहानगरको तेस्रो नगर अधिवेशन उद्घाटन समारोहमा उनले माओवादीले स्थानीय तहको उपनिर्वाचनमा दोस्रो स्थान हासिल गरेको उल्लेख गर्दै २०८४ को निर्वाचन एक्लै लड्ने बताएका हुन् ।

नेता खनालले २०६४ सालको निर्वाचनमा जनताले अपार माया देखाए पनि आफ्नो कमजोरीका कारण काँग्रेस एमालेसंग गठबन्धन गर्नुपर्ने अवस्था आएको भन्दै २०८४ को निर्वाचन एक्लै लड्ने उद्घोष गरे ।

‘२०८४ को जस्तो अवस्थामा नै फर्कनछौँ भन्ने त नहोला तर ठूलो पार्टी बनिन्छ जनतामा जाऔं अहिले माओवादीप्रति जनताको आशा देखिएको छ’, उनले भने ।

माओवादी नेतृत्वको सरकारले भ्रष्टाचार र वेथितिविरूद्ध अभियान सुरू गरेको उल्लेख गर्दै उनले वर्तमान सरकार भ्रष्टाचारीको संरक्षणमा लागि परेको आरोप लगाए । भ्रष्टाचारीहरूको लहरो तान्दै जाँदा ठूलै घरानासमेत पर्ने देखिएपछि जालझेल गरेर माओवादी नेतृत्वको सरकार ढालिएको बताए ।

नेता खनालले विचार मिल्ने शक्तिहरूलाई एकतामा आउन आग्रह गरे । छिन्नभिन्न हुँदा माओवादी शक्ति कमजोर भएको भन्दै उनले विचार मिल्ने शक्तिहरू एकता गर्नुको विकल्प नभएको बताए हुन् ।

‘बाबुराम भट्टराई र मोहन वैद्य तत्काल एकतामा आउने सम्भावना छैन, विप्लवजी लगायत साथीहरूसंग चाँडै एकता हुँदैछ’, उनले भने ।

नेकपा माओवादी स्थायी कमिटी सदस्य हकिकुल्लाहा खानले एकताबद्ध भएर पार्टी निर्माणमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । नेताहरू अब जनताको घरदैलोमा जानुपर्नेमा उनले जोड दिए । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी एक दर्जन नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर