कृषि क्षेत्र विकास कार्यक्रम सुर्खेतको वैदेशिक भ्रमण टोलीमा ५० प्रतिशत कर्मचारी असम्बन्धित क्षेत्रका – Nepal Press

कृषि क्षेत्र विकास कार्यक्रम सुर्खेतको वैदेशिक भ्रमण टोलीमा ५० प्रतिशत कर्मचारी असम्बन्धित क्षेत्रका

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना खोटाङदेखि पशु विकास फार्म जिरीसम्मका कर्मचारी भ्रमण टोलीमा कृषि क्षेत्र विकास कार्यक्रम सुर्खेतबाट पठाइएका कर्मचारीको नाम पनि काटियो

काठमाडौं । कृषि क्षेत्र विकास कार्यक्रम विरेन्द्रनगर सुर्खेतको रकममा कर्णाली प्रदेश भन्दा बाहिरका करिब ५० प्रतिशत कर्मचारी वैदेशिक भ्रमणमा जाने भएका छन् ।

कृषि क्षेत्र विकास कार्यक्रमको आयोजनामा फागुन ११ देखि १७ सम्ममा फिलिपिन्समा हुने ‘उच्च मूल्य कृषि उपजको मूल्य श्रृंखला विकास सम्बन्धी अध्ययन भ्रमण कार्यक्रम’मा २० जना मनोनयन भएकोमा ५० प्रतिशत कर्मचारी कर्णाली प्रदेश भन्दा बाहिरका भ्रमणमा जान लागेका पाइएको हो ।

त्यसका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत माघ २१ मा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्रीस्तरीय र माघ २२ मा कृषि सचिव गोविन्दप्रसाद शर्माले सचिवस्तरीय निर्णय गर्दै २० जनालाई भ्रमणका पठाउनका लागि मनोयन गरेको थियो ।

मन्त्री तथा सचिव स्तरीय निर्णयले भ्रमणको १५ दिन भित्र ‘निजामती सेवा नियमावली, २०५०’ को नियम ५३ ‘क’ को उपनियम ६ बमोजिम कृषि तथा पशुपन्छी विकास मन्त्रालयको योजना तथा विकास समन्वय महाशाखामा प्रतिवेदन पेश गर्न भनेको छ ।

भ्रमण टोलीको मुख्य आयोजक तथा बजेट खर्च गर्ने निकाय कृषि क्षेत्र विकास कार्यक्रम सुर्खेतका कार्यक्रम संयोजक वासुदेव काफ्ले, बरिष्ठ कृषि अधिकृत टुकबहादुर थापा र कृषि अधिकृत श्रीधर खनाल सहभागि हुदैँछन् ।

यस्तै कृषि क्षेत्र विकास कार्यक्रम, कार्यक्रम समन्वय ईकाई जाजरकोटका कृषि अधिकृत सुरज भारती, कृषि क्षेत्र विकास कार्यक्रम सुर्खेतका कृषि अधिकृत प्रशान्त चौधरी, कृषि क्षेत्र विकास कार्यक्रम, कार्यक्रम समन्वय ईकाई जुम्लाका कृषि अधिकृत लोकबहादुर शाही रहेका छन् ।

भ्रमणमा सम्बन्धित क्षेत्र तथा विषय विज्ञ जानुपर्नेमा कृषि क्षेत्र विकास कार्यक्रम सुर्खेतका लेखा अधिकृत जगत घर्ती र लेखापाल तिर्थबहादुर रावत पनि जानका लागि मनोयनमा परका छन् । कार्यालयकै कतिपय सम्बन्धित क्षेत्र तथा विषयका कर्मचारी नगएर लेखा अधिकृत र लेखापाल पनि भ्रमणमा जानेगरी मनोयनमा परेपछि कार्यालयका कर्मचारी आक्रोशित छन् ।

यी हुन् कृषि क्षेत्र विकास कार्यक्रम सुर्खेत भन्दा बाहिरका कर्मचारी

भ्रमण टोलीमा कृषि क्षेत्र विकास कार्यक्रम सुर्खेत बाहिरका कर्मचारीमा नेपाल सरकारका सहसचिव समेत रहेका कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइराला, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका बरिष्ठ कृषि इन्जिनियर दिपक भारद्धाज र मन्त्रालयका उपसचिव दिपककुमार थापा, मन्त्रालयका कृषि अर्थ विज्ञ चन्द्रा जोशी रहेका छन् ।

साथै कर्णाली प्रदेशको कार्यक्रममा कार्यक्रमको क्षेत्र भन्दा बाहिर पर्ने कोशी प्रदेशका कर्मचारी पनि भ्रमणमा समेटिएका छन् । जसमा पशु सेवा विभाग, ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना धनकुटाका बरिष्ठ पशु विकास अधिकृत ईन्द्रनारायण शाह, पशु सेवा विभागका पशु विकास अधिकृत गौरीशंकरप्रसाद सिंह, कृषि क्षेत्र विकास कार्यक्रम, कार्यक्रम सम्पर्क कार्यालय ललितपुरका प्राविधिक सहायक कपिल श्रेष्ठ, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना संखुवासभाका कृषि अधिकृत नवराज गुरुंङ, पशु विकास फार्म जिरीका बरिष्ठ पशु विकास अधिकृत गोपाल गिरी, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना खोटांङका कृषि अधिकृत दिपेन्द्रमनोहर चौधरी समेत रहेका छन् ।

संघीय अर्थ मन्त्रालय र कृषि मन्त्रालय कर्णाली प्रदेशबाट नाम टुंगिन बाँकी

यस्तै सम्बन्धित सरोकारवाला नै नपर्ने अर्थ मन्त्रालयबाट मनोनयन भए बमोजिम हुनेगरी एक जना र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशबाट मनोनयन भए बमोजिम हुने गरी एक जना भ्रमणमा जानका लागि मनोयनमा गरिएको छ । यद्यपी नाम भने अहिलेसम्म खुलाइएको छैन् ।

करिब एक करोड भ्रमण खर्चमा सिध्याइँदै

कृषि क्षेत्र विकास कार्यक्रम सुर्खेतको भ्रमणमा करिव १ करोड बजेट सिध्याइदैँ छ । जसमा कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आइएफएडी)बाट असुल उपर हुनेगरी सोधभर्ना अनुदान रकम ८५ लाख र नेपाल सरकारको १५ लाख रुपैयाँ रहेको छ ।

जसमा कृषि क्षेत्र विकास कार्यक्रम सुर्खेतका सहायक सूचना अधिकारी डिल्लीरमण गिरी र कृषि तथा पशुसन्छी विकास मन्त्रालयका लेखा अधिकृत भ्रमण जादाँ चार लाख ३९ हजार ३१० यस अघि नै खर्च भइसकेको छ । त्यसैले अबको २० जनाको भ्रमणमा करिव ९५ लाख ६० हजार ६९० रुपैयाँ खर्च गर्ने तयारी छ ।

भ्रमण टोलीको मनोयन कृषि मन्त्रालयले गरेको होः कार्यक्रम संयोजक काफ्ले

नेपाल सरकारका सहसचिव एवम कृषि क्षेत्र विकास कार्यक्रम सुर्खेतका कार्यक्रम संयोजक बासुदेव काफ्लेले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट मनोनयन भएर अर्थ मन्त्रालयबाट स्वीकृती लिएर २० जनाको टोली भ्रमणमा जान लागेको नेपाल प्रेसलाई जानकारी दिए ।

तर, कृषि क्षेत्र विकास कार्यक्रम सुर्खेतको बजेटमा किन कर्णाली भन्दा बाहिरका कर्मचारी भ्रमणमा जान लागेका हुन् भन्ने प्रश्नमा भने उनले मनोयन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेकाले मनोयनबारे मन्त्रालयमा नै बुझ्न सुझाव दिए ।

उनले भने, ‘कृषि क्षेत्र विकास कार्यक्रम सुर्खेतमा कार्यक्रम लागू भएको र यतैको बजेट हो । कार्यक्रमसँग सम्बन्धित भएका कारणले मन्त्रालयले अन्य ठाउँका कर्मचारी पनि छनौट गरेको हुनसक्छ । मनोयनबारे भने कृषि तथा पशुपन्छी विकास मन्त्रालयललाई बुझ्नुहोला । हाम्रो कार्यलयबाट जादैँ नगएको भन्ने पनि होइन । हामीले हाम्रो कार्यालयको सिफारिस गरेको पठाएको हो । बाहिर कार्यक्रम नभएका कारण बाहिरकाले पनि अवसर पाउन भनेर पनि मन्त्रालयले गरेको हुन सक्छ ।’

सहसचिव भन्दा तलको भ्रमण स्वीकृत सचिवले गर्ने भएकाले जानकारी भएनः कृषिमन्त्री अधिकारी

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भने आफुलाई यो विषयमा जानकारी नभएको नेपाल प्रेससँग बताए । उनले आफुले सहसचिवसम्मको भ्रमण स्वीकृतीको निर्णय आफुले गर्ने भए पनि त्यो भन्दा तल्लो तहका कर्मचारीको निर्णय मन्त्रालयका सचिवले गर्ने भएकाले जानकारी नभएको बताए । उनले भने, ‘मलाई सबै कुरा जानकारी हुदैँन । वैदेशिक भ्रमणको कुरा गर्दा सहसचिव सम्मलाई मात्रै मनोनयनको निर्णय मैले गर्ने हो । त्यति जानकारी हुन्छ । त्यो भन्दा तलको निर्णय मन्त्रालयको सचिव ज्यूले गर्नुहुन्छ । मैले जानकारी र चासो राख्दा त हुन्थ्यो । राखिएन के रहछ बुझौला ।’

कृषि सचिव भन्छन्ः सबै भ्रमण टोलीमा सम्बन्धित क्षेत्र भन्दा बाहिरका पनि जान्छन्

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि सचिव गोविन्दप्रसाद शर्माले भने सबैजसो भ्रमणमा सम्बन्धित क्षेत्र भन्दा बाहिरको पनि जान सक्ने व्यवस्था अनुसार अहिलेको भ्रमण टोलीमा पनि बाहिरको जान लागेको नेपाल प्रेससँग बताए । ५० प्रतिशत नै कार्यक्षेत्र भन्दा बाहिरका कर्मचारी भ्रमण टोलीमा छन् नि भन्ने प्रश्नमा उनले जवाफ दिन उपयुक्त नभएको भन्दै कुरा गर्न चाहेनन् ।

उनले भने, ‘यस भ्रमणमा मात्रै होइन, सबैजसो भ्रमणमा यसरी नै मनोनयन हुन्छ । अधिकांश त्यसै आयोजनाबाट जानुहुन्छ । करिव ६५ देखि ७० प्रतिशत परियोजनाको जान्छन् । बाँकी जुन क्षेत्र र ठाउँको पनि मनोनयन गर्न सकिन्छ । मन्त्रालयमा कार्यरत र मन्त्रालय अन्तरगत कार्यरत एक दुई जना १० देखि १२ वर्ष भ्रमणमा नगएका कर्मचारी मनोनयन गरिएको हो । यो गर्न मिल्छ ।’

कृषि क्षेत्र विकास कार्यक्रम सुर्खेतबाट पठाइएका कर्मचारीको नाम पनि काटियो

कार्यक्रमको क्षेत्र भन्दा बाहिरका कर्मचारी भ्रमण टोलीमा अटाउदाँ कृषि क्षेत्र विकास कार्यक्रम सुर्खेतकै कर्मचारी भ्रमण टोलीमा अटाउन सकेनन् ।

जसमा कृषि क्षेत्र विकास कार्यक्रम सुखेृतका बरिष्ठ कृषि अधिकृत सुनिता पाण्डे, कृषि अधिकृत डिल्लीरमण गिरी लगायतका कर्मचारीको नाम भ्रमण टोलीमा परेको छैन । कार्यालयले नायव शुब्बा राजकुमार केसीको नाम कृषि क्षेत्र विकास कार्यक्रम सुर्खेतले मन्त्रालयमा पठाएको भए पनि मनोनयनमा परेन ।

कार्यक्षेत्र रहेका विभिन्न जिल्ला मध्ये जुम्ला, जाजरकोट र सल्यान गरेर ३ जिल्लामा कार्यक्रम इकाई पनि रहेका छन् । ति इकाई अन्तरगत विभिन्न कर्मचारी पनि कार्यरत छन् । कृषि क्षेत्र विकास कार्यक्रम कर्णाली प्रदेशको सुर्खेत, दैलेख, सल्यान, जाजरकोट, कालिकोट, जुम्ला, मुगु, डोल्पा, हुम्ला र रुकुम पश्चिममा काम गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *