पालिकामा छायाँ सरकार बनाएर काम गर्ने नेकपा एसको नीति, सरकारविरुद्ध याेजनावद्ध आन्दोलन गर्ने – Nepal Press

पालिकामा छायाँ सरकार बनाएर काम गर्ने नेकपा एसको नीति, सरकारविरुद्ध याेजनावद्ध आन्दोलन गर्ने

माधव नेपालको गुनासो- नेताहरुले पार्टीको निर्णयकै उपहास गर्न थाले, जिम्मेवारी लिएर काम गरेनन्

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारविरुद्ध योजनाबद्ध रुपमा आन्दोलनमा उत्रिने तयारी गरेको छ । आन्दोलनाको आवश्यक तयारी गर्नको लागि महासचिव घनश्याम भुसालको नेतृत्वमा समिति पनि गठन भइसकेको छ ।

आज बसेको पोलिटब्युरो बैठकमा अध्यक्ष माधव नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमा समितिले आन्दोलनको कार्ययोजना बनाउने र हामी योजनाबद्ध ढङ्गले आन्दोलनमा उत्रिने तयारी गरेको उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ, ‘हामी ससदीय मोर्चामा पनि कार्यरत छौँ । यस मोर्चालाई हामीले राम्रोसँग उपयोग गर्दै त्यहाँबाट राष्ट्रियता, लोकतन्त्र र जन सरोकारका विषयहरूलाई सशक्त ढङ्गले अगाडि बढाउनु पर्दछ । सरकारले ल्याएका जनविरोधी अध्यादेशको विरोधबाट हालै यो काम थालिसकेका छौं । अहिले हामी विभिन्न स्थानीय तहमा पनि छौँ । स्थानीय तह भनेका स्थानीय सरकार हुन् ।’

पार्टीले नेतृत्व गरेको स्थानीय सरकार समाजवादका आधार निर्माण गर्ने गरी जनताको पक्षमा काम गरेर नमूना प्रस्तुत गर्नुपर्ने उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘हामी निर्वाचित नभएका स्थानीय तहका हाम्रा पार्टी कमिटीहरूले सम्बन्धित स्थानीय तहको छायाँ सरकारका रूपमा काम गर्नु पर्दछ ।’

राजनीतिक एवं साङ्गठनिक कार्यलाई अगाडि बढाउन प्रचार ठूलो भएकाले पार्टीका विभिन्न कमिटीका बैठक, भेला, अधिवेशनहरूको राम्ररी प्रचार नभएको उल्लेख छ ।

‘पार्टीका नेताहरूले सावजनिक कार्यक्रममा वा अन्तर्वार्तामा बोलेका मात्र होइन संसदमा बोलेका राम्रा कुराको समेत प्रचार भएको छैन । जनसड्गठनहरूले गरेका कामको पनि प्रचार भएको छैन’, प्रतिवदेनमा भनिएको छ, ’विरोधीहरूले हाम्रा विरुद्ध अनर्गल प्रचार गरिरहेका छन् तर हामीले त्यसको खण्डन हुने गरी प्रचार कार्य सञ्चालन गर्न सकिरहेका छैनौं । त्यसैले प्रचार कार्यलाई व्यवस्थित, व्यापक र प्रभावकारी बनाउनु जरुरी छ ।’

प्रदेश र स्थानीय कमिटीहरूले आफ्नो तहमा प्रचार विभाग गठन गरी प्रचारको ठोस योजना बनाएर कार्यान्वयन गर्ने र सामाजिक सञ्जाल सञ्चालनको योजना बनाइ अगाडि बढ्ने प्रतिवेदनमा उल्लेख छ ।

पार्टीभित्र अनुशासनहीन र अराजक प्रवृती देखिएको भन्दै पार्टीको निर्णयको उपहास गर्दै जथाभावी बोल्ने, लेख्ने प्रवृत्ति देखिएको उल्लेख छ । पार्टीमा जिम्मेवारी लिने तर त्यसलाई पूरा नगर्ने प्रवृत्ति बढेर गएको पनि उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर