नुवाकोटको चिम्टेश्वरमा महायज्ञ सुरू


नुवाकोट । ‘मेरो चिम्टेश्वर म बनाउँछु’ अभियानअन्तर्गत नुवाकोटको ऐतिहासिक एवं पुरातात्त्विक स्थान चिम्टेश्वरमा आजदेखि श्रीमद्भागवत धान्याञ्चल विराट ज्ञान महायज्ञ – सुरू भएको छ ।
पर्यटनमन्त्री बद्री पाण्डेले आज एक समारोहबीच महायज्ञको उद्घाटन गरे । शिवरात्रीलाई लक्षित गरी गरिएको महायज्ञमा काठमाडौं, धादिङ रसुवालगायतका जिल्लाबाट श्रद्धालु आउने आयोजक सदस्य सीताराम तिमल्सिनाले जानकारी दिए ।
चिम्टेश्वर विकास समिति तथा महायज्ञ आयोजक मूल समारोह समितिले आयोजना गरेको महायज्ञमा पण्डित नारायण न्यौपाने प्रमुख वाचक छन् । महायज्ञले चिम्टेश्वर क्षेत्रको ऐतिहासिकता, पर्यटकीय महत्त्वलाई उजागर गर्ने तिमल्सिनाले बताए ।
महायज्ञको पूर्वाङ्ग तथा शोभायात्रा ७ गते, पाठपारायण तथा प्रवचन ८ गतेदेखि १४ गतेसम्म हुने तथा १४ गते पाठपारायणसहित रूद्राभिषेक हुने र १५ गते साँझ दीप प्रज्ज्वलन, रातभर जाग्राम तथा भजन कीर्तन तय गरिएको छ ।