जनयुद्धका नाममा माओवादीले थोपरेको हिंसाले देश बीसौं वर्ष पछाडि धकेलियो :गगन थापा (भिडिओ)


पाल्पा । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपालको राजनीतिमा २००७ सालपछिको ६० वर्ष राजाको शासक बन्ने आकांक्षा र माओवादीको अनावश्यक हिंसाका कारण देशले दुःख पाएको टिप्पणी गरेका छन् ।
एमालेले हिंसा शब्द प्रयोग गर्दा माओवादीले आपत्ति जनाइरहेका बेला कांग्रेस महामन्त्रीले पनि माओवादी हिंसाका कारण देशको प्रगति २० वर्ष पछि परेको बताएका हुन् ।
पाल्पाको पुर्वखोलामा बुधवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले २०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरेर प्रजातन्त्र हरण गर्नाले ३० वर्ष देश पछि परेको बताए ।
थापाले भने–एकातिर त्यसरी हामीले ३० वर्ष संघर्षमा बितायौं । अर्कोतिर प्रजातन्त्र स्थापना हुनासाथ माओवादीले जनयुद्धका नाममा थोपरेको हिंसाले गर्दा देश बिसौं वर्ष पछि परेको यथार्थ हो ।
५० देखि ६० को दशक हिंसामा बित्यो, त्यसपछिको दश वर्ष संविधान बनाउन र त्यसको व्यवस्थापमा थप १० वर्ष लाग्यो । अब अहिले ८० को दशकमा देश ठिक दिशामा जान लाग्दा फेरि एकथरी प्रवृति आएको छ,केही भएन देश बिग्रियो भत्कियो र बस्नै लायक भएन भन्ने । सबै ठिक छ भन्ने र केही भएन भन्ने दुवै प्रवृति गलत हुन् ।
महामन्त्री थापाले कांग्रेसले मिसन ८४ भन्ने अधिकार नरहेको भन्दै यो ३ वर्षको अवधिमा आफ्ना बाचा पूरा गर्नुपर्ने बताए ।