पाथीभरामा केबलकारको पक्षमा सद्भाव र्याली, कालोमोसो दलिएका लिम्बू नेतालाई बाजागाजासहित स्वागत


विराटनगर । प्रसिद्ध धार्मिक स्थल पाथीभरा क्षेत्रमा केबलकार चाँडै बनाउनुपर्ने मागसहित मंगलबार ताप्लेजुङमा सद्भाव र्याली निकालिएको छ ।
केबलकारले ताप्लेजुङको विकास र आर्थिक समृद्धिमा टेवा पुग्ने भन्दै नागरिक समाजको अगुवाइमा फुङलिङ बजारमा केबलकारको पक्षमा र्याली निकालिएको हो ।
विभिन्न जातजातिको भेषभूषासहित राष्ट्रिय झण्डा बोकेर र्यालीमा निस्किएका स्थानीयले ‘वृद्ध-वृद्धा के भन्छन्, केबलकार ले भन्छन्, अशक्तहरू के भन्छन्, केबलकार ले भन्छन्’ जस्ता नारा लगाएका थिए ।
सद्भाव र्यालीमा नौमती बाजा र च्याब्रुङलगायत विभिन्न समुदायको संस्कृति झल्कने झाँकी प्रदर्शन गरिएको थियो ।
उक्त र्यालीमा फुङलिङका मेयर अमिर मादेन नगरक्षेत्रका अन्य जनप्रतिनिधिसहित अगुवाहरू सहभागी थिए । र्यालीमा भेलिएका सयौं उद्योगी, व्यवसायी र स्थानीयले शिलान्यास भइसकेको अवस्थामा केबलकार निर्माणमा अवरोध गर्न नहुने आवाज उठाए ।
यसैबीच पाथीभरामा केबलकार निर्माणको पक्षमा उभिँदा केबलकारविरोधी पहिचानवादीबाट दुर्व्यवहारमा परेका लिम्बू नेता पदम चेन्जी मावोलाई बाजागाजासहित स्वागत तथा सम्मान गरिएको छ । केबलकारको पक्षमा बोलेको भन्दै धरानमा केही दिनअघि उनलाई कालोमोसो दलिएको थियो ।
चेन्जी ताप्लेजुङका सिरिजङ्गा गाउँपालिकाका स्थायी वासिन्दा हुन् । युमा धर्मको प्रवर्द्धकसमेत रहेका उनी अहिले याक्थुङ्ग चुम्लुङका केन्द्रीय उपाध्यक्ष छन् । उनलाई सम्मान गर्न याक्थुङ्ग चुम्लुङका जिल्लास्थित पदाधिकारी समेत पुगेका थिए ।
सम्मानपछि चेन्जीले आफू मुन्धुमी स्थलको संरक्षणका लागि हिँडेकाले त्यसका लागि मोसो दलिन तयार रहको बताए । उनले भने, ‘मोसो त के घाँटी थाप्न पनि तयार छु ।’
मोसो दल्नेहरू मुन्धुमी स्थल बचाउन नलागेको उनले आरोप लगाए । उनले थपे, ‘उनीहरू (मुक्कुमलुङ क्लबका) भन्दा मलाई बढी मुन्धुमी ज्ञान छ । मुक्कुमलुङ्ग संरक्षणको कुरा गरे पनि उनीहरू संरक्षणमा लागेका छैनन् । मैले मुन्धुमी स्थलका बारेमा रिसर्च गरेको छु ।’
मुक्कुमलुङ्ग क्लबहरूलाई पहिचानवादी भन्न नचाहेको बताए । उनले मुक्कुमलुङका पक्षधरहरूले ताप्लेजुङको विकास नचाहेको आरोप लगाए ।
उनले त्यति बेला मुन्धुमी स्थलको एक किलोमिटर वरपर कुनै पनि भौतिक संरचना बनाउन हुँदैन भन्दा मुक्कुमलुङ्ग पक्षधहरूले मुन्धुमी स्थलको मूल थानमै भौतिक संरचना बनाउन तयार भएर आफूहरूमाथि मुद्दा चलाएको दाबी गरेका छन् ।
उनले तेह्रथुमको मेन्छायम डाँडामा पनि मूलथानमै कुटी र सालिक बनाएको स्मरण गर्दै उनले भने, उनले प्रश्न गरे,‘त्यो चाहिँ मुन्धुमी स्थल होइन ? मुख्य थलोमा डोजर चलाउँदा त्यति बेला ढुङ्गा हान्ने साथीहरू कहाँ हुनुहुन्थ्यो ?’
उनले भने, ‘एक किलोमिटर वरपर कुनै पनि भौतिक संरचना बन्न हुँदैन भनेर बटम लाइन दिएकाले त्यही अनुसार केबलकार बन्दै छ । मुन्धुमी स्थलको संरक्षण हाम्रा कारणले भएको हो । मूल थानभन्दा एक किलोमिटर पर टप स्टेसन बन्दैछ । यो हाम्रो कारण भएको हो । भिरमा केबलकार बन्दा मुन्धुमी स्थलमा अतिक्रमण हुँदैन ।’
पदमलाई कालोमोसो दल्नेविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ । मुद्दा दायर भएकामध्ये एकजना पक्राउ परेका छन् ।