गौतमबुद्ध विमानस्थलको महिला शौचालयमा सुनको सिक्री भेटियो, सेटिङ बिग्रेपछि खुल्याे तस्करीकाे पाेल ! – Nepal Press

गौतमबुद्ध विमानस्थलको महिला शौचालयमा सुनको सिक्री भेटियो, सेटिङ बिग्रेपछि खुल्याे तस्करीकाे पाेल !

बिमानबाट उत्रिएर सिधै शौचालय जान्छन् भरिया

रुपन्देही । केही समययता अन्तर्राष्ट्रिय उडान सुरु भएकाे रुपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुन थालेको आशंका बढेकाे  छ । क्यानका कर्मचारी, सुरक्षाकर्मीसँगकाे सेटिङमा सुन ल्याएर यहाँको भन्सार कार्यालय छल्दै अन्यत्रबाट बाहिर निकाल्न थालिएको प्रमाण भेटिएका छन् ।

मंगलबार बिमानस्थलमा रहेकाे महिला शाैचालयमा सरसफाइ कर्मचारीले सुनकाे सिक्री भेटेपछि याे विषय बाहिर आएकाे हाे । महिला यात्रुले ल्याएर शौचालयमा छाडेको तर सरसफाईमा सेटिङको कर्मचारी नगएर अर्को कर्मचारी गएको बेला सिक्री भेटीएकाे हाे ।

यसअघि यहाँका प्रहरी, सरसफाईमा काम गर्ने क्यानका कर्मचारी र भरियाकाे सेटिङमा सुन आएको थियो । बाहिरबाट आउने जजिरा र फ्लाई दुवईमार्फत विचौलियाले सेटिङमा काम गर्न थालेको बुझाई यहाँको कर्मचारीको छ । उनीहरु विमानबाट उत्रिएपछि भन्सारतिर नगई सिधै शौचालयतर्फ जाने र त्यहाँको सरसफाइमा काम गर्ने कर्मचारी तथा प्रहरीले बाहिर निकाल्ने गरेका छन् ।

यसअघि यसैगरी बाहिर निकालेको सुन पक्राउ परेकाे थियाे । यसकाे अनुसन्धानमा क्यानको कर्मचारी, प्रहरी तथा ल्याउने मान्छे नै संलग्न पाइएपछि उनहरुविरुद्ध मुद्दा चलिरहेको छ ।

भन्सार अधिकृत पवित्रा ज्ञवाली विचौलिया, यहाँका केही कर्मचारी र प्रहरीको सेटिङमै तस्करी गर्न खोजिए पनि त्यो सम्भव नहुने बताइन् ।

‘भन्सारमा त कडाई छ, त्यता नगई यताबाटै बाहिर ल्याउने केही सेटिङ हुनसक्छ’,  उनले भनिन्, ‘यसअघि पनि क्यानकै कर्मचारी, प्रहरी र विचौलिया मिलेर गरेकाले उनीहरु मुद्दामै छन्, हिजोको पनि त्यही हुनसक्छ ।’

दिउँसो साढे १ बजेको जजिरामा आएको महिला यात्रुले शौचालयमा सुन छाडेको हुन सक्ने उनले बताइन् ।

‘त्यसपछि फ्लाई दुबईको जहाज नआउँदै शौचालय सरसफाई गर्न गएकी स्वीपर रीता थापाले देखेपछि दौडिँदै आएर आफ्नो सुपरभाइजरलाई भनिन् । सुपरभाइजरले क्यानको भीमदेव भट्टलाई भनेपछि उहाँले त्यसलाई नचलाई तत्काल सुरक्षाकर्मी बोलाएर जफत गरिएको रहेछ । हामीले त मुद्दा दर्ता भएपछि मात्रै थाहा पायौं,’ ज्ञवालीले भनिन् ।

मंगलबार अध्यागमनको शौचालयमा १ सय २५ ग्रामका २ वटा सिक्री फेला परेका हुन् । ज्ञवालीका अनुसार यो पूर्वसल्लाह गरेका कर्मचारी फेरिएकाले अलपत्र परेको हुनसक्छ ।

जजिरा विमानस्थल आएपछि र  फ्लाइ दुबईको जहाज आउनुभन्दा अघि दिउँसो १ः३० बजेको समयमा सुन भेटिएको थियाे । यस बारेमा थप अनुसन्धान भएको बताउँदै ज्ञवालीले राष्ट्र बैङ्कमा लगेर जफत हुने र उक्त रकम राजस्वको रूपमा जम्मा गरिने बताइन् ।

विमानस्थलमा रहेको सिसिटिभीमा कालो ज्याकेट लगाएकी महिला झरेर शौचालय गएको र फर्केको देखिएपनि उनको बारे केही खुलेको छैन । ज्ञवालीका अनुसार अब यसको हकदावी गर्न आउने संभावना निकै कम रहेको छ ।

सर्वसाधारणकाे पटक पटक चेकजाँच हुने विमानस्थलमा दुवई कतारबाट सेटिङमा बिना चेकजाँच सुन भित्रिरहेको व्यवसायीहरुको भनाइ छ ।

‘यसका विचौलियाहरुले यो नयाँ क्षेत्रलाई टार्गेट बनाएर काम गरेका हुनसक्छन्, नभए सबै यात्रु विमानबाट झरेर सिधै बाहिर आउन संभव हुँदैन । दुबई कतारबाट सुन ल्याउन सहज हुने भएकाले यसो गरिएको हुनसक्छ,’ एक व्यवसायीले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *