सेन्सर बोर्डप्रति तान्डवम् निर्देशकको असन्तुष्टि : कथाको मर्म मर्नेगरी काट्न भनियो


काठमाडौं । फागुन ९ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ताण्डवम्’ लाई सेन्सरबोर्डले रोकेको छ । चलचित्रमा अत्याधिक हिंसात्मक दृश्य रहेकाले ती दृश्यलाई हटाएर ल्याउन भन्दै सेन्सर बोर्डले मंगलबार सेन्सर रोकेको हो ।
सेन्सर रोकिएसँगै आज बुधबारलाई चलचित्रको निर्माण टिमले आयोजना गरेको प्रिमियर शो समेत स्थगित गरिएको छ । चलचित्र हेरेपछि सेन्सर बोर्डका सदस्यहरूले अत्याधिक हिंसात्मक दृश्य भएको भन्दै ती दृश्य काँटेर ल्याउन भनेको निर्देशक जुनिम गहतराजले जानकारी दिए ।
गहतराजले भने, ‘केही दृश्यहरु अत्याधिक हिंसात्मक भयो भन्दै चलचित्र सेन्सरमा रोकिएको छ । अब, ती दृश्यहरु काँटेपछि सिनेमाको जुन मर्म छ त्यो मर्छ ।’
दृश्य काँटछाँट नगरी ‘एडल्ट सर्टिफिकेट’ दिनका लागि निर्माणपक्षले आग्रह गरे पनि सेन्सर बोर्डले अस्वीकार गरेको बताइएको छ । चलचित्रमा रहेको ६ मिनेट लामो हिंसात्मक दृश्यलाई ३ मिनेटमा घटाउन निर्देशन दिएको गहतराजले बताए ।
तर, सेन्सर बोर्डले काट्न लगाएका सिनहरु काटेरै भए पनि तोकिएकै मितिमा चलचित्र चलाउने गहतराजले बताए । ‘आउँदो शुक्रबारबाटै चलचित्र प्रदर्शनमा त ल्याउनुपर्ला । रिभेन्ज स्टोरी हो, अब त्यति धेरै दृश्य काट्नु पर्दा समस्या आइपर्छ,’ गहतराजले निराश हुँदै भने, ‘सेन्सर बोर्डसँग विवाद गर्ने हाम्रो हैसियत नै छैन । काटेर भए पनि चलचित्र चलाउनैपर्यो नि ।’
चलचित्रमा पुष्कर गुरुङ, प्रेम सुब्बा, जुनिम गहतराज, अंकित खड्का, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ । चलचित्रले एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरु जीवनमा घट्ने अकल्पनिय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ ।
चलचित्र फागुन ९ गते शुक्रबारबाट प्रदर्शनमा आउँदैछ ।