प्रकृतिको घरमा सन्नाटा, ओडिसाबाट शव ल्याइँदै


रुपन्देही । ओडिसाको किट कलेजमा पढ्दै गरेकी २१ वर्षीया प्रकृति लम्सालको मृत्युपश्चात सिद्धार्थनगर नगरपालिका-८, बैंक कलोनी सुनसान छ । प्रकृतिका हजुरबुवा ७६ वर्षीया देवनाथ र हजुरआमामात्र घरमा छन् । टोलाएर बसिरहेका उनीहरूलाई सम्झाइबुझाइ गर्न शुभेच्छुक र आफन्त आइपुग्छन् ।
प्रकृतिका बाबु सुनिल र आमा केही समयदेखि काठमाडौंमा व्यवसाय गर्दै बसिरहेका छन् । मूल घर भैरहवाको बैंक कलोनीमा चाडपर्व र बिदामा प्रकृति जसरी पनि आइपुग्थिन् । पछिल्लोपटक कात्तिक अन्तिममा आएर २०-२२ दिन बसेकी थिइन् । विद्यालय तह भैरहवा र बुटवलमा पढेकी प्रकृतिले एसएलसी र प्लस टू भने काठमाडौंबाट सकेकी थिइन् । किट कलेजमा उनी बीटैक अन्तिम वर्षमा अध्ययनरत् थिइन् ।
लम्साल परिवारलाई खुसी बनाउने भैरहवाको यो घरमा अहिले सन्नाटा छाएको छ । प्रकृतिको मृत्यु भएको खबर पाएपछि काठमाडौंबाट उनका बुवा सुनिल लम्साल दुईजना साथी लिएर भारतको ओडिसा पुगेका छन् । घटनास्थलमा आवश्यक कानूनी र कागजी प्रकृया पूरा गरी आज सुनिल छोरीको शव लिएर भैरहवास्थित घरमा आउँदैछन् ।
पतिसँगै भारत जान तयार प्रकृतिकी आमा सरिता अन्तिम समयमा पीडाले अस्वस्थ बनेपछि जान सकिनन् । दुई दिनदेखि सरितालाई छोरासँगै बुटवलस्थित माइतीमा ल्याएर राखिएको छ ।
अहिले भैरहवाको घरमा ७६ वर्षीय हजुरबुवा र हजुरआमा अनि प्रकृतिको फूपूमात्रै छन् । बाहिरी मान्छे जोकोहीलाई पनि घरमा केही कुराकानी नगर्न र केही प्रतिकृया नलिन आफन्तले आग्रह गरिरहेका छन् ।
छिमेकी प्रेमनारायण बेल्वासे भन्छन्, ‘उताबाट नानीको शव नल्याउँदासम्म नानीको आमा र भाइलाई घरमा नल्याउने कुरा बुझेको छु । उडिसाबाट दिल्ली, अनि दिल्लीबाट गोरपुरको फ्लाइट ५ बजे हुने रे । त्यहाँबाट गाडीमा यहाँसम्म आउँदा राति नै होला ।’
आफ्नै टोलमा घर अगाडिकै परिवारमा यस्तो विपत्ति आउँदा निकै पीडा भएको उनले सुनाए । प्रकृतिका बुवाआमा विगत १०-१२ वर्षदेखि काठमाडौंमा मसला उद्योग सञ्चालन गर्दै आएका थिए । प्रकृति लम्साल बी टेक अन्तिम वर्षमा अध्ययनरत थिइन् ।
त्यहाँस्थित प्रहरी, केआईआईटी प्रशासन र प्रकृतिका बावु सुनिलबीच उनको शव नेपाल ल्याउने सहमति भएको भारतस्थित नेपाली दूतावासले यसअघि नै जनाएको थियो । सुनिलले आफ्नो छोरीलाई ब्ल्याकमेल गरेर आत्महत्या गर्न बाध्य पारिएको बताउँदै आएका छन् ।
उनकझ भनाइ थियो, ‘अनुसन्धान चलिरहेको छ, पोस्टमार्टम प्रतिवेदन आउन बाँकी छ । तर, हामीलाई थाहा छ यसलाई भावनात्मक ब्ल्याकमेल गरेर आत्महत्या गर्न बाध्य पारिएको हो ।’
लम्सालले केआईआईटी र प्रहरी प्रशासनले घटनाको छानबिनमा सहयोग गरिरहेको प्रतिक्रिया दिएका थिए । उनका अनुसार प्रकृतिको फोन, ल्यापटप र डायरी फरेन्सिक विभागलाई बुझाइसकिएको छ ।
घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको जानकारी कलेजले सअघि नै दिइसकेको छ ।