पूर्वउपराष्ट्रपति पुनलाई सक्रिय राजनीतिमा ल्याउने औपचारिक निर्णय भएको छैन : नारायणकाजी श्रेष्ठ


काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रपति र उपराष्ट्रपति भइसकेका व्यक्तिहरू राजनीतिमा फर्किनु उपयुक्त नहुने भन्ने आम बुझाइरहेको बताएका छन् ।
प्रेस सेन्टर ताप्लेजुङको पत्रकार सम्मेलनमा बोल्दै उपराष्ट्रपति नन्दबहादुर पुन अहिले पार्टीमा आमन्त्रित सदस्यको रूपमा काम गरिरहेको भएपनि औपचारिक निर्णय नभएको दाबी गरे ।
उनले राष्ट्रपति र उपराष्ट्रपति भइसकेका व्यक्ति राजनीतिमा फेरि सक्रिय हुने भन्ने कुरा पार्टीभित्रको छलफलमा मात्रै नपुग्ने बताए ।
उनले भने, ‘हाम्रो पार्टीमा पनि यो विषयमा छलफल भएको छ । एमालेमा पनि छलफल होला । यो विषय पूरै राजनीतिमै छलफल हुन्छ । सामान्यतया सम्माननीय पदमा पुगेकाहरू आमरूपमा सक्रिय राजनीतिमा फर्किनुहुन्न भन्ने थियो । तर, संविधान र कानूनले त छेकेको छैन । त्यसैले कसैले छेक्ने कुरा भएन । यो नेपालको राजनीतिको विषय भएकाले आमरूपमा छलफल गरेरमात्रै निर्णय लिनुपर्छ ।’
उनले उपराष्ट्रपति पुनको सक्रिय राजनीतिमा आउने चाहना भएपनि औपचारिक निर्णय नगरेको उनले दाबी गरे । यद्यपि, पार्टीले कार्यविभाजन गर्दा उत्पादन विभागको जिम्मेवारी दिएको छ । पुनलाई प्रचण्डले उपाध्यक्ष बनाउने तयारी गरेका छन् । तर, पार्टीभित्र वरीयताको विषयमा कुरा नटुंगिएपनि अहिले माओवादीले जिम्मेवारी दिएको हो ।
उनले थपे, ‘पार्टीले व्यक्तिगत रूपमा उहाँको चाहनालाई सम्मान नै गरेको छ । तर, उपयुक्त हुन्छ कि हुँदैन भन्ने छलफल गरिरहेको छ । अहिले आमन्त्रित सदस्यकै रूपमा जिम्मेवारी दिएका छौं । तर, यो बारेमा पार्टीले उपयुक्त निर्णय लिन्छ ।’