नेपाली विद्यार्थीलाई अपमान गर्ने केआइआइटी कलेजका दुई सुरक्षा गार्डसहित पाँच जना पक्राउ – Nepal Press

नेपाली विद्यार्थीलाई अपमान गर्ने केआइआइटी कलेजका दुई सुरक्षा गार्डसहित पाँच जना पक्राउ

काठमाडौं । नेपाली विद्यार्थीहरूलाई अपमान गर्ने र निकाला गर्ने भारतको ओडिसा राज्यको केआइआइटी कलेजका पाँच जना पक्राउ परेका छन् ।

भारतीय च्यानल एनडीटीभीका अनुसार पक्राउ परेकाहरूमा दुई जना सुरक्षा गार्ड र तीन जना प्रशासन क्षेत्रका अनुहार छन् ।

सुरक्षा गार्डहरूले नेपाली विद्यार्थीहरूलाई हातपात गरेको भिडिओ सार्वजनिक भएको थियो भने प्रशासनले निकाला गरेको थियो ।

पक्राउ परेका दुई सुरक्षा गार्डहरूमा २५ वर्षका जोगेन्द्र बेहेरा र ४५ वर्षका रामकान्त नायक छन् ।

प्रशासनका तीन पक्राउ परेकाहरूमा ५९ वर्षका महानिर्देशक शिवानन्द मिश्र, ५१ वर्षका निर्देशक कुमार चामुपति र ५९ वर्षका होस्टेल प्रमुख सुधीर कुमार राथ रहेका छन् ।

भारतीय अखबार इण्डियन एक्सप्रेसका अनुसार ओडिसा सरकारले पनि सत्यतथ्य छानबिन गर्ने समिति बनाएको छ ।

यस अगाडि नेपाली विद्यार्थीहरूलाई अपमान गर्ने महिला शिक्षकहरूले सार्वजनिक रूपमा माफी मागेका छन् । केआइआइटीले पनि वक्तव्य जारी गरेर माफी मागेको छ ।

नेपाल तथा भारतका विद्यार्थी संगठनहरुको विरोध तथा दुवै देशको कूटनीतिक पहलपछि केआइआइटीले माफी माग्न बाध्य भएको हो ।

आइतबार राती नेपाली विद्यार्थी प्रकृति लम्सालको आत्महत्याको घटना सार्वजनिक भएसँगै नेपाली विद्यार्थीहरू रातीबाटै प्रदर्शनमा थिए ।

प्रदर्शन गरिएको भन्दै उनीहरूलाई कलेज निकालाको सूचना जारी गरेर रेलवे स्टेसनमा जबरजस्त छोडिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर