वडाध्यक्षले शिक्षा शाखा प्रमुखमाथि आक्रमण गरेपछि तीन दिनदेखि पालिकाका सबै काम ठप्प
कर्मचारीको आन्दोलनमा पालिका अध्यक्षले साथ दिएपछि नैतिक संकटमा वडाध्यक्ष


रुपन्देही। रुपन्देहीको रोहिणी गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेमाथि कार्यपालिका बैठकमै वडा नं २ का अध्यक्ष करम हुसेनले आक्रमण गरेपछि ३ दिनदेखि यहाँका कर्मचारीले सबै काम रोकेर आन्दोलनमा गएका छन् ।
आक्रमण गर्ने वडाध्यक्षलाई कारबाहीको माग गर्दै उनीहरू आन्दोलनमा गएपछि यहाँको सबै सेवा रोकिएको छ । कर्मचारीको पक्षमा पालिका अध्यक्ष विद्याप्रसाद यादवसमेत लागेपछि वडाध्यक्ष हुसेनलाई नैतिक संकट परेको हो ।
रुपन्देहीमा रहेका सबै कर्मचारी संगठनले घिमिरेमाथिको आक्रमणको विरोध गर्दै उनलाई कारबाही माग गरेका छन् । उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई भेटेर कारबाहीको माग गरेका हुन् ।
कार्यपालिकाको बैठकमा आवश्यक राय÷सल्लाह माग गर्न आमन्त्रण गरिएका राष्ट्रसेवक कर्मचारीमाथि भौतिक आक्रमण गर्नु र समग्र कर्मचारी वर्गकै मनोबल गिर्ने गरी कानूनविपरीत कार्यालय परिसरमै आक्रमण गरी घाइते बनाउने रोहिणी–२ का वडाध्यक्ष करम हुसेन खानलाई आवश्यक कारबाहीको माग गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले विज्ञप्ति जारी गर्दै रोहिणी गाउँपालिकाको यही फागुन ५ गतेको कार्यपालिका बैठकमा छलफलको क्रममा गाउँपालिकाका शाखा अधिकृत, अधिकृतस्तर आठौँ तह शिक्षा शाखामा कार्यरत मधु प्रसाद घिमिरेले आफ्ना विचार प्रस्तुत गर्ने सन्दर्भमा वडाध्यक्ष खानले भौतिक रूपमा आक्रमण गरी गालीगलौज, अपशब्द र अभद्र व्यवहार गरेको हुँदा यसले समग्र रोहिणी गाउँपालिकाको कार्य वातावरणमा नकारात्मक असर परेको उल्लेख गरेका छन् ।
‘निज करम हुसेज खानका गतिविधिहरू विगतमा पनि अमर्यादित रहँदै आएको कुरा गत वर्ष आर्थिक प्रशासन शाखामा अभद्र व्यवहार गरी आर्थिक प्रशासन बन्द गर्ने र गाउँ कार्यपालिकामा कुर्सी तथा टेबल पोरी सार्वजनिक सम्पत्तिको हानी नोक्सानी गरेको घटनाबाट पनि प्रष्ट हुन आउँछ’विज्ञप्तिमा भनिएको छ–‘आर्थिक वर्ष २०८०/०८१ को अन्त्यमा असारको २३ गते प्राविधिक शाखामा काम गरिरहेका कर्मचारीहरूमाथि ज्यान मार्ने उद्योगले हातपात गर्दा निजहरू भागेर बचेको समेत उदाहरणहरू रहेका छन् ।’
‘जनताको अमूल्य मतद्वारा चुनिएका जनप्रतिनिधिले राष्ट्रसेवक कर्मचारीको सहयोगले जनतालाई सरल, सहज र सुरक्षित वातावरणमा सेवा प्रवाह गर्नुपर्नेमा कानूनको बर्खिलाप यी र यस्तै क्रियाकलाप गर्दा राष्ट्रसेवक कर्मचारीले तटस्थ ढंगले सेवा प्रवाह गर्न असहज महसुस गर्ने, जनता तोकिएको सेवाबाट वञ्चित हुनुपर्ने बाध्यता रहने हुँदा यी र यस्तै गैरकानूनी क्रियाकलापमा संलग्न हर कोहीलाई कानूनी दायरामा ल्याइ शान्त र भयरहित वातावरणमा सार्वजनिक सेवा प्रवाह गर्ने वातावरण मिलाइदिनुहुन सम्बन्धित सबै पक्षसँग अनुरोध गर्दछौँ, ’विज्ञप्तिमा भनिएको छ ।