नेपाल-भारत सिमानामा विद्यार्थीको प्रदर्शन


विराटनगर । विराटनगरका विद्यार्थीहरुले नेपाल भारत सिमा क्षेत्रमा जोगबनीमा विरोध प्रदर्शन गरेका छन् ।
भारत ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युको विरोधमा विधार्थीले सिमा नाकामा प्रदर्शन गरेका हुन् ।
महेन्द्र मोरङ क्याम्पसबाट जुलुस सहित सिमानामा पुगेका बिद्यार्थीहरुले घटनाको निष्पक्ष छानबिनको र दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् । भारतको भुवनेश्वरमा अध्यनरत प्रकृती लम्साल मृत फेला परेपछि कलेजमा अध्ययनरत विद्यार्थीको प्रदर्शनपछि उनीहरूलाई कलेजले निकालेको थियो ।
नेपाल विधार्थी संघ मोरङका सभापति सरोज पोखरेलले प्रकृतिको न्यायका लागि आफूहरु संघर्षमा उत्रिएको बताए । प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले भारतीय नम्बर प्लेटका सवारीसाधनलाई आउजाउमा अवरोधसमेत गरेका छन् ।
महेन्द्र मोरङ क्याम्पसका चार विद्यार्थी संगठनले आन्दोलनको घोषणा गरेका छन् ।
भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल आइतबार मृत अवस्थामा भेटिएकी थिइन् ।