अनलाइन जुवा खेल्ने २४ जनाको गिरोह पक्राउ, एक अर्ब ६४ करोड ३९ लाख कारोबार फेला – Nepal Press

अनलाइन जुवा खेल्ने २४ जनाको गिरोह पक्राउ, एक अर्ब ६४ करोड ३९ लाख कारोबार फेला

काठमाडौं । एक अर्ब २४ करोड रकम बराबरको अनलाइन जुवा तथा सट्टाबाजी खेल्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले काठमाडौंको बुढानीलकण्ठ– ५ बाट घर भाडामा लिएर व्यवसायिक रुपमा अनलाइन जुवा खेल्ने तथा खेलाउने कार्यमा संलग्न २४ जना भारतीयलाई सोमबार नियन्त्रणमा लिएको हो ।

उनीहरुबाट बरामद गरिएको ल्यापटप र मोबाइलको प्रारम्भिक अनुसन्धानबाट १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३४० रुपैयाँ बराबरको अनलाइन जुवा कारोबार गरेको देखिएको महाशाखाका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका २४ जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने र विदेशी विनमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमको कसुरमा समेत आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।

बेटिङ एप्लिकेशनमार्फत विश्वभर सञ्चालन हुने विभिन्न अनलाइन गेमअन्तर्गत बेटिङ साइटको प्रयोग गरेर भारतीय बेटिङ खेल्ने एजेन्टसँग वाट्सएप तथा टेलिग्राममार्फत सम्पर्क गरी अनलाइन जुवा खेलाएर हारजित भएको बेटिङ रकम भारतको विभिन्न बैंक खाताबाट नै जम्मा तथा निकासा गरी अनलाइन जुवा खेल्ने खेलाउने कार्य भइरहेको विशेष सूचनाको आधारमा छापामारी उनीहरुलाई नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ ।

उनीहरुबाट विभिन्न कम्पनीका २१ थान ल्यापटप, विभिन्न कम्पनीका ३८ थान मोबाइल, वर्ल्डलिंङको ३ वटा राउटर र बेटिङसम्बन्धी हिसाबकिताब भएको कापी र डायरी २ वटा नियन्त्रणमा लिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर