शिक्षा मन्त्रालयले भन्यो- किटको समस्या हल नभए ओडिसाका विश्वविद्यालयमा एनओसी राेक्न सकिन्छ – Nepal Press

शिक्षा मन्त्रालयले भन्यो- किटको समस्या हल नभए ओडिसाका विश्वविद्यालयमा एनओसी राेक्न सकिन्छ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको ओडिसा राज्यका विश्वविद्यालय तथा शिक्षण संस्थाका लागि प्रदान गर्ने वैदेशिक अध्ययन अनुमतिपत्र अर्थात एनओसी रोक्ने चेतावनी दिएको छ ।

ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणपछि मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै भविष्यमा एनओसी दिन रोक्ने चेतावनी दिएको हो ।

उक्त घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाउदैँ घटनाको न्यायपूर्ण र वैधानिक रूपमा समाधान नगरिएमा भविष्यका लागि भारतको ओडिसा राज्यका विश्वविद्यालय तथा शिक्षण संस्थानमा अध्ययनका लागि प्रदान गर्दै आएको वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) प्रदान गर्ने कार्य स्थगित गर्ने चेतावनी दिएको मन्त्रालयका सहसचिव एवम प्रवक्ता शिबकुमार सापकोटाले जानकारी दिए ।

केआईआईटीमा अध्ययनरत नेपाली छात्रा लम्सालको रहस्यमय मृत्यु भएको छ । त्यसपछि मन्त्रालयको नेपाली विद्यार्थीप्रति भएको व्यवहारका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

विद्यार्थीले सम्बन्धित विश्वविद्यालयले निर्धारण गरेको नियम पालना गरी नियमानुसार बुझाउनुपर्ने शुल्क बुझाई अध्ययन गर्न पाउने विश्वव्यापी मान्यताको विपरीत अध्ययनरत रहिरहेको अवस्थामा विश्वविद्यालय प्रशासनबाट विद्यार्थीप्रति भएको व्यवहार निन्दनीय रहेको प्रवक्ता सापकोटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले घटनाबारे जानकारी पाएलगत्तै कूटनीतिक पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई सोमबार नै पत्राचार गरिसकेको पनि जनाएको छ । उक्त घटनापछि विद्यार्थीलाई तत्काल पठनपाठन कार्य पूर्ववत् सुचारु गराउने व्यवस्था मिलाउन समेत भारत सरकारको ध्यानाकर्षण गराएको जनाइएको छ ।

विद्यार्थीले सहजै रूपमा अध्ययन गर्न पाउने अवस्थाको सुनिश्चितताका लागि कूटनीतिक रुपमा परराष्ट्र मन्त्रालयमार्फत मन्त्रालयले निरन्तर पहल गरिरहेको जनाएको मन्त्रालयको भनाई छ ।

त्यस बाहेक उक्त घटनाबाट प्रभावित विद्यार्थी तथा अभिभावकलाई आकस्मिक सहजीकरण एवं सहायता प्रदान गर्न सहायता कक्ष समेत स्थापना गरेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *