स्ववियु निर्वाचनको मुखमा त्रिविमा तालाबन्दी गरेको भन्दै ६ विद्यार्थी संगठनको आपत्ति


काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षको कार्यालय र विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयमा गरिएको तालाबन्दीप्रति विभिन्न ६ विद्यार्थी संगठनले आपत्ति जनाएका छन् ।
स्ववियुको निर्वाचनको विषयलाई लिएर विद्यार्थीहरुबाट नै निर्वाचित भएका र विद्यार्थी कल्याण परिषद कै सदस्य रहेका स्ववियुका केही सभापतिले नै शिक्षाध्यक्षको कार्यालय र विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयमा तालाबन्दी गरेको भन्दै आपत्ति जनाएका हुन् ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को आवधिक निर्वाचनको मुखमा तालाबन्दी गरेको भन्दै असन्तुष्टि पोखेका छन् ।
त्रिवि अनेरास्ववियु अध्यक्ष सिद्धान्त भट्ट, अखिल (क्रान्तिकारी) त्रिवि अध्यक्ष दिनेश ऐर, त्रिवि अनेरास्ववियू अध्यक्ष समिर गौतम, अखिल (छैटौँ) त्रिवि इन्चार्ज विवेक जिसी, अखिल (समाजवादी) त्रिवि संयोजक कविन्द्र सी र अखिल (क्रान्तिकारी) त्रिवि अध्यक्ष विरेन्द्र नेपालीले संयुक्त विज्ञप्ति जारी गर्दै विद्यार्थीहरुको आधिकारिक संस्थाको आवधिक निर्वाचनका गतिविधि विथोल्ने उद्देश्य राखेर त्रिवि सभामा विद्यार्थीबाट प्रतिनिधित्व गरेका सदस्यहरुले स्ववियु निर्वाचन नगराउने मनसाय राखेर जारी गरेका वक्तव्यप्रति आपत्ति जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थीहरुबाट चुनिएका प्रतिनिधि नै यस किसिमको क्रियाकलापमा उत्रनु, विद्यमान स्ववियुको पदावधि थप्ने र समयमै स्ववियु निर्वाचन नगराउने मनसाय राखेर अनेक षढयन्त्रपूर्वक स्ववियु संस्थालाई प्रतिनिधिविहीन बनाउन उद्दत व्यक्तिहरुलाई विश्वविद्यालयबाटै संरक्षण गरिएको हो कि भन्ने आशंका समेत उत्पन्न भएको खण्डमा त्रि.वि. ले निर्वाचनको मिति सार्वजनिक गरिसकेको र स्ववियु निर्वाचन सम्बन्धी कार्यविधि, २०८१ जारी भईसकेको अवस्थामा विश्वविद्यालयले तोकिएकै समयमै स्ववियु निर्वाचन सम्पन्न गराउनु विश्वविद्यालयको प्रमुख दायित्व हो, यसका लागि विश्वविद्यालयका पदाधिकारी सहित सबै जिम्मेवार निकायहरुको समेत ध्यानकर्षण गराउदछौं ।’
स्ववियु निर्वाचन समयमै गराउनु सबै विद्यार्थी संघ संगठनको पनि जिम्मेवारी भएकोले यसलाई साझा दायित्व ठानेर स्ववियु निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सबै सरोकारवाला पक्षहरुलाई अनुरोधसमेत गरेका छन् ।