सकियो एचपीभी खोप अभियान, केही किशोरीले किन लगाएनन् ?

चितवन । सरकारले महिलामा हुने पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न १५ दिनसम्म चलाएको एचपीभी खोप अभियानमा ९० प्रतिशत किशोरी सहभागी भएका छन् । माघ २२ गतेदेखि देशव्यापी सञ्चालित अभियानमा १७ लाख किशोरीमध्ये १५ लाख बढी किशोरीले खोप लगाएका छन् ।
अभियानको अन्तिम दिन मंगलबारसम्मको प्रारम्भिक तथ्याङ्कअनुसार उक्त संख्या खोप अभियानमा सहभागी भएको विवरण आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार आज अन्तिम दिन छुटेका बस्तीहरुमा खोप लगाइएको छ ।
सरकारले विद्यालय उमेर समूहका कक्षा ६ देखि १० अध्ययनरत १० देखि १४ वर्षसम्मका किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोकथाम गर्ने एचपीभी खोप अभियान चलाएको थियो ।
जसअनुसार खोप कार्यक्रममा सहभागी हुने दर हेर्दा सबैभन्दा धेरै कोशी प्रदेशमा र सबैभन्दा कम मधेश प्रदेशमा रहेको तथ्याङ्क रहेको छ ।
‘नो भ्याक्सिन समूह’का कारण समस्या
सरकारले राष्ट्रिय खोप कार्यक्रममा नै समावेश गरेर देशभर एकै पटक सञ्चालन गरेको किशोरी लक्षित खोप कार्यक्रममा देशभर नै नो भ्याक्सिन समूह तथा सामाजिक सञ्जालमा फैलिएको भ्रामक सूचनाका कारण केही समस्या परेको खोप कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
कोशी स्वास्थ्य निर्देशनालयका खोप अधिकृत भरत भण्डारीका अनुसार बुझेका परिवारका अभिभावक तथा केही विद्यालयका शिक्षकहरुकै बुझाइमा समस्याका कारण खोप कार्यक्रममा केही असहज भएको थियो ।
‘सामाजिक सञ्जालमा खोप लगाउँदा बच्चा जन्माउन नसक्ने समस्या आउँछ भन्ने खालका भ्रामक सूचनाका कारण केही ठूला विद्यालयमा नै खोप कार्यक्रम चलाउन समस्या भएको थियो’, भण्डारीले भने, ‘तर स्वास्थ्यकर्मीहरुले एचभीपी खोपको महत्व बुझाएपछि उनीहरु पनि खोप कार्यक्रममा सहभागी भए ।’
यो समस्या ९५ प्रतिशत खोप लगाएको कोशीमा मात्रै होइन, देशभरकै केही स्थानमा आएको थियो । विशेष गरी तराई क्षेत्रका मदरसा, क्रिश्चियन धर्मका केही मानिस पनि खोप कार्यक्रममा सहभागी हुन अनिच्छुक देखिएका थिए ।
मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीका अनुसार मधेशका धनुषा, कर्णालीको अछाम, सिन्धुलीलगायतका जिल्लामा मुस्लिम, क्रिश्चियन धर्मका निश्चित सम्प्रदायसँग सम्बन्धित रहेका समुदायमा एचपीभी खोपप्रति अविश्वास देखिएको थियो ।
प्रवक्ता बुढाथोकीले भने, ‘यतिमात्रै होइन, मधेश प्रदेशका किशोरीहरु कुम्भ मेलामा गएका, विवाहलगायतका समारोह, विदेशलगायतका कार्यक्रममा सहभागी हुन गएका कारण पनि तराई र शहरी क्षेत्रमा खोप लगाउनेको संख्या अलि कम भएको हो ।’
एचपीभी खोप अभियान विद्यालयको भर्नादरलाई हेरेर १७ लाख किशोरीहरुको संख्या निर्धारण गरिएको थियो, तर केही जिल्लामा विद्यालयमा हुने दोहोरो भर्नादरका कारण पनि राष्ट्रिय लक्ष्य निर्धारण गरिएअनुसारको संख्या खोप कार्यक्रममा सहभागी हुन छुटेको देखिएको छ ।
सुदूरपश्चिम प्रदेशमा पनि नो भ्याक्सिन ग्रुपको असर परेको उक्त क्षेत्रमा खटिएका स्वास्थ्यकर्मीहरुको अनुभव छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. खगेन्द्र बमका अनुसार सुदूरपश्चिमको निर्धारित १ लाख ५२ हजार संख्या किशोरीमा ९५ प्रतिशतलाई खोप लगाइएको छ ।
तर यो विद्यालयमा आधारित तथ्याङ्क भएकाले विद्यालय बाहिर रहेका केही संख्या भने छुटेको हुनसक्ने उनले बताए ।
केही जिल्लामा भने नियमित खोप कार्यक्रम नै प्रभावित हुनेगरी खोप कार्यक्रममा नै सहभागी नभएको घटना पनि भएका थिए । सिन्धुलीमा नगर प्रहरी नै खटाएर सम्झाउँदा पनि खोप कार्यक्रममा सहभागी हुन नमानेपछि जिल्ला स्वास्थ्य कार्यालयले किशोरीको नामैसहित धर्मका कारणले खोप लगाउन नमानेको उल्लेख गरेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यलय सिन्धुलीका खोप अधिकृत पुष्प पन्तका अनुसार निकै कोसिस गर्दा पनि नमानेका दुधौली नगरपालिकाको केही वडाका किशोरीहरुको नामसहित धर्मका कारण खोप लगाउन नमानेका कारण उल्लेख गरिएको हो ।
सरकारले यस वर्ष पाठेघरको मुखको क्यान्सर रोकथामको लागि सञ्चालन गरेको कार्यक्रममा केही अप्ठेरा भए पनि समग्रमा ९० प्रतिशत सहभागी भएकाले खोप कार्यक्रम सफल भएको निष्कर्ष निकालेको छ ।
मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले आगामी आर्थिक वर्षदेखि सरकारले नियमित खोप कार्यक्रममा एचपीभी समावेश गर्ने जानकारी दिए ।
नेपालमा नसर्ने रोगहरुमध्ये क्यान्सर रोग सबैभन्दा बढी फैलँदो छ । विश्व स्वास्थ्य संगठनले सन् २०१८ मा गरेको अनुमानअनुसार नेपालमा सबैभन्दा बढी महिलाहरुमा पाठेघरको मुखको क्यान्सर देखिएको छ ।