विपद् प्राधिकरणको कार्यकारी प्रमुखमा ३ जना सिफारिस, कांग्रेस नेता पहिलो नम्बरमा
अनुभवी अन्तरवार्ताबाट फालिए, ‘अयोग्य’ लाई नियुक्त गर्ने तयारी


काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखका लागि ३ जनाको नाम सिफारिस भएको छ । कार्यकारी प्रमुख नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिले अन्तरवार्तामा सहभागि भएका ५ जनामा ३ जनाको नाम सिफारिस गरेको हो ।
सिफारिस सूची अनुसार पहिलो नम्बरमा दिनेशप्रसाद भट्ट, दोस्रो नम्बरमा सुमनकुमार कर्ण र तेस्रो नम्बरमा मन्दिप सुवेदीको नाम सिफारिस भएको हो । सिफारिस ३ जनामध्ये एक जनालाई मन्त्रिपरिषद् बैठकले कार्यकारी प्रमुख नियुक्त गर्नेछ । सम्भव त भट्ट नै कार्यकारी प्रमुख नियुक्त हुने सम्भावना बढी छ ।
यद्यपी पहिलो नम्बरमा सिफारिस भएका भट्ट मापदण्ड अनुसार अयोग्य ठहरिन्छन् । विपत् प्राधिकरणको कार्यकारी प्रमुखको उम्मेदवार बन्न राजनीतिक दल वा संगठनको सदस्यता नलिएको व्यक्ति हुनुपर्ने भए पनि नियुक्तिका लागि पहिलो नम्बरमा सिफारिस भएका भट्ट नेपाली कांग्रेसका महासमिति सदस्य हुन् ।
भट्ट २०७८ मा थापाथली इन्जिनियरिङ क्याम्पसमा प्राध्यापक रहेकै वेला काँग्रेसको १४औँ महाधिवेशनमा कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार थिए भने २०७४ को सालको निर्वाचनमा कांग्रेस बैतडीले प्रतिनिधिसभा सदस्य उम्मेदवारको सिफारिस गर्दा सूचीमा परेका थिए । त्यस्तै, उनी २०७३ मा काँग्रेस निकट तरुण दलको महासचिवमा पराजित भएका थिए ।
त्यस अघि उनी तरण दलको केन्द्रीय सदस्य एवम नेपाल विद्यार्थी संघको पनि केन्द्रीय सदस्य थिए । यतिमात्रै नभएर काँग्रेस निकट प्रजातान्त्रिक प्राध्यापक संघ, त्रिवी प्राध्यापक संघ र नेपाल प्राध्यापक संघको महाधिवेशन प्रतिनिधि तथा नेपाली काँग्रेस बैतडी काठमाडौं सम्पर्क समितिको अध्यक्ष पनि भइसकेका छन् ।
गत मंसिर १४ मा प्रकाशित प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि दरखास्त आह्वानसम्बन्धी सूचनाको योग्यता र सर्तको ‘घ’ नम्बर बुँदामा ‘राजनीतिक दल वा संगठनको सदस्यता नलिएका व्यक्ति उम्मेदवार हुन पाउने’ प्रावधान राखिएको छ ।
गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले गृहसचिव गोकर्णमणि दुवाडीको नेतृत्वमा कार्यकारी प्रमुख सिफारिस समिति गठन गरेको थियो । भट्टलाई गृहमन्त्री लेखकको जोडबलमा पहिलो नम्बरमा सिफारिस गरिएको हो भने कर्णलाई उपप्रधान एवम सहरी विकासमन्त्री प्रकाशमान सिंहको समर्थन रहेको छ । प्राधिकरणको कार्यकारी प्रमुख पाँच वर्षका लागि नियुक्त हुनेछन् ।
११ औँ नम्बरबाट भट्ट ६ नम्बरमा सारिए
सिफारिस समितिले गत पुस ९ मा योग्यता, तालिम र अनुभव बापतको अंकका आधारमा कार्यकारी प्रमुखका लागि आवेदन दिएका १६ प्रतिस्पर्धीको अंक सहितको नामावली सार्वजनिक गरेको थियो ।
सार्वजनिक सूचीमा भट्ट ११औँ नम्बरमा थिए । तर, चित्त नबुझेका उम्मेदवारले पेस गरेको निवेदन र कागजात मूल्यांकनबाट भन्दै सिफारिस समितिले दुई दिनमै भट्टको अंक २० बाट बढाउदैँ २२.५ पुर्याएर अर्को सूची सार्वजनिक गरेको थियो । दोस्रो पटक सूची प्रकाशति गर्दा भट्टको नाम १६ जनाको सूचीमा ११ औँ नम्बरबाट ६ नम्बरमा उक्लिएका थिए ।
४५ दिनको समयावधि पाएर गत मंसिर ६ मा गठन भएको थियो । तर भट्टलाई नै कार्यकारी प्रमुख बनाउनका लागि गत माघ ७ को मन्त्रिपरिषद् बैठकले समितिको म्याद ३५ दिन थपेको थियो । नभन्दै ११औँ नम्बरमा रहेका भट्ट माघ २९ मा सार्वजनिक भएको सूचीमा पाँचौँ नम्बरमा पर्याएका थिए ।
त्यसपछि व्यावसायिक कार्ययोजनाका आधारमा भन्दै शीर्ष पाँचको नामावली वर्णानुक्रमअनुसार सूची सार्वजनिक गरिएको थियो । जसमा भट्ट, धर्मराज उप्रेती, वसन्तराज अधिकारी, मन्दीप सुवेदी र सुमनराज कर्णको नाम शीर्ष पाँचमा सार्वजनिक भएको थियो । तर, माघ ३० मा भएको अन्तर्वार्तापछि सार्वजनिक भएको ३ जनाको नाममा भट्ट पहिलो नम्बरमा पुगेका छन् ।
गृहसचिव दुवाडी नेतृत्वको सिफारिस समितिमा पूर्वसचिव दीपक सुवेदी र प्राध्यापक रेश्मा श्रेष्ठ सदस्य रहेका छन् ।
कसको योग्यता के ?
प्राधिकरणको प्रमुख कार्यकारीका लागि पहिलो नम्बरमा सिफारिस भएका भट्ट दशरथचन्द–४ बैतडीका हुन् । जहाँ गृहमन्त्री रमेश लेखकको पुख्र्यौली घर पनि हो । उनी कांग्रेसको राजनीतिसँगै ललितपुरमा रहेको युनिभर्सल कलेजका संस्थापक सदस्य तथा सेयर सदस्य छन् । यसअघि त्यसै कलेजमा अध्यापन पनि गर्थे।
त्यसअघि उनी कांग्रेस केन्द्रीय सदस्यको निर्वाचनमा सहभागि हुदाँ थापाथली इन्जिनियरिङ कलेजमा प्राध्यापन गर्थे । पछिल्लोपटक टोखामा रहेको केआइटी कलेजमा प्राध्यापक रहेको अनुभव पेस गरेका छन् ।
विराटनगर–१०, मोरङ घर भएका सुमन कर्ण कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुदाँ २०७४ मा तत्कालीन पुनर्निर्माण प्राधिकरणअन्तर्गत विशेष बाढी पुनर्निर्माण आयोजना एकाइ गठन गरेर आयोजना प्रमुखका रूपमा नियुक्त भएका थिए । तर, पछि प्राधिरकरण खारेज भएसँगै उनको जागिर गएको थियो ।
यस्तै सुनिल स्मृति–२ रोल्पा स्थायी घर भएका मन्दीप सुवेदीको योग्यता पनि विपत् व्यवस्थापनसँग सम्बन्धित छैन । उनी जिओटेक्निकल इन्जिनियर हुन् भने युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेजमा शैक्षिक निर्देशकको अनुभव उल्लेख गरेका छन् । त्यस्तै, नेपाल इन्जिनियरिङ एसोसिएसनको कार्यकारी सदस्य र नेपाल जिओटेक्निकल सोसाइटीको महासचिवको अनुभव पनि उनीसँग रहेको आवेदनमा उल्लेख गरेका छन् ।