विद्युतीय व्यापार विधेयक संघीय संसदबाट सर्वसम्मत पारित, प्रमाणीकरण भएको ३१ औँ दिनदेखि लागू हुने – Nepal Press

विद्युतीय व्यापार विधेयक संघीय संसदबाट सर्वसम्मत पारित, प्रमाणीकरण भएको ३१ औँ दिनदेखि लागू हुने

काठमाडौं । विद्युतीय व्यापार विधेयक संघीय संसदबाट पारित भएको छ । राष्ट्रिय सभामा उत्पत्ति भएर प्रतिनिधि सभामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पेश गरेको उक्त विधेयक प्रतिनिधि सभाको मंगलबारको बैठकले सर्वसम्मत पारित भएको हो ।

राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक सम्बन्धी प्रतिवेदन, २०८१ प्रतिनिधि सभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिबाट गत माघ १३ मा पारित भएको थियो ।

उक्त विधेयक राष्ट्रिय सभाबाट भने १६ महिना अघि २०८० कात्तिक १६ मा पारित भएको थियो । विधेयक राष्ट्रिय सभामा २०८० असार २६ मा प्रस्तुत भएको थियो भने प्रस्तुत भएको २ दिनपछि असार २८ मा सामान्य छलफल भएको थियो । त्यसपछि राष्ट्रिय सभाले संसदीय समितिमा छलफलका लागि २०८० साउन ४ मा पठाएकोमा समितिले राष्ट्रिय सभामा २०८० असोज १६ मा प्रतिवेदन पेश गरेको थियो ।

विधेयक राष्ट्रिय सभाबाट उत्पत्ति भएकाले अब सभामुख देवराज घिमिरेबाट पमाणित भइसकेपछि पुन राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल समक्ष पठाइनेछ ।

राष्ट्रिय सभा अध्यक्षले प्रमाणित गरिसकेपछि प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पठाइनेछ । विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको ३१ औँ दिनदेखि लागू हुनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर