बर्दीमै टिकटक बनाउने र सामाजिक सञ्जालमा फोटो हाल्ने एपीएफका १२० कर्मचारीलाई कारवाही – Nepal Press

बर्दीमै टिकटक बनाउने र सामाजिक सञ्जालमा फोटो हाल्ने एपीएफका १२० कर्मचारीलाई कारवाही

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) ले संगठनको निर्देशनविपरीत सामाजिक सञ्जालमा सशस्त्र प्रहरीको पोशाक लगाई विभिन्न क्रियाकलापका तस्बिर तथा भिडिओ बनाई अपलोड गरेका १२० जनालाई विभागीय कारवाही गरेको छ ।

उनीहरूले एपीएफको बर्दी लगाई भिडिओ तथा तस्बिर खिची व्यक्तिगत प्रोफाइलमा रहेको फेसबुक, म्यासेन्जर, ट्वीटर (एक्स), इन्स्टाग्राम, टिकटक, यूट्युव, इमो, वीच्याटलगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाइएको एपीएफका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए ।

विभागीय कारवाही परेकाहरूमा सई ४ जना, असई ५ जना, वरिष्ठ हवल्दार ६ जना, हवल्दार ३ जना, सहायक हवल्दार ९ जना, जवान ९१ र परिचर २ रहेका छन् । उनीहरूलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाई बुझाई गरिएको बताइएको छ ।

प्रवक्ता न्यौपानेले सामाजिक सञ्जालमा अमर्यादित ढंगको तस्बिर तथा भिडिओ बनाई अपलोड गर्ने २८ जना कर्मचारीलाई विभागीय कारवाही गरी सोको विवरण खुलाएर पठाउन पनि निर्देशन दिइएको बताए । कारवाही निर्देशन दिइएकोमा असई ६ जना, सहायक हवल्दार १ जना र जवान २१ जना छन् ।

संगठनको नियम विपरीत कार्य गर्ने जुनसुकै दर्जाका कर्मचारीलाई नियमन गर्न एपीएफमा सामाजिक सञ्जाल अनुगमनसम्बन्धी शाखा स्थापना गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर