प्रधानमन्त्रीलाई नीता ढुंगानाको खुलापत्र- बिन्ती छ, देशको इज्जत बचाइदिनुस् – Nepal Press

प्रधानमन्त्रीलाई नीता ढुंगानाको खुलापत्र- बिन्ती छ, देशको इज्जत बचाइदिनुस्

काठमाडौं । नायिका नीता ढुंगानाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुलापत्र लेख्दै देशको इज्जत बचाइदिन अनुरोध गरेकी छन् । उनले आफ्ना सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै प्रधानमन्त्रीलाई नेपालको इज्जत जोगाइदिन र नेपाली जनताको भावना बुझिदिन अनुरोध गरेकी हुन् ।

भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआईआईटी)मा भएको प्रकृति लम्सालको घटना र सोही घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका प्रदर्शनरत नेपाली विद्यार्थीहरूमाथि गरिएको अत्याचारलाई मध्यनजर गर्दै नीताले खुलापत्र लेखेकी छन् ।

पत्रमा उनले लेखेकी छन्, ‘प्रिय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू । नमस्कार, म कलाकार नीता ढुंगाना । केही समय यतादेखि फोटो खिच्ने र फोटो खिचाउने कामबाहेक देशको उन्नति, प्रगति र देशमा के भइरहेको छ भन्ने हामीले हजुरको आफ्नो प्रोफाइलबाट केही देख्न पाएका छैनौं । कुनै समय हाम्रो देशको प्रधानमन्त्री केपी शर्मा ओलीज्यू जस्तै हुनुपर्छ भनेर ठाँटले भन्ने म आज दोधारमा छु ।’

नीताले आफ्नो मनमा धेरै प्रश्नहरु गडिएर बसेको बताउँदै ओलीलाई प्रश्न गरेकी छन्, ‘ममात्र होइन, जसले तपाईँलाई राम्रो सोच्ने तपाईंका प्रिय जनता छन्, उनीहरूको मनमा पनि धेरै प्रश्न गडिएर बसेका होलान् । खै, त्यो जोश ? खै त्यो जाँगर ? खै देशप्रति केही गर्छु भन्ने भावना ? खोइ त्यो दृढता ? आज देखिएको छैन प्रधानमन्त्री ज्यू ।’

नीताले पत्रमा राजनीतिका कुरा र नीतिबारे आफूहरुलाई थाहा नभएको पनि जनाएकी छन् । ‘हामीले देशको हित र नेपाली जनताको लागि तपाईँले बोलेका शब्दहरूमा विश्वास गर्ने हो । तपाईंले देखाएका सपनाहरूमा हामीले आफ्नो सपना देख्ने हो’, उनले भनेकी छन्, ‘तर यो विश्वास विश्वासमा मात्र सीमित रह्यो । सपनामा मात्र सीमित रह्यो । दुःख लाग्छ, हामीलाई प्रधानमन्त्री ज्यू !’

उनले भारतको ओडिसामा घटेको प्रकृति लम्सालको केशले आफूलाई दुखी तुल्याएको पनि बताएकी छन् । उनी लेख्छिन्, ‘भर्खरैमात्र भारतको एउटा विद्यालयमा एउटा नेपाली चेलीलाई हामीले गुमाउनुपर्‍यो । धेरै नेपाली विद्यार्थीलाई त्यहाँबाट कुटपिट गरेर निकालिएको छ । उक्त विश्वविद्यालय व्यवस्थापन समितिको अध्यक्षले नेपाली चेलीको न्यायको मागको अपहेलना गर्दै प्रतिकार गर्ने क्रममा यस विद्यालयको बजेट जति तिमीहरुको देश नेपालको राष्ट्रिय बजेट पनि छैन भनेर नेपालको बेइज्जत गरेकी रहिछन् ।’

उक्त विश्वविद्यालयले लगाएको आरोप यथार्थ भएको नीताको भनाइ छ । अन्तर्राष्ट्रिय मञ्चमा देशकै बेइज्जत भएको भन्दै उनले प्रधानमन्त्रीलाई आग्रह गर्दै लेखेकी छन्, ‘कहिलेसम्म यस्तै बेइज्जत हामीले खेपिरहनु पर्ने हो ? नेपालको यो हालत कसले बनायो ? विगत केही वर्षदेखि नेपालको शासक तपाईंहरू काङ्ग्रेस, एमाले, माओवादी हो, अब यो बेइज्जतको जिम्मेवारी तपाईंहरूले लिनुपर्ने कि नपर्ने ? बिन्ती छ, नेपालको इज्जत जोगाइदिनुस् । बिन्ती छ, नेपाली जनताको भावना बुझिदिनुस् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर