अध्यादेशकाे विपक्षमा भाेट हाल्ने नेकपा एसकाे निर्णय (भिडिओ)


काठमाडौं । नेकपा एकीकृत समावजवादीले सरकारले ल्याएको अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय आलोकनगरमा बसेको स्थायी कमिटी बैठक सरकारले ल्याएको अध्यादेशको प्रक्रिया र अन्तरवस्तु दुवै गलत भएकाले असहमति रहेको उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताए ।
उनले भने, ‘संसद अधिवेशनको संघारमा संसदलाई छलेर सरकारले विभिन्न अध्यादेशहरू जारी गरेको छ । संसदीय समितिमा छलफल भइरहेको विधेयकसमेत फिर्ता नलिई सरकारले संविधान, ऐन कानून, संसद नियमावली र स्थापित अभ्यासहरूसमेत मिचेर विद्येयक ल्याउनु प्रक्रियागत रूपमा नै गलत छ । अध्यादेशका अन्तरवस्तु पनि गलत र हानिकारक छन् ।’
अध्यादेशहरूबाट भू-माफिया, कालोबजारिया, राजस्व छली गर्ने व्यक्ति, बिचौलिया, भ्रष्टाचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने निषर्ष निकालेको उनले बताए ।
उनले थपे, ‘अध्यादेशको प्रक्रिया र अन्तरवस्तु दुबैमा हाम्रो पार्टीको असहमति र विरोध छ । त्यसैले हाम्रो पार्टीले संसदमा अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।’
राष्ट्रियसभामा अध्यादेश पारित गर्न निर्णायक उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोसपा भूमि अध्यादेशको विपक्षमा उभिएपछि सरकार अप्ठेरोमा परेको छ ।
अध्यादेश पारित गर्न सकस भइरहेको बेलामा सत्तारुढ दल कांग्रेस सभापति शेरबहादुर देउवाले अध्यादेशमा नेकपा एसलाई फकाउने प्रयास गरिरहेका छन् ।
सत्तापक्षले विकल्पको रुपमा राखेको नेकपा एसले पनि अध्यादेशको समर्थन गर्न नसक्ने जनाएको छ ।
आफू जन्मिएकाे त्यहि अध्यादेशबाट हाेईन ? अरुले बिराेध गरे पनि अध्यादेश बाट जन्मिएकाले त अध्यादेशकाे बिराेध नगर्नु नि । आमाकाे श्राप लाग्ला है ।