नेपालका दुई प्रहरी अधिकारी किट विश्वविद्यालयमा, अनुसन्धानमा समन्वय गर्न परराष्ट्रमन्त्रीको निर्देशन – Nepal Press

नेपालका दुई प्रहरी अधिकारी किट विश्वविद्यालयमा, अनुसन्धानमा समन्वय गर्न परराष्ट्रमन्त्रीको निर्देशन

काठमाडौं । नेपाली विद्यार्थीहरूलाई सघाउन दिल्लीस्थित नेपाली दूतावासले दुईजना प्रहरी किट विश्वविद्यालयमा पठाएको छ । एक नेपाली छात्राको मृत्यूपछि उत्पन्न परिस्थितिले समस्यामा परिरहेका नेपाली विद्यार्थीहरूलाई सहयोग गर्ने जिम्मेवारी दिएर उनीहरूलाई खटाइएको हो ।

परराष्ट्रमन्त्री आरजु राणाले दूतावासबाट नेपाल प्रहरीका दुई वरिष्ठ अधिकारी आज बिहानै विश्वविद्यालय पुगेको जानकारी दिएकी छन् । उनीहरूसँग आफ्नो फोनमा कुराकानी भएको र आफूले घटनाको अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीहरूसँग समन्वय गर्न निर्देशन दिएको राणाको भनाइ छ ।

‘नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली राजदूताबास नयाँ दिल्लीबाट नेपाल प्रहरीका दुइजना बरिष्ठ अधिकारी आज बिहानै विश्वविद्यालय पुग्नुभएको छ,’ उनले ट्वीटरमा लेखेकी छन्, ‘मैले उहाँहरूसँग फोनमा कुरा गरी घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न तथा नेपाली विद्यार्थीलाई आवश्यक सहयोग र होस्टलमा सुरक्षित रूपमा रहनका लागि विश्वविद्यालय प्रशासनसँग समन्वय गर्न निर्देशन दिएकी छु ।’

यस विषयमा नेपाली दूतावास दिल्लीले आवश्यक पहल गरिरहेको राणाले बताएकी छन् । हिजोको कूटनीतिक प्रयासपछि कलेजले विद्यार्थीहरूलाई होस्टेलमा फर्कन अपिल गरेको तथा नेपाली विद्यार्थीलाई दुव्र्यवहार गर्ने स्टाफलाई कारबाही गरिएको जानकारी पनि विश्वविद्यालयले सार्वजनिक सूचनामार्फत गराएको उनले स्मरण गरेकी छन् ।

‘यस विषयमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास दिल्लीले विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेका छन्,’ राणाले भनेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर