केआईआईटी प्रकरणः नेपाल र भारतका विद्यार्थी संगठनको एक स्वर
विद्यार्थी नेताहरू भन्छन्- हामी एक ठाउँ उभिएको पहिलो घटना हो

काठमाडौं । भारतको ओडिसा राज्यस्थित केआइआइटी कलेजमा नेपाली छात्रा प्रकृति लम्सालको आइतबार राती भएको मृत्यु प्रकरणलाई लिएर दुवै देशमा तरंग फैलिएको छ । घटनापछि कलेज प्रशासनले नेपाली विद्यार्थीहरूमाथि गरेको दुर्व्यवहारप्रति भारतभित्रै पनि धेरैले खेद व्यक्त गरिरहेका छन् ।
यो घटनाले नेपाल र भारतका विद्यार्थी संगठनहरूलाई पनि एउटै कित्तामा ल्याइदिएको छ, जुन आफैँमा दुर्लभ क्षण हो । घटनाको निष्पक्ष छानबिन गर्दै प्रकृतिलाई न्याय दिनुपर्ने मागसहित नेपालका विद्यार्थी संगठन सडकमै उत्रिएका छन् । भारतमा पनि त्यहाँका विद्यार्थी संगठनले प्रकृतिको न्यायका लागि आवाज बुलन्द गरिरहेका छन् ।
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु, नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघ तथा माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) लगायतका विद्यार्थी संगठनहरूले लम्सालको मृत्यु प्रकरणमा कडा शब्दमा विज्ञप्ति जारी गरे । अनेरास्ववियुले भारतीय दूतावास क्षेत्रमा पुगेर विरोध समेत गर्यो ।
उता भारतको सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) को मातृ संस्था भनेर व्याख्या गरिने राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) तथा प्रमुख प्रतिपक्षी भारतीय राष्ट्रिय कंग्रेसका विद्यार्थी संगठनहरूले मुख खोलेका छन् ।

आरएसएसनिकट विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषदले सोमबार नै एक विज्ञप्ति जारी गरेको थियो ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाली विद्यार्थीको मृत्युपछि आन्दोलनरत नेपाली विद्यार्थीहरूलाई विश्वविद्यालय प्रशासनले गरेको दमन खेदयोग्य छ । नेपाली विद्यार्थीलाई क्याम्पस खाली गर्न उर्दी गर्ने काम गैरकानूनी मात्रै होइन, यो मानव अधिकारको हनन् तथा नेपाल र भारत दुई देशको बलियो सम्बन्धलाई प्रभाव पार्ने कुरा हो ।’
अखिल भारतीय विद्यार्थी परिषदले प्रकृति लम्साल दुःखद मृत्युका बारेमा निष्पक्ष छानबिनको माग गरेको छ । विद्यार्थीहरूलाई निष्कासन गरेकै दिन केआईआईटीमा पुगेर अखिल भारतीय विद्यार्थी संगठनले प्रदर्शन समेत गरेको थियो । राष्ट्रिय महामन्त्री वीरेन्द्र सिंह सोलाङ्कीले सामाजिक संजालमा पटकपटक घटनाको विरोध गरेर पोस्ट गरेका थिए । विज्ञप्ति, सडकदेखि सामाजिक सञ्जाल सबै मोर्चामा अखिल भारतीय विद्यार्थी परिषदले सक्रियता देखाएको छ ।
भारतको संघीय सदनको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसको विद्यार्थी संगठनले पनि सोमबार घटनाको बिरोध गरेको थियो । नेसनल स्टुडेन्ट्स अफ इण्डियाका अध्यक्ष वरुण चौधरीले ओडिसाका मुख्यमन्त्री मोहनचरण माझीलाई संगठनको तर्फबाट एक पत्र लेखेर विरोध जनाए । चौधरीले लेखेको पत्रमा तीन मुद्दालाई केन्द्रमा राखिएको छः
१. प्रकृति लम्सालको मृत्यु प्रकरणको निष्पक्ष छानबिन तथा उनलाई दुर्व्यवहार गर्नेलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने ।
२. प्रदर्शनमा उत्रिएका विद्यार्थीलाई रंगभेद तथा विभेद गर्ने केआईआईटी प्रशासनविरुद्ध तत्काल कारवाही हुनुपर्ने ।
३. ओडिसाका शैक्षिक संस्थाहरूमा विदेशी विद्यार्थीहरूलाई हुने रंगभेदको पूर्ण अन्त्यको प्रत्याभूति गर्नुपर्ने ।
यस्तै कंग्रेसकै उडिसा प्रदेश छात्र कंग्रेसले पनि विज्ञप्ति जारी गरेर घटनाको विरोध गरेको छ । विज्ञप्तिमा मृतकका परिवारलाई समवेदना दिइएको छ भने प्रदर्शन गर्ने विद्यार्थीहरूलाई गरिएको दमनको कडा शब्दमा विरोध गरिएको छ ।
भारतका वामपन्थी विद्यार्थी संगठनहरूले पनि घटनाको निन्दा गरेका छन् । अखिल भारतीय विद्यार्थी फेडेरेसन ओडिया स्टेट काउन्सिलको प्रेस विज्ञप्तिले पाँच माग राखेको छ । ती माग यस्ता छन्ः
१. विद्यार्थी आत्महत्याको छानबिन गर्न उच्चस्तरीय आयोग गठन हुनुपर्ने ।
२. विभेद र दुर्व्यवहार गर्ने विरुद्ध कडा कानूनी कारवाही हुनुपर्ने ।
३. ओडिसाका नेपाली तथा सबै विदेशी विद्यार्थीहरूको सुरक्षा हुनुपर्ने ।
४. विश्वविद्यालयमा हुने विद्यार्थीका गुनासो सुन्ने र सुनुवाइ गर्ने स्वतन्त्र निकाय गठन हुनुपर्ने ।
५. ओडिसाको शिक्षा क्षेत्रमा राष्ट्रियताको आधारमा हुने विभेदको अन्त्य गर्न सरकारले प्रत्याभूति गर्नुपर्ने ।
यस्तै वामपन्थी खेमाकै अर्को विद्यार्थी संगठन अल इण्डिया स्टुडेन्ट्स एसोसिएसनको केन्द्रीय समितिले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरेर घटनाको भर्त्सना गरेको छ । विज्ञप्तिमा प्रहरी-प्रशासनको व्यवहारको आलोचना गरिएको छ । विज्ञप्तिमा प्रदर्शन गरिरहेका नेपाली विद्यार्थीहरूको लागि ऐक्यवद्धता जनाउनेदेखि घटनाको निस्पक्ष छानबिन गर्न जोडदार माग गरिएको छ ।
के भन्छन् नेपालका विद्यार्थी संगठनका नेताहरू?
नेपालको विद्यार्थी आन्दोलन र भारतको विद्यार्थी आन्दोलन एकै मुद्दामा जोडिएको एक दुर्लभ घटनाको रुपमा यसलाई लिन सकिने भनेर कतिपय जानकारहरूले भन्न थालेका छन् । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा नेपाल र भारतका विद्यार्थी संगठनहरू एकै ठाउँ उभिएको यही पहिलो उदाहरण भएको बताए ।

नेपाल प्रेससँग शेर्पाले आफूहरू अहिले पनि भारतका विद्यार्थी नेताहरूसँग सम्पर्कमा भएको भन्दै आज पाँच अरु विश्वविद्यालयका विद्यार्थीहरूले विज्ञप्ति जारी गरेर ऐक्वबद्धता जनाउने सुनाए ।
उनले भने, ‘पीडित विद्यार्थी, नेपाली कूटनीतिक अधिकारी र भारतीय विद्यार्थीसँग समन्वय भइरहेको छ ।’
अनेरास्ववियुका अध्यक्ष समिक बडालले आफूहरूसँग भारतका सत्ताधारी तथा विपक्षी सबै विद्यार्थीहरूसँग समन्वय भएको बताउँछन् । भारतीय विद्यार्थीहरूले नेपाली विद्यार्थीको मुद्दामा उठाएको आवाजमा नेपालका विद्यार्थी संगठनको पनि भूमिका भएको बडालको दाबी छ ।

उनी भन्छन्, ‘मेरो जानकारीमा भएसम्म नेपाल र भारतका विद्यार्थी संगठनहरूले एकै मुद्दामा एकै स्वर भएर आन्दोलित भएको यही पहिलो उदाहरण हो ।’
भारतका वामपन्थी तथा गैरवामपन्थी विद्यार्थीहरूको संगठनबाट विरोध आउनुमा आफू जोडिएको दक्षिण एसियाली विद्यार्थीहरूको साझा मञ्चले पनि भूमिका खेलेको बडालले बताए ।
उनले भने, ‘भारतीय विद्यार्थीहरूको कार्यक्रममा हामी जाने र हाम्रोमा भारतीय विद्यार्थीहरू आउने त हुन्थ्यो । तर, आन्दोलनै एकै मुद्दामा भएको चाहीँ यही पहिलो अनुभव हो ।’
अखिल (क्रान्तिकारी) की केन्द्रीय उपाध्यक्ष ममता अधिकारी भारतका विद्यार्थीहरूले नेपाली विद्यार्थीहरूको पक्षमा आन्दोलन गर्नु सामान्य भएको बताउँछिन् ।
उनले भनिन्, ‘नेपालमै अध्ययन गर्ने भारतीय विद्यार्थीहरूमाथि यस्तो केही गरिएको भए हामी बोल्थ्यौं । यो मुद्दामा त नेपाल र भारतका विद्यार्थी संगठनहरू मात्रै होइन विश्वभरका विद्यार्थी संगठनले पनि बोल्नुपर्ने हो ।’

अधिकारीले नेपाल र भारतका विद्यार्थीहरूले साझा मुद्दामा एकै आवाज निकालेको उदाहरणले भविष्यमा हुने कुनै सकारात्मक मुद्दाको संयुक्त आन्दोलन गर्नुपरेको खण्डमा सहज हुने बताइन् ।
हेर्नुहोस् यस घटनालाई लिएर नेपाल र भारतका विद्यार्थी संगठनहरुको धारणा