इलामका अलपत्र योजनामा सुहाङको चासो, सदनमा गरे पहल र दबाबको माग (भिडिओ)


काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले विकासे काममा भइरहेको ढिलासुस्ती र नागरिकले भोगिरहेका समस्याबारे सदनमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् । इलाम क्षेत्र नम्बर २ का सांसद नेम्वाङले आफ्नो निर्वाचन क्षेत्रका अलपत्र परेका आयोजनाको अवस्था पनि अवगत् गराए ।
आज प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सुशासनको कमजोरीका कारण विकास निर्माणका कामले पूर्णता पाउन नसकिरहेको गुनासो गरे ।
मेची राजमार्गअन्तर्गतको राज दुवालीको बाटो, केचना कञ्चनजंगा सडक, दमक-चिसापानी, नेपालटार-मंगलबारेलगायत थुप्रै बाटा र पुल अलपत्र अवस्थामा रहेको भन्दै काममा गति दिलाउन नेम्वाङले जोड दिए ।
उनको प्रश्न थियो, ‘समयमा बजेट पर्दा पनि , ठेक्का लाग्दा पनि कामले पूर्णता किन पाइरहेको छैन ?’
सम्बन्धित निकाय र ठेकेदारहरूलाई समयमै काम सक्न पहल र कडाइका साथ दबाबका लागि उनले माग गरे ।