प्रदेश प्रहरीद्वारा रिंकुको आत्महत्याबारे अनुसन्धान सुरु, छानविन समिति घटनास्थल पुग्यो


जनकपुरधाम । सिरहाको नवराजपुर गाउँपालिका १ भगवतीपुरकी १७ वर्षीया रिंकु सदायकाे आत्महत्याका विषयमा प्रदेश प्रहरीले अनुसन्धान थालेको छ । मधेस प्रदेश प्रहरी कार्यालयले समिति गठन गरेर अनुसन्धान अघि बढाएकाे हाे ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको छ। समितिमा प्रहरी निरीक्षक तथा मुद्दा शाखाका कर्मचारी सदस्य छन् ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं सूचनाअधिकारी समेत रहेका कोइराला नेतृत्वको छानबिन टोली आज घटनास्थल पुगेको छ ।
उनका अनुसार मृतकको काका राम सेवक सदायले दिएको किटानी जाहेरीपछि इलाका प्रहरी कार्यालय लहानले आत्महत्या दुरुत्साहनमा अनुसन्धान अघि बढाएको छ ।
गत माघ ३० मा रिंकु घरमै झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । तीन युवकले सामूहिक बलात्कार गरेको कारण छोरीले आत्महत्या गरेको आमाको भनाइ छ ।
यो पनि पढ्नुहोस्- पञ्चायतको धम्कीपछि सिरहामा सामूहिक बलात्कृत किशोरीद्वारा आत्महत्या !
स्थानीयले पञ्चायतमार्फत् पीडित परिवारलाई घटना लुकाउन दबाब दिएको थियो । बलात्कृत किशोरी मृत फेला परेपछि मुद्दा कमजोर पार्न प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दा चलाएको गुनासोपछि प्रदेश प्रहरी कार्यालयले छानबिन समिति बनाएको हो ।