कसले पाउला देउवाको ‘तालाचाबी’ ? उत्तराधिकारीमा संस्थापनबाट ६ नेताको दाबी

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन कम्तीमा २ वर्षअघि नहुने लगभग निश्चित छ । सभापति शेरबहादुर देउवा निकट नेताहरू शशांक कोइराला र डा.प्रकाशशरण महतले २०८४ को चुनावपछि मात्रै महाधिवेशन हुने बताइसकेका छन् ।
कांग्रेस विधानले देउवालाई महाधिवेशन एक वर्ष धकेल्ने सुविधा दिएको छ । त्यो सुविधा प्रयोग गर्दा २०८३ मङ्सिरसम्म धकेलिन्छ । कुनै संकटको अवस्था आउँदा ६ महिना धकेलिने सुविधा पनि रहनेछ भने यसबीचमा देउवाले कुनै एउटा निर्वाचन आयोगमा दर्ता भएको दलसँग पार्टी एकता गरेको भनेर २०८४ को टिकट बाँड्ने बेलासम्म पार्टीको तालाचाबी आफ्नै हातमा राख्ने तयारी छ ।
त्यसो भए देउवाले आफ्नो हातको तालाचाबी २०८४ पछि कसलाई बुझाउनेछन् ? यो प्रश्न कांग्रेसभित्रैबाट उठेपछि गिरिजाप्रसाद कोइरालाको पालादेखि नै देउवालाई साथ दिँदै आएका संस्थापन पक्षका ११ भाइ गत शुक्रबार एकजुट भएर बुढानीलकण्ठ पुगे । उनीहरूले यही प्रश्न राखे– तपाईंको हातको तालाचाबी कसलाई दिने हो ?
कांग्रेसमा महाधिवेशनको तयारी कसैलाई लागेको छ भने डा.शेखर कोइरालालाई हो । १४औं महाधिवेशनमा देउवासँग पराजित कोइरालाले आफूलाई भावी सभापतिका रुपमा उभ्याएर देश दौडाहा गरिरहेका छन् । गत साता एक कार्यक्रममा सुजाता कोइरालाले अबको सभापति र प्रधानमन्त्री कांग्रेसबाट शेखर कोइराला नै भएको घोषणासमेत गरिन् ।
शेखरले घोषित तयारी गरिरहँदा अघोषित तथा संगठित र योजनासहितको तयारी गगन थापाको पनि छ । महामन्त्रीको भूमिकाका रहेका कारण एकातिर उनी सभापतिसहित पार्टीका संस्थागत प्लेटफर्महरूबाट महाधिवेशनको तयारी गरिरहेका छन् । अर्कोतर्फ उनले आफ्नो टीममार्फत भावी सभापतिको तयारी गरिरहेका छन् र गगन सभापतिको उम्मेदवार बन्नेमा द्विविधा छैन ।
यस्तोमा संस्थापन पक्षका नेताहरूले देउवासमक्ष उत्तराधिकारीको दाबी गर्नुको मुख्य कारण चाहिँ के हो भने देउवाले गगन थापा वा शेखर कोइरालामध्ये एकलाई सभापति उम्मेदवार बनाएर आरजुलाई उपसभापति वा महामन्त्री सुनिश्चित गर्ने र त्यसपछिको कार्य समिति पनि आफ्नो बहुमतमा राख्ने पो हुन् कि भन्ने छ ।
अझ पछिल्लो समय देउवाले गगनलाई साथ दिने आशंकाले कतिपय संस्थापनका नेताहरू शेखरसँग संवादमा समेत जुटेका छन् । विशेषगरी एनपी साउद, मोहन बस्नेतलगायतका नेताहरू गगनलाई नेता मान्न तयार छैनन्, त्यस्तो अवस्थामा उनीहरू शेखरतिर लाग्ने निश्चित छ ।
११ भाइको सांकेतिक सन्देश
शुक्रबार बुढानीलकण्ठ पुगेका नेताहरूले आफूहरू एकै ठाउँमा रहेको सन्देश दिँदै आगामी नेतृत्व आफूहरूभित्रैबाट तोक्न दबाब दिए, तर निवासमै आइपुगेका नेताहरूको कुरा देउवाले सुने, धेरै बोलेनन् ।
त्यतिमात्रै होइन, देउवाले १५औं महाधिवेशन कहिले गर्ने भन्ने पनि आफू निकट नेताहरूसँग पनि मुख खोलेका छैनन् । बरु त्यसलगत्तै प्रवक्ता महतले महाधिवेशन २०८४ को चुनावपछि हुने बताए ।
देउवाको आशीर्वादका लागि बुढानीलकण्ठ पुग्नेहरूमा उपसभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, शशांक कोइराला, गोपालमान सिंह, विजय गच्छदार, बालकृष्ण खाण, प्रकाशशरण महत, एनपी साउदलगायत थिए ।
देउवासँग भेटेपछि प्रवक्तासमेत रहेका महतले नेपाल प्रेससँग भनेका थिए, ‘हामीले तपाईंसँगै जोडिएकाहरूबाट नेतृत्व आउँछ । को हुन्छ सल्लाह गर्छौँ भनेका छौं । उहाँले हुन्छ तपाईँहरू मिलाएर अघि बढ्नुस् भन्नुभएको छ ।’
देउवा अब नेतृत्वमा नआउने भएपछि संस्थापन पक्षका नेताहरू तितरबितर भएको चर्चा चल्न थालेकाले एकै ठाउँमा रहेको सन्देश दिन आफूहरू बुढानीलकण्ठ पुगेको नेता गोपालमान श्रेष्ठले बताए ।
उनले आगामी महाधिवेशन आफूहरूभित्रैबाट आउने दाबी गरे । देउवाले उत्तराधिकारी महामन्त्री गगन थापालाई तोक्ने भएको चर्चामा कुनै सत्यता नभएको जिकिर गरे । यद्यपि गोपालमान राष्ट्रियसभामा जान नपाएपछि देउवा छाडेर शेखरतिर नजिक भइसकेका पनि थिए ।
नियमित समयमा महाधिवेशन गर्दा २०८२ मङ्सिरभित्र भइसक्नु पर्छ, तर पार्टीको विधानअनुसार थप एक वर्ष लम्ब्याउन सक्ने प्रावधान छ । त्यसमा संविधानलाई टेकेर ६ महिना पर धकेल्न सक्ने सुविधा देउवालाई छ, तर २०८४ को चुनावअघि प्रधानमन्त्री भएपछि चुनाव गराउने कि चुनावपछि भन्नेमा अहिलेसम्म देउवाले मुख खोलेका छैनन् ।
त्यसबारे महतले भने, ‘अहिले पनि ४ वर्षको अवधि पूरा हुन झन्डै एक वर्ष त बाँकी नै छ । एक वर्ष थप्ने प्रचलन नै भएको छ । त्योभन्दा अघि त हाम्रो अधिवेशन गर्ने तयारी पनि पुगेको छैन । कम्तीमा पनि दुई वर्ष त अहिले नै छ । त्यसैले अहिले नै २०८४ को चुनाव अघि हुन्छ कि पछि भन्ने कुरा भन्न सकिँदैन ।’
उनले महाधिवेशनको मिति तय नभई अहिले नै अहिलेदेखि नै नेतृत्वको दौड लगाउनुको अर्थ नभएको बताए ।
उत्तराधिकारीमा आधा दर्जन नेताको दाबी
उनीमात्रै होइन, प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पनि सभापतिले अहिलेसम्म उत्तराधिकारीबारे मुख नखोलेको बताए ।
उनले भने, ‘अहिलेसम्म उत्तराधिकारीको विषयमा सभापतिले केही भन्नुभएको छैन । महाधिवेशनको मिति तोकिएपछि केही सिनारियो देखिएला, तर महाधिवेशनको मिति तय नभएसम्म यसै भन्न सकिँदैन । सभापतिले बोल्नुहुन्छ जस्तो पनि लाग्दैन ।’
शुक्रबार आफू निकटका नेताहरूसँग पनि समय आएपछि उत्तराधिकारीबारे बोल्ने जवाफ दिएको उनले सुनाए ।
उनले थपे, ‘शुक्रबार संस्थापन पक्षका नेताहरूले सामूहिक रुपमा उहाँहरूले आफ्नो हैसियतअनुसारको आशीर्वाद चाहियो भनेर जानुभएको हो । उहाँले बेला भएपछि बोल्छु, अहिले बोल्दिनँ भन्नुभयो ।’
अहिले कांग्रेसमा देउवाको आशीर्वाद पाउने दौडमा उपसभापति पूर्णबहादुर खड्का, १३औं महाधिवेशनमा सभापति उम्मेदवार भएर देउवालाई सघाएका पूर्वमहामन्त्रीसमेत रहेका कृष्णप्रसाद सिटौला, १४औं महाधिवेशनमा सभापति उम्मेदवार भएर देउवालाई सघाएका पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र विमलेन्द्र निधि, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री शशांक कोइराला रहेका छन् ।
यीमध्येबाट पनि कोइराला, निधि र सिंह बेग्लै बसेर १४औं महाधिवेशनदेखि नै मोर्चाबन्दी प्रयास गरिरहेका थिए । अहिले महाधिवेशनको चर्चा पनि पनि दुई पटक तीन नेताहरूबीच वार्ता भइसक्यो, तर कुनै निचोडमा पुग्न सकेको छैन ।
यता इतर पक्षका नेता डा. शेखर कोइरालाले पनि महाधिवेशन गराउन दबाब बढाउँदै नेतृत्वका तयारी गर्दै देश दौडाहमा लाग्दा महामन्त्री गगन थापासँग सम्बन्ध चिसिएको चर्चा छ ।
थापा पनि आफैं सभापति बन्ने दौडमा छन् । उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेलसहित युवा पुस्ताको साथ रहेको बताइन्छ । सभापतिसँग नजिकिँएको चर्चापछि संस्थापन पक्षका नेताहरूको मोर्चाबन्दीपछि पछिल्लो समय आफू १५औं महाधिवेशनसम्म शेखर समूहमा रहेको बताउन थालेका छन् ।
●●●
‘देउवाले तोकेको उत्तराधिकारीले अर्थ राख्दैन’
राजनीतिक विश्लेषक सुदर्शन आचार्य देउवाले तोकेको उत्तराधिकारीले अर्थ नराख्ने टिप्पणी गर्छन् । उनले बुढानीलकण्ठ पुगेका ११ भाइबाट देउवाले उत्तराधिकारी तोक्ने सम्भावना कम रहेको जिकिर गरे ।
उनको भनाइ जस्ताको तस्तै
राजनीतिक पार्टीमा उत्तराधिकारी तोक्ने कुरा कतिको सन्दर्भिकता होला ! नेपाल जस्तो मुलुकमा राजनीतिमा भूराजनीतिक, नेपालको वामपन्थीहरूको बेगलाई रोक्नसक्ने नयाँ उदाएकाहरूको पछि लाग्ने जनमतलाई समेत समेटेर कांग्रेसमा जबरजस्त रुपमा उमेर र विचारले नयाँ नेतृत्व जन्मिन जरुरी छ । त्यसरी जन्मिने नेतृत्वले नै कांग्रेसपछि मुलुकलाई पनि हाँक्नसक्छ ।
यतिबेला कांग्रेस, एमाले र माओवादी जस्ता राजनीतिक दललाई परम्परागत राजनीतिक दल र यिनीहरूले केही पनि गर्न सक्दैनन् भन्ने भाष्य बनिरहेको बेलामा ७० कटेकाहरू एकै ठाउँमा बसेर हामीमध्येबाट को भनेर तोकिएको उत्तराधिकारीले राजनीतिमा त्यति ठूलो अर्थ राख्दैन ।
त्यसैले आजको मितिमा वामपन्थी वेग र युवा विद्यार्थी तरुणको शक्तिले समाजलाई जुन खालको परिकल्पना गरेको छ, त्यो परिकल्पना गरेको समाजको नेतृत्व गर्नसक्ने व्यक्ति कांग्रेसभित्र चाहिन्छ । त्यो खालको नेतृत्व देउवाले रुचाउनुभयो भने उपयुक्त होला । नत्र नेतृत्व समय र आन्दोलनले जबरजस्त जन्माउँछ, त्यसैले कसैको आशीर्वादले अबको नेतृत्व त भनेको भरमा अबको राजनीति टिक्दैन । शुक्रबार संस्थापक्षका ११ भाइले हामी एकै ठाउँमा छौं भन्नुभयो, तर आज कांग्रेसलाई संस्थापनमात्रै होइन, इतर पक्षलाई पनि एक बनाउने नेतृत्व चाहिन्छ । उहाँहरूले देउवाको छत्रछायाँमा छौं भन्नुले ठूलो अर्थ राख्दैन ।
हामीमध्येबाट कसैलाई तोक्नुस्, हामी एकै ठाउँमा छौं भन्नुभन्दा पनि सबै पक्षलाई समेटेर कांग्रेसभित्र अभिभावकीय भूमिका खेल्न सक्नुपर्थ्यो । उहाँहरू जसरी जानुभयो, त्यसले कांग्रेसभित्र विभाजन छ, विभाजनको रेखा कोरियो भन्नेहरूका लागि मलजल पुगेको छ ।
नेतृत्वमा शक्तिसँग सम्झौता हुने हो । त्यसैले ११ भाइमध्ये कसैले सबैलाई आफ्नो विचार र कार्ययोजनाले कन्भिन्स गराउन सक्नुभयो भने त उहाँहरूबाटै नेतृत्व होला, नभए कांग्रेसमात्रै होइन, देशलाई नै ड्राइभ गर्नसक्ने ल्याकत राख्नुभएन भने देउवाले कसैलाई तोकेरमात्रै हुँदैन ।
उहाँहरूमध्येबाट कसैले पनि पार्टी नेतृत्व चलाउनसक्ने शक्ति निर्माण गरिसक्नु भएको छ भन्ने मलाई लाग्दैन । त्यसैले पार्टी सभापतिले पनि उत्तराधिकारी तोक्दा ११ भाइमध्येबाट तोक्ने सम्भावना आजको मितिमा कम देख्छु ।
●●●
कांग्रेसमा अहिले नै देउवाको उत्तराधिकारी खोज्नु लगभग औचित्यहीन छ । किनभने कांग्रेसका गुट र समूहहरू स्थायी छैनन् । एउटा महाधिवेशनमा एक नेताका पक्षमा उभिएको व्यक्ति अर्को महाधिवेशनमा पुग्दा अर्कोतिर लागिसकेको हुन्छ ।
अहिले जजसले देउवाको उत्तराधिकारीका रुपमा दाबी गरे पनि यदि साँच्चिकै देउवाको समूहबाटै सभापतिको अलग उम्मेदवार बन्ने हो भने शशांक कोइरालाको सम्भावना अधिक हुनेछ । बीपीको छोरामात्र नभएर सधैं साथ दिएको हिसाबले र कोइरालाको नासो कोइराला परिवारमै हस्तान्तरण गर्ने अवसर देउवाले शशांकमार्फत प्राप्त गर्नेछन् ।
शशांकपछिको सम्भावित उम्मेदवार पूर्णबहादुर खड्का हुन् । खड्का कृृष्णप्रसाद भट्टराईकै पालादेखि टीम नछाडेका र काण्डमा नपरेका नेता हुन्, तर पूर्णबहादुरसँग गुट चलाउने क्षमतासमेत नभएको आरोप लाग्नेछ । गुट नचलाउनेले पार्टी कसरी चलाउँछन् भन्ने व्यङ्ग्य उनको मामिलामा हुने गर्छ । विमलेन्द्र निधि र प्रकाशमान सिंहको लिगेसी छ, तर उनीहरूले देउवा गुटको सभापति उम्मेदवार बन्ने विश्वास देउवाबाटै आर्जन गर्न सकेका छन् कि छैनन् भन्ने प्रश्न उठ्ने गरेको छ ।
त्यसो त देउवाले आफूसँग प्रतिस्पर्धा गरेकादेखि आफूलाई साथ दिएका सिनियर नेताहरूको पालैपालो व्यवस्थापन गरिरहेका छन् । रामचन्द्र पौडेललाई राष्ट्रपति, कृष्ण सिटौलालाई राष्ट्रियसभा अध्यक्ष बनाउने उद्देश्यले मौका दिएकोदेखि प्रकाशमान सिंहलाई उपप्रधानमन्त्री बनाइसकेका छन् । अब उनले न्याय गर्न बाँकी शशांकलाई छ ।