वाइवाइको पहिलो फ्याक्ट्री सिजी आईपीमा स्थानान्तरण – Nepal Press

वाइवाइको पहिलो फ्याक्ट्री सिजी आईपीमा स्थानान्तरण

काठमाडौं । नेपालको तयारी चाउचाउ ब्रान्ड वाइवाइको पहिलो उत्पादन केन्द्र स्थानान्तरण गरिएको छ । ललितपुरको भैंसेपाटीमा चार दशकदेखि सञ्चालनमा रहेको यो फ्याक्ट्री अब नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्क (सिजिआईपी) मा सारिएको छ ।

वाइवाइका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीका अनुसार स्थानान्तरणको सम्पूर्ण प्रक्रिया श्रमिकको ससम्मान व्यवस्थापन र अन्य सरोकारवाला बीच आपसी समझदारी र लिखित सहमतिमा सम्पन्न गरिएको हो ।

सन् १९८४ मा स्थापना भएको भैंसेपाटीको वाइवाइ फ्याक्ट्री नेपालको तयारी चाउचाउ उत्पादन केन्द्रहरू मध्ये एक हो । स्थापना भएको समयमा भैंसेपाटी खुला क्षेत्र थियो । जहाँ औद्योगिक गतिविधि सहज रूपमा सञ्चालन गर्न सकिन्थ्यो ।

समय क्रमसँगै यो क्षेत्र उच्च जनघनत्व भएको आवासीय क्षेत्रमा परिणत भयो । जसले औद्योगिक उत्पादनलाई निरन्तरता दिन कठिन भएर फ्याक्ट्रीलाई स्थानान्तरण भएको पुडासैनीले बताए ।

साथै, केही समयदेखि स्थानीय बासिन्दा तथा सामाजिक क्षेत्रबाट वातावरणीय प्रदूषण, ध्वनि प्रदूषण, तथा औद्योगिक गतिविधिहरूको प्रभाव सम्बन्धी चिन्ताहरू पनि प्रकट भएका थिए । यी सरोकारहरूलाई गम्भीर रूपमा लिँदै र वातावरणीय सन्तुलन कायम राख्ने प्रतिबद्धताका साथ वाइवाइ व्यवस्थापनले स्थानान्तरणको निर्णय लिएको हो ।

फ्याक्ट्री स्थानान्तरणका क्रममा कुनै पनि श्रमिकलाई असहज स्थिति नहोस् भन्ने उद्देश्यले कम्पनीले विशेष प्रोत्साहन प्याकेजको व्यवस्था गरेको थियो । साथै, इच्छुक कर्मचारीहरूका लागि वाइवाइका काठमाडौंबाहिर रहेका अन्य प्लान्ट तथा अफिसहरूमा स्थानान्तरणको अवसर खुला गरिएको छ ।

नवलपरासीमा स्थानान्तरण भएको नयाँ फ्याक्ट्री अत्याधुनिक प्रविधियुक्त उत्पादन प्रणालीमा अपग्रेड गरी सञ्चालनमा ल्याइएको छ । चौधरी ग्रुपले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक उत्पादन सुनिश्चित गर्न प्रविधिमा थप लगानी गरिरहेको छ ।

यो स्थानान्तरणले वाइवाइ ब्रान्डलाई अझ विस्तार गर्न, उत्पादन क्षमतामा वृद्धि गर्न तथा गुणस्तरमा सुधार ल्याउन टेवा पुग्ने कम्पनीको विश्वास छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर