जनताको कामको लागि जेल जान पनि तयार छु : मुख्यमन्त्री शाह
'काम गर्न सहज नभए मन्त्री राज्यमन्त्रीले राजीनामा दिए हुन्छ, कर्मचारीले सरुवा लिए हुन्छ'


कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सरकारमा सहभागी मन्त्री राज्यमन्त्री र कर्मचारीलाई प्रभावकारी काम गर्न निर्देशन दिएका छन्।
२०८१/०८२ को अर्ध-वार्षिक समीक्षा गोष्ठी कार्यक्रममा मुख्यमन्त्री शाहले जनताले सरकारबाट आसा गरेको अनुसारको प्रतिफल पाउनुपर्ने भन्दै त्यसका गम्भीर हुन् सबैलाई भनेका थिए।
‘मन्त्री राज्यमन्त्रीलाई असहज छ भने राजीनामा दिए हुन्छ, कर्मचारीहरूलाई असहजता महसुस भएको छ भने सरुवा लिएर गए हुन्छ, तर सुशासन र डेलिभरी दिने कुरामा कसैसँग सम्झौता हुँदैन‘ मुख्यमन्त्री शाहले भने ‘जनताका कामहरू सहज रूपमा हुने वातावरण निर्माण गर्न सक्नु पर्छ, हैन भने विभिन्न किसिमका तर्क दिएर कार्यान्वयन लाई बल्झाउने काम कसैले नगर्दिनु होला ।’
सुदूरपश्चिम प्रदेश सरकार आर्थिक मामिला मन्त्रालय र नीति तथा योजना आयोग धनगढी कैलालीद्वारा आयोजित आर्थिक कार्यक्रममा मुख्यमन्त्री शाहले जनताको कामको लागि जेल जान पनि तयार रहेको बताएका थिए।
बजेट तयार गर्ने विषयमा प्रदेश सभा सदस्यहरूसँग घनीभूत छलफल गरिरहेको र गरिरहने भन्दै उनले सांसद्हरुको भूमिका स्पष्ट हुनुपर्नेमा जोड दिएका थिए। बजेटलाई जनमुखी बनाउन कर्मचारीहरूलाई मुख्यमन्त्री शाहले निर्देशन दिएका थिए।
‘बजेटलाई जनतामुखी उत्पादनमुखी बनाउने प्रष्ट खाका लिएर आउनु होला सचिवज्यूहरुलाई मेरो निर्देशन छ’ उनले कार्यक्रममा भनेका थिए ।
विधि र मापदण्डमा रहेर बजेट तयार गरीको भन्दै आगामी दिनमा पनि सुशासन कायम हुने गरी बजेट बनाउने र कार्यान्वयन गर्ने उनको दाबी थियो।
कर्मचारी अभाव देखाउँदै काममा ढिलासुस्ती वा लापरबाही नगर्न पनि मुख्यमन्त्री शाहको कर्मचारीहरूलाई निर्देशन दिएका थिए ।
‘कार्यसम्पादन कम हुनु कर्मचारीको अभाव भन्ने धेरै सुनिन्छ अहिले भएको कर्मचारीले सही रूपमा काम गरे इमानदारिता पूर्वक भूमिका निर्वाह गरे धेरै काम गर्न सकिने मैले देखेको छु’ मुख्यमन्त्री शाहले भनेका थिए।
महत्त्वपूर्ण विषयवस्तुको सम्बोधन द्रुतमार्गबाट हुनेमा सबैलाई विश्वस्त परेका थिए।
मुख्यमन्त्री शाहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पुर्वमुख्यमन्त्री राजेन्द्रसिह रावल,प्रदेश सरकारका सम्पूर्ण मन्त्री, राज्यमन्त्र, प्रदेश सभा सदस्य प्रमुख सचिव, सम्पूर्ण मन्त्रालयका सचिव लगायत मन्त्रालय अन्तरगतका निर्देशनालयका प्रमुखहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा मन्त्रालयका सचिवहरूले मन्त्रालयको प्रगति समीक्षा प्रस्तुत गरेका थिए भने थियो मुख्यमन्त्री शाहले अझै प्रभावकारी ढङ्गले काम गर्न निर्देशन दिएका थिए।