गोरु तस्करी प्रकरण : रातोमाटे चौकी इन्चार्जसहित तीनजना प्रहरीलाई जिम्मेवारीबाट हटाइयो – Nepal Press

गोरु तस्करी प्रकरण : रातोमाटे चौकी इन्चार्जसहित तीनजना प्रहरीलाई जिम्मेवारीबाट हटाइयो

हेटौँडा । अवैध ढंगबाट ल्याइएको गोरुलाई नाका कटाइदिएको आरोप लागेका हेटौँडा–१५ रातोमाटे चौकीका इन्चार्ज सहित ३ जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिम्मेवारीबाट हटाएको छ ।

गोरु तस्करी प्रकरणमा रातोमाटे चौकीका इन्चार्ज कुमार फुयाँलसहित ३ जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिम्मेवारीबाट हटाएको हो ।

कार्यालयले चौकी इन्चार्ज फुयाँल सहित प्रहरी सहायक हवलदार विपिन कुशवाह र प्रहरी जवान केशर शाहीलाई जिम्मेवारीबाट हटाइएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख विश्वराज खड्काले तस्करीलाई सहयोग गरेको सार्वजनिक आरोप पछि छानबिनको लागि उनीहरूलाई तत्कालको जिम्मेवारीबाट हटाइएको बताए ।

गत आइतबार राती फुयाँल सहित ड्युटीमा रहेका प्रहरी जिल्ला पशुसेवा कार्यालय मकवानपुरको आग्रहलाई बेवास्ता गर्दै अवैध ढंगबाट झापा लगिँदै गरिएको गोरु सहितको ट्रकलाई भगाइदिएको आरोप लागेपछि तीनजना प्रहरी छानबिनको दायरामा आएका हुन् ।

फर्जी विल र भेटेनरी प्रमाणपत्र बनाएर कृषि प्रयोजनको लागि भन्दै बाप्र ०३–००१ ख १४२४ नम्बरको ट्रकमा रहेको २५ वटा गोरु सहितको ट्रकलाई रातोमाटे नाका कटाइदिएपछि जिल्ला पशुसेवा कार्यालयले पत्रकार सम्मेलन गरी घटनालाई सार्वजनिक गरेपछि चौकी इन्चार्ज सहित सोही समयमा डिउटीमा रहेका प्रहरी विवादमा तानिएका थिए ।

रातोमाटे प्रहरीले छाडे पनि सशस्त्र प्रहरी बलको सहयोगमा पशुसेवा कार्यालयले बाराको पथलैयाबाट गोरु सहितको ट्रकलाई नियन्त्रणमा लिन सफल भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर