माओवादीको १२ बुँदे प्रस्ताव : पाथीभरा क्षेत्रमा देखिएको समस्या वार्ताबाट समाधानको माग – Nepal Press

माओवादीको १२ बुँदे प्रस्ताव : पाथीभरा क्षेत्रमा देखिएको समस्या वार्ताबाट समाधानको माग

विराटनगर । माओवादी केन्द्र कोशी प्रदेशले पाथीभरा मुक्कुमलुंग क्षेत्रमा भइरहेको विवाद वार्ताबाट समाधान खोज्न माग गरेको छ ।

माओवादी केन्द्र प्रदेश परिषद् बैठकले १२ बुँदे समसामयिक प्रस्तावहरू पारित गर्दै पाथीभरा क्षेत्रमा भइरहेको निर्माण तत्काल रोक्न आग्रह गरेको छ ।

बैठकले आन्दोलनरत पक्ष माथि सरकारले दमन गरेको भन्दै विरोध समेत गरेको छ । बैठकले गत भदौ असोजको वर्षापछि आएको बाढी पहिरोबाट प्रभावित भएकाहरूलाई क्षतिपूर्ति दिन र भत्किएको पुल बाटोघाटो, खाने पानी, सिँचाइ लगायतका भौतिक संरचना तत्काल पुनर्निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

यस्तै तत्काल किसानलाई मल उपलब्ध गराउन, दैनिक उपभोग्य बस्तु र रड, सिमेन्ट जस्ता निर्माण सामग्रीको आकासिँदो मूल्यवृद्धि नियन्त्रण गर्न माग गरेको छ ।

कोशी प्रदेश सरकारले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी ल्याएको आम सञ्चार विधेयकका प्रावधान खारेज गर्न, कृषि उपजको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न, औपचारिक क्षेत्रका श्रमिकहरूको ज्याला वृद्धि गर्न र अनौपचारिक क्षेत्रका मजदुरहरूको न्यूनतम ज्याला निर्धारण गर्न माग गरिएको छ ।
यस्तै तराइ भेगमा जङ्गली हात्ती आतङ्क र पहाडी भेगमा बाँदरबाट भइरहेको ठुलो क्षतिलाई न्यूनीकरण गर्न पनि माओवादीले माग गरेको छ ।

प्रदेश सरकारको चालू आर्थिक वर्षमा पारित बजेट तथा योजना अनुसार सहिद आवास कार्यक्रम तत्काल कार्यान्वयन गर्न र विकास निर्माण, सार्वजनिक सेवा र सुशासनको क्षेत्रमा हुने गरेको, अनियमितता, ढिलासुस्ती र बेथितिलाई नियन्त्रण गर्न पनि माओवादीले माग गरेको छ ।


प्रतिक्रिया

One thought on “माओवादीको १२ बुँदे प्रस्ताव : पाथीभरा क्षेत्रमा देखिएको समस्या वार्ताबाट समाधानको माग

  1. कथित पहिचानवादी नामका विदेशीका दलाललाई उचाल्ने नै तिमीहरू हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर