केआईआईटीबाट लखेटिएका विद्यार्थीले भने- हामी बाटोमा छौं, दूतावासले ढिला पहल गर्‍यो – Nepal Press

केआईआईटीबाट लखेटिएका विद्यार्थीले भने- हामी बाटोमा छौं, दूतावासले ढिला पहल गर्‍यो

केआईआईटीमा १५ सय नेपाली विद्यार्थी अध्ययनरत, रुपन्देहीका मात्रै तीन सय

रुपन्देही । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआईआईटी) मा नेपाली छात्रा मृत भेटिएपछि कलेजबाट लखेटिएका विद्यार्थीहरु विचल्लीमा परेका छन् । नेपाल प्रेसको सम्पर्कमा आएका एक विद्यार्थीले आफूहरुको उद्धारका लागि याचना गरे ।

केआईआईटीका विद्यार्थी सुयोग लम्साल नेपाल प्रेसको फोन सम्पर्कमा आएका हुन् । कलेजले फर्किन सूचना निकाले पनि धेरै विद्यार्थीहरु अहिले बाटोमा रहेको उनले बताए ।

उनले भने, ‘कलेजले एकाएक घर जान निर्देशन दिएपछि हामी सबै बाध्य भएर हिँडेका छौं । कोही बसमा, कोही रेलमा छौं । म कलकत्ता हुँदै फर्कने टोलीमा छु ।’

सुयोगका अनुसार सो कलेजमा नेपाली विद्यार्थीहरुको संख्या १५ सय हाराहारीमा छ ।

‘यकिन तथ्यांक थाहा भएन, तर हामी १५ सयभन्दा माथि नै छौं होला’, उनले भने । त्यहाँ रुपन्देहीका मात्रै करिब ३ सय विद्यार्थी रहेको आंकलन गरिएको छ । सुयोग भने २ दिनअघि मात्रै नेपालबाट सो कलेज पुगेका थिए ।

सुयोगका बुवा महेश्वर लम्सालले छोरा दुई दिनअघि मात्रै कलेजमा पुगे पनि यस्तो घटना भएपछि तत्काल फर्कनु परेको बताए ।

यो कलेजमा कम्प्युटर इन्जिनियरिङमा राम्रो अध्यापन हुने र भारतमा नाम चलेको हुँदा नेपाली विद्यार्थी भिड लाग्छन् । त्यहाँ प्लस टु सकेकाहरुलाई चार वर्षे ब्याचलरको पढाइ हुने गर्दछ ।

भारतको ओडिसा राज्यको भुवनेश्वरमा रहेको केआईआईटीले नेपाली विद्यार्थीलाई छात्रावासमा बस्न दिने भनेर सूचना निकालेको छ । भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले गरेको ताकेता र छलफलपछि कलेज लचक भएको हो ।

दूतावासले केआइआइटीका रजिस्ट्रार र अरु सरोकारवालासँग छलफल गरेको जनाएको छ । भारतको केन्द्र सरकार र ओडिसाको मुख्यमन्त्री कार्यालयसँग सम्पर्क भैरहेको र आवश्यक सहयोग भएको पनि दूतावासको भनाइ छ ।
तर विद्यार्थीहरुले यो पहल निकै ढिलो भएको गुनासो गरेका छन् । धेरै विद्यार्थी घर फर्कनका लागि गाडी÷ट्रेन चढिसकेका छन् ।

‘हामी बाटोमा आएपछिको सूचनाले के काम गर्यो र ? यस्तो पनि समन्वय हुन्छ ? यति धेरै विद्यार्थी अन्यायमा पर्दा समयमै केही रेस्पोन्स भएन’, सुयोगले भने । सुयोगका अनुसार हिजो दिउँसो ३ बजे प्रकृतीको शव भेटिएको हो ।

घटनापछि त्यहाँ रहेका करिब १५ सयभन्दा बढी विद्यार्थीले रहस्यमय घटना भएकाले छानविन माग गर्दा त्यहाँको प्रशासनले कलेज छाड्न दवाव दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *