नेपाली विद्यार्थीलाई गलहत्याएर निकालेपछि केआईआईटीले गर्यो क्लासमा फर्किन अपिल


काठमाडौं । भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (किट) कलेजले होस्टेलबाट लखेटिएका नेपाली विद्यार्थीहरुलाई फर्किन आह्वान गरेको छ ।
दिल्लीस्थिति नेपाली राजदूतावासको पहल र समन्वयपछि कलेजले सूचना जारी गर्दै सो आह्वान गरेको हो ।
सो कलेजको होस्टलमा नेपाली छात्रा प्रकृती लम्साल मृत भेटिएकी थिइन् । उनले आत्महत्या गरेको दाबी कलेजले गरिरहेको छ । प्रकृतिका साथीहरुको हवाला दिँदै कलेजले उनी एक युवकसँग प्रेममा रहेको र निजकै संलग्नताले गर्दा उनले अप्रिय निर्णय लिएको बताएको छ ।
आरोपी युवकलाई प्रहरीले विमानस्थलबाट पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनलाई अहिले प्रहरी हिरासतमै राखिएको छ ।
घटनाको निश्पक्ष छानबिनका लागि दबाब दिँदै नेपाली विद्यार्थीले शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।
यही निहुँमा सबै नेपाली विद्यार्थीलाई आज जबरजस्ति होस्टेलबाट निकालिएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार कलेजका दुईवटा बसमा नेपाली विद्यार्थीलाई हालेर कट्टाकस्थित रेल्वे स्टेसनमा छोडिएको छ । निकाल्ने क्रममा कलेजका कर्मचारी र सुरक्षाकर्मीले विद्यार्थीहरुलाई लछारपछार र हातपात समेत गरेका थिए ।
यो विषयमा नेपालीको सरकार र दिल्लीस्थित दूतावासले चासो देखाएपछि कलेज लचक बनेको हो । एक सुचना जारी गर्दै कलेजले विद्यार्थीहरुलाई फर्किन भनेको छ ।
रजिस्ट्रारद्वारा जारी सूचनामा भनिएको छ, ‘किट प्रशासनले सबै क्याम्पस र होस्टललाई सामान्य स्थितिमा फर्काएर पठनपाठन सुचारु गराउन सबै प्रयास अघि बढाएको छ । कलेज छोडेर हिँडेका वा छोड्ने योजना बनाएका हाम्रा सबै नेपाली विद्यार्थीहरुलाई फर्किएर क्लासलाई निरन्तरता दिन अपिल गरिन्छ ।’