प्रकृतीका बुवा ओडिसा पुगे, आमा बेहाेस भएपछि काठमाडौंबाट भैरहवा ल्याइँदै – Nepal Press

प्रकृतीका बुवा ओडिसा पुगे, आमा बेहाेस भएपछि काठमाडौंबाट भैरहवा ल्याइँदै

रुपन्देही । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआइआइटी) मा मृत भेटिएकी छात्रा रुपन्देहीको भैरहवा बैंक कलौनीकी वासिन्दा भएको खुलेको छ । उनी सिद्धार्थनगर नगरपालिका वडा नं ८ स्थायी घर भएका सुनिल लम्सालकी छोरी हुन् ।

प्रकृती त्यहाँ बीआइटी तेस्रो वर्षमा अध्ययन गरिरहेकी थिइन् । भैरहवामा स्थायी घर भए पनि लम्साल परिवार काठमाडौंमा व्यवसाय गरेर छोराछोरी पढाउँदै आएका थिए । भैरहवाको घरमा सुनिलका बुबाआमा मात्रै रहेका छन् ।

सिनपा ८ का वडा सदस्य थानेश्वर पौडेलका अनुसार छोरीको घटना सुनेपछि सुनिल  सिलगुढीको बाटो उडिसातर्फ गएका छन् । पत्नी सरीता भने हिँड्ने बेलामा बेहाेश भएर ढलेपछि जान नसकेकाे पारिवारिक स्राेतले बताएकाे छ । उनलाई अहिले स्थलमार्गबाट भैरहवा ल्याइँदै छ ।

‘यहाँ घर भए पनि उहाँहरु व्यवसाय गर्दै काठमाडौंमा बस्नुहुन्थ्यो । घटना सुनेपछि म पनि घरमा पुगेँ । बुढा भएका नानीका हजुरबुवाआमा रोइरहनुभएको छ । सबै विवरण त खुलेको छैन, तर बुवाआमा काठमाडौंबाट सिलगुढीको बाटो हुँदै आजै उडिसा पुग्नेगरी गएको सूचना पाएँ । उनीहरुको एक छोरा र एक छोरी भएजस्तो लाग्छ,’ उनले नेपाल प्रेससँग भने ।

आफ्नै टोलमा भएको यस्तो दुःखद घटनाले स्तब्ध बनाएको पौडेलले बताए ।

प्रकृतीका बुवा सोमबार नै शव राखिएको अस्पतालमा पुगेकाे बुझिएकाे छ । मंगलबार मात्रै शवकाे पोष्टमार्टम गर्ने तयारी छ ।

आफन्तका अनुसार दसै बिदामा घर आएकी प्रकृतिले एक महिना घरबाटै अनलाइन कक्षा लिएकी थिइन् । त्यसपछि कलेज फर्केकी उनी घर आएकी थिइनन् ।

प्रकृतीले एक महिनाअघि नै आफूलाई ब्यालकमेल गरी टर्चर दिने काम भएको भन्दै कलेज प्रशासनलाई जानकारी गराएको साथीहरुले बताएका छन् ।

सरकारी निकायमा छैन कुनै जानकारी

रुपन्देहीकी विद्यार्थीको मृत्यु भएपनि रुपन्देही प्रशासनमा कुनै औपचारिक जानकारी छैन । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले मिडियामा यो विषय सुनेपनि कहाँको के भन्ने विषयमा केही जानकारी नआएको बताए ।

‘कतैबाट औपचारिक जानकारी आएको छैन, मिडियामा रुपन्देहीको भन्ने सुनिएको छ, केही आएपछि खबर गरौला नि’ उनले भने ।

रुपन्देहीका प्रहरी प्रमुख एसपी रन्जित सिंह राठौरले पनि अहिलेसम्म केही जानकारी नआएको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर