प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोटः कपिलवस्तु र रूपन्देहीको जित – Nepal Press

प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोटः कपिलवस्तु र रूपन्देहीको जित

रुपन्देही । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय छनोटमा सोमबार भएका दुई खेलमा कपिलवस्तु र रुपन्देहीले सानदार जित निकालेका छन् । कपिलवस्तुले पाल्पामाथि २१५ रन र रुपन्देहीले पश्चिम नवलपरासीमाथि १० विकेटको सहज जित निकालेको हो । रुपन्देहीको यो लगातार दोस्रो जित हो भने पाल्पाको लागातार दोस्रो हार हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको कपिलवस्तुले निर्धारित ५० ओभरमा ७ विकेटको नोक्सानीमा ३०२ रनको विशाल लक्ष्य खडा गर्‍यो । उसका लागि रामजन अली धुनियाँ र रौनक श्रीवास्तवले शतकीय पारी खेले । धुनियाँले १२८ र श्रीवास्तवले ११० रन बनाए ।

यस्तै शिवकुमार मौर्यले १६, प्रतीक भट्टराईले १५ र मोहम्मद हुसेनले १४ रन जोडे ।

बलिङमा पाल्पाका नरबहादुर सार्कीले ३, केशव पहारीले २ तथा विपीन भट्टराई र श्रीधर बस्यालले १–१ विकेट लिए ।

जवाफमा विशाल लक्ष्य पछ्याएको पाल्पाले २८ ओभर १ बलमा सबै विकेट गुमाउँदा जम्मा ८७ रनमात्रै बनायो । उसलाई सस्तैमा रोक्न कपिलवस्तुका शिव कुँवरले ५, मोहम्मद हुसेनले २ तथा राज अग्रहरी र रमेशकुमार पाठकले १-१ विकेट लिए ।

पाल्पाका रुपेश बस्यालले २५, श्रीधर बस्यालले १९ र सन्तोष न्यौपानेले १० रन बनाए पनि अन्य ब्याटर नचल्दा टीमले लज्जास्पद हार व्यहोर्‍यो । खेलमा कपिलवस्तुका रामजन अली धुनियाँ प्लेयर अफ द म्याच घोषित भए ।

यस्तै तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको अर्को खेलमा टस जितेर ब्याटिङ गरेको नवलपरासीले निर्धारित ५० ओभरमा २० ओभर १ बल खेल्दै ५१ रन जोड्दा अलआउट भयो । उसलाई सस्तैमा रोक्न रुपन्देहीका रमेश कुर्मीले ५ ओभर बलिङ गर्दै ३ मेडनसहित २ रन खर्चेर महत्वपूर्ण ६ विकेट लिए ।

यस्तै विप्रसन केसीले ३ र सन्देश थापाले १ विकेट हात पारे । नवलपरासीका सम्राट भुसालले १८ र भुवन गैरेले ११ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रान जोड्न सकेनन् ।

रुपन्देहीले जवाफी ब्याटिङ गर्दै १३ ओभर २ बलमा विनाविकेट क्षति ५२ रन बनाउँदै सहज जित हात पार्‍यो । उसको जितमा मिर्नाल गुरुङले अविजित २३ र मनिष थापाले नटआउट १९ रनको योगदान गरे । खेलमा रुपन्देहीका रमेश कुर्मी प्लेयर अफ द म्याच भए ।

यही फागुन २५ देखि भैरहवाको सिद्धार्थ रंगशाला, तिलोत्तमाको एक्स्ट्राटेक र लमही राष्ट्रिय क्रिकेट मैदानमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ । उक्त प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय टीम छनोटका लागि जिल्लास्तरको छनोट खेल सुरु भएको हो ।

रुपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, पाल्पा, दाङ, बाँके र बर्दिया गरी ७ जिल्लाका टीम सहभागी छनोट खेलबाट प्रत्येक जिल्लाका उत्कृष्ट खेलाडी छनोट गरी लुम्बिनी प्रदेशको एउटा टीम बनाइने प्रादेशिक क्रिकेट संघ लुम्बिनीका अध्यक्ष सञ्जय गुरुङले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *