साना उद्योगमा लगानीकर्ता आकर्षित, लक्ष्यभन्दा बढी उद्योग दर्ता – Nepal Press

साना उद्योगमा लगानीकर्ता आकर्षित, लक्ष्यभन्दा बढी उद्योग दर्ता

काठमाडौं । साना उद्योगमा लगानीकर्ता आकर्षित भएका छन् । उद्योग विभागमा उद्योग दर्ताको तथ्यांक हेर्दा यस्तो देखिएको हो ।

उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २९७ वटा साना उद्योग दर्ता भएको छ । विभागले यो आर्थिक वर्षमा २०० वटा उद्योग दर्ता हुने लक्ष्य लिएको थियो, तर ६ महिनामै लक्ष्यभन्दा ९७ बढी उद्योग दर्ता भएका हुन् ।

विभागका अनुसार चालू आवको दोस्रो त्रैमाससम्म ३३८ वटा उद्योग (स्वदेशी र विदेशी) दर्ता भएका छन् । जसमा सबैभन्दा बढी साना उद्योग रहेको छ । ठूला उद्योग २४ र मझौला उद्योग १७ वटा रहेका छन् ।

यस अवधिमा एक खर्ब ६५ अर्ब २ अर्ब ९९ करोड रुपैयाँ उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ । दर्ता भएका उद्योगबाट १६ हजार ८६५ जनाले रोजगारी पाउने प्रस्ताव गरिएको छ ।

चालू आवको दोस्रो त्रैमाससम्म २५ अर्ब ७७ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता भएको छ । विभागले यस वर्ष ४४ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता हुने लक्ष्य लिएको थियो । प्रस्तावित विदेशी लगानी परियोजनाबाट १० हजार २४४ जनाले रोजगारी पाउने भएका छन् ।

यस अवधिमा २ हजार ३४ संख्यामा ट्रेडमार्क दर्ता भएका छन् । प्रारम्भिक वातावरण परीक्षण (ईआईए) ३३ वटा भएका छन् । साथै १ वटा प्याटेन्ट दर्ता भएको विभागले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर