तनहुँमा वडाध्यक्षले कुटे वडा सचिव


पोखरा । तनहुँको बन्दीपुर गाउँपालिका- ६ का वडाध्यक्षले वडा सचिवमाथि कुटपिट गरेका छन् । वडाध्यक्ष बलबहादुर गुरुङले सोमबार बिहान कार्यालय समयमा वडा सचिव नवीन भुसाललाई कुटपिट गरेका हुन् ।
वडाध्यक्षले कार्यालय समयमा वडा सचिवलाई कुटपिट गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले जानकारी दिए । घाटी अठ्याएको र मुक्का प्रहार गरेको वडा सचिवलाई उद्धृत गर्दै प्रशासकीय अधिकृत आचार्यले बताए ।
कुटपिटबाट घाइते भएका सचिव भुसालको बन्दीपुर अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो । थप उपचारका लागि भरतपुर लगिएको प्रशासकीय अधिकृत आचार्यले जानकारी दिए ।
भलिबल प्रतियोगिताको बिल भुक्तानी गर्ने सम्बन्धमा वडाध्यक्ष र सचिवबीच विवाद भएको बुझिएको छ । यसबारेमा बुझ्न वडाध्यक्ष गुरुङलाई सम्पर्क गर्न खोज्दा आफू मिटिङमा भएको र पछि कुरा गर्ने भन्दै फोन राखे ।