ओडिसाका शिक्षिकाले होस्टेलभित्र नेपाली छात्रालाई धम्क्याउँदै के-के भने ? – Nepal Press

ओडिसाका शिक्षिकाले होस्टेलभित्र नेपाली छात्रालाई धम्क्याउँदै के-के भने ?

‘तिमीहरु यहाँ सुरक्षित छैनौं, छोड तिमीहरुको दूतावास !’

काठमाडौं । भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिट्युट अफ टेक्नोलोजी (केआइआईटी)मा नेपाली छात्रा मृत भेटिएपछि शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नेपाली विद्यार्थीलाई त्यहाँका दुई शिक्षिकाले दुर्व्यवहार गरेका छन् । उनीहरुले नेपाली छात्रा बस्ने होस्टलमा छिरेर अपमानजनक तरिकाले थर्काएको भिडिओ भारतीय मिडियाबाट सार्वजनिक भएको छ ।

भिडिओमा सारी लगाएका दुई शिक्षिकाले नेपाली छात्रालाई तुरुन्त सामान प्याक गर्न भन्दै थर्काएको देखिन्छ ।

एक शिक्षिका भन्छिन्, ‘तिमीहरु आफैंले आफूलाई यस्तो गरेको हो । हामी तिमीहरुलाई रातिदेखि नै सम्झाइरहेका छौं, स्थानीय प्रशासनले टेकओभर गर्नेछ ।’

अर्की शिक्षिका आएर थप्छिन्, ‘तुरुन्तै सामान प्याक गरेर निस्किहाल । यहाँ प्रहरी आउँदैछ ।’

एक नेपाली छात्राले प्रश्न गर्छिन्, ‘हाम्रो गल्ती के हो ?’

शिक्षिका बम्किन्छिन्, ‘हामीलाई थाहा छैन तिमीहरुको गल्ती के हो । हामी यत्ति भन्छौं, तिमीहरुले हामीलाई यो निर्णय लिन बाध्य बनायौं । अब तिमीहरु कोही यहाँ सुरक्षित छैनौं । जहाँ सुरक्षित छौ, त्यही जाऊ ।’

विद्यार्थीहरुले नेपाली दूतावासमा जाने कुरा गर्छन् । शिक्षिकाहरु झनै उत्तेजित बन्छन् ।

‘छोड तिमीहरुको दूतावास ! यहाँ तिम्रो दूतावास किन आउने ? तिमीहरुले दूतावासलाई भनेर यो सबै गरेका हौ र ? यो हाम्रो निर्णय हो । तिमीहरु चुप लाग’, एक शिक्षिका औंला तेर्स्याउँदै भन्छिन् ।

अर्कीले थप्छिन्, ‘यो ३० वर्ष पुरानो विश्वविद्यालय हो । हाम्रोमा चार लाखले पढेका छन् । फाउन्डरको कुरा नगर । आज पनि ४० हजार बच्चालाई खुवाउँदैछन् । हुर्काउँदैछन् । त्यत्ति त तिम्रो देशको सारा बजेट पनि हुँदैन ।’

देशको नाम जोडेपछि नेपाली विद्यार्थीहरु होहल्ला गर्छन्, तर शिक्षिकाहरु रोकिँदैनन् । उनीहरुको उग्रता जारी रहन्छ ।

एक शिक्षिका च्याँठ्ठिएर भन्छिन्, ‘४० हजार पढाउने विश्वविद्यालय र संस्थापकसँग तिमीहरुले गर्व गर्नुपर्छ । तिमीहरु सबै बच्चा हौं । तिमीहरु आफैं सामान प्याक गर्ने कि पुलिस आएर प्याक गर्नुपर्ने हो ? अब यहाँ कोही देखिने होइन । जो देखिनेछ, उसलाई अनुशासनको कारबाही गरिनेछ । जो यहाँ देखिनेछ, जसलाई म अनुशासनको कारबाही गर्छु ।’

केआईआईटीमा बीटेक तेस्रो वर्ष पढ्ने नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएपछि प्रदर्शन भएको थियो । उनले आत्महत्या गरेको दाबी कलेजको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर