दोलखाबाट चिनियाँ नाकासम्म जोडिँदै त्रिदेशीय सडक सञ्जाल, २० करोड स्रोत सुनिश्चित – Nepal Press

दोलखाबाट चिनियाँ नाकासम्म जोडिँदै त्रिदेशीय सडक सञ्जाल, २० करोड स्रोत सुनिश्चित

चरिकोट । दोलखाबाट चिनियाँ नाकासम्म त्रिदेशीय सडक सञ्जाल जोडिने भएको छ । सरकारले चालू आर्थिक वर्षभित्रै चीनको सिमानासम्म सडक सञ्जाल जोड्ने प्रक्रिया अघि बढाएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरिदिएपछि छिट्टै टेन्डर आह्वान गर्ने तयारी छ । भिट्टामोड-जलेश्वर-बर्दिबास-खुर्कोट-तामाकोशी-सिँगटी-लामाबगर-लाप्चे सडकलाई बहुवर्षीय योजनामा समेट्दै मन्त्रालयले २० करोड रुपैयाँ बजेट सुनिश्चित गरिसकेको छ ।

सडक डिभिजन कार्यालय चरिकोटका अनुसार चिनियाँ नाका जोड्ने सडकको अहिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम भैरहेको छ । डीपीआर सकिएलगत्तै टेन्डर प्रक्रिया अघि बढाउने कार्यालयले जनाएको छ ।

यसैबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले उक्त सडकको आइतबार स्थलगत अवलोकन गरेका छन् । विगु गाउँपालिका- १ लामाबगरको हुरहुरेसम्मको सडक स्थलगत निरीक्षणपछि योजना कार्यान्वयन अघि बढाउन निर्देशन दिए ।

उत्तर-दक्षिण लोकमार्ग महत्वपूर्ण सडक योजना भएकाले आगामी नीति कार्यक्रममा मन्त्रालयले प्राथमिकतामा राखेर अघि बढाउने उनले बताए ।

‘२० करोड स्रोत सुनिश्चित भैसकेको छ, त्रिदेशीय सम्बन्ध जोड्ने यो सुरुवात हो, आगामी दिनमा यसलाई प्राथमिकता दिएर काम गर्छौं’, उनले भने ।

मन्त्री दाहालसहित पूर्वमन्त्री पार्वत गुरुङ, दोलखाका प्रदेश सांसद भरत केसी, कांग्रेस दोलखाका सभापति बर्मा लामा, सडक विभागका महानिर्देशक रामहरि पोखरेल, सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख इन्जिनियर अमितकुमार श्रेष्ठलगायत सडक अवलोकनमा पुगेका थिए ।

स्थलगत अवलोकनका क्रममा मन्त्री दाहालले सडकको हालसम्मको प्रगति र निर्माण गर्नुपर्ने बाँकी सडकको विषयमा जानकारी लिए ।

एमाले पोलिटव्युरो सदस्यसमेत रहेका पूर्वसञ्चार तथा सूचनाप्रविधिमन्त्री पार्वत गुरुङले जिल्ला र मुलुककै आर्थिक समृद्धिसँग जोडिएको हुनाले यो लोकमार्ग जसरी पनि सञ्चालनमा ल्याउने पहल भैरहेको बताए ।

२० करोड बजेट नाकासम्म सडक जोड्ने काममा खर्च हुनेछ । त्यसबाहेक मर्मत र स्तरोन्नतिको काम पनि हुने जनाइएको छ ।

भिट्टामोडदेखि लप्चीसम्म सडक सञ्जाल जोडिए यो नेपाल, भारत र चीन जोड्ने सबैभन्दा छोटो दूरीको त्रिदेशीय लोकमार्ग बन्नेछ । भिट्टामोडदेखि चीनको याङ्लुङ जम्मा २४८ किलोमिटरको दुरीमा छ ।

महोत्तरीको भिट्टामोडदेखि लामाबगरको लप्ची र लुम्नाङ क्षेत्रसम्म सडक पहुँच पुगिसकेको छ । त्यसबीचमा लामाबगरको हुरहुरे भीरमा ५-६ सय मिटर भीर छिचोल्न बाँकी छ । अब लगभग १३ किलोमिटर सडकको ट्रयाक खोलेपछि चीनको सीमा जोडिने अनुमान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर