कर्णाली सभ्यता विश्वकै अनुपम पहिचान हो : मुख्यमन्त्री कँडेल


सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीलाई मानव सभ्यताको महत्त्वपूर्ण केन्द्रका रूपमा रहेको परिभाषित गरेका छन्।
सोमबार सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको ‘कर्णाली उत्सव ‘कुडा कर्नालीका’ को छैटौँ संस्करण उद्घाटन गर्दै उनले कर्णाली सभ्यता नेपालको मात्र नभई विश्व सभ्यतासँग जोडिएको बताएका हुन्।
मुख्यमन्त्री कँडेलले कर्णाली सभ्यता भाषा, संस्कृतिको समृद्ध थलो भएको उल्लेख गर्दै नेपाली भाषाको उद्गम स्थलका रूपमा चिनिने जुम्लाको सिन्जा उपत्यका हाम्रो गौरव भएको बताए। ‘कर्णालीलाई विश्वभरका नेपाली भाषीले आफ्नो उद्गम थलोका रूपमा स्वीकार्छन्,’ उनले भने।
उनले कर्णालीलाई प्राकृतिक स्रोतसाधनले भरिपूर्ण क्षेत्र भएको उल्लेख गर्दै यहाँको पर्यटन, कृषि, जडीबुटी र जलस्रोतलाई सही रूपमा उपयोग गर्न सके समृद्धि हासिल गर्न सकिने बताए। उनले भने, ‘कर्णाली मानसरोवर मार्ग, फोक्सुण्डो तालजस्ता प्राकृतिक सम्पदाले भरिपूर्ण छ। यहाँको पानी र जडीबुटी संसारकै उत्कृष्ट मानिन्छ ।’
तर, कर्णालीलाई अभाव, दुःख र पछौटेपनको प्रतीक बनाउने प्रवृत्तिप्रति उनले आपत्ति जनाए। कर्णालीलाई रोग, भोक र शोकसँग मात्रै जोड्न छोड्नुपर्छ उनले भने, ‘सम्भावनाको भूमि भनेर विकासको नयाँ परिभाषा दिनुपर्छ।’
कर्णालीको विकास र समृद्धिको यात्रामा विभिन्न चुनौती रहेको उल्लेख गर्दै उनले सरकारको प्रतिबद्धता प्रस्ट पारे। ‘शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार र उत्पादनका हिसाबले कर्णाली अझै कमजोर छ। तर, अब कर्णालीलाई भोक र शोकको पर्याय बनाउने होइन, समृद्धिको आधारशिला बनाउने साझा संकल्प आवश्यक छ,’ मुख्यमन्त्री कँडेलले भने।
उनले संघीय सरकारले कर्णालीप्रति उपेक्षात्मक दृष्टिकोण राख्दै आएको आरोप लगाउँदै त्यसलाई परिवर्तन गर्न प्रयास भइरहेको बताए। ‘हाम्रो निरन्तर दबाबपछि हाल कर्णाली करिडोर, भेरी करिडोर, गमगढी-नाक्चेनाङ्गला सडकजस्ता योजनामा बजेट विनियोजन भएको छ,’ उनले जानकारी दिए।
मुख्यमन्त्री कँडेलले कर्णालीको विकासका लागि सत्ता र प्रतिपक्षको साझा प्रयास आवश्यक रहेको बताए। ‘विकास र समृद्धि कुनै एक दलको जिम्मेवारी होइन। सबै दल, जनप्रतिनिधि र नागरिकले हातेमालो गर्नुपर्छ,’ उनले जोड दिए।
कर्णालीको समृद्धिका लागि जलस्रोत, पर्यटन, जडीबुटी र संस्कृतिलाई विकासको प्रमुख आधार बनाउनुपर्ने उनको भनाइ छ। अब कर्णालीलाई विकासका गीत, कविता र गजल लेख्ने आधार बनाउनुपर्छ। हामी सबै मिलेर समृद्धिको मार्गचित्र कोर्नु जरुरी छ, मुख्यमन्त्री कँडेलले भने।
उनले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै भएको उल्लेख गर्दै विकासका सम्भावनालाई मूर्तरूप दिन सबै नागरिक जिम्मेवार बन्नुपर्ने धारणा राखे। “व्यक्तिगत कमजोरीलाई लिएर लोकतन्त्रप्रति वितृष्णा जगाउने होइन, समृद्धिका लागि एकजुट हुनुपर्छ,’ उनले भने।
मुख्यमन्त्री कँडेलले कर्णालीको समृद्धि सबैको साझा दायित्व भएको उल्लेख गर्दै सरकार सकारात्मक परिवर्तनका लागि प्रतिबद्ध रहेको बताए। हाम्रो इमानदार प्रयासबाटै कर्णालीको समृद्धि सम्भव छ उनले भने, ‘सबैले आफ्नो ठाउँबाट योगदान दिएर कर्णालीलाई समृद्ध बनाउने अभियानमा सहभागी हुन म आग्रह गर्दछु।