पोर्चुगलमा जनयुद्ध दिवस मनाइयो – Nepal Press

पोर्चुगलमा जनयुद्ध दिवस मनाइयो

लिस्बन । नेपाली समाजको ऐतिहासिक आन्दोलन जनयुद्धको ३०औं वार्षिकोत्सव पोर्चुगलमा सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता जनप्रगतिशील मञ्च पोर्चुगलकी अध्यक्ष सीता ढकाल सुवेदीले गरेकी थिइन् भने अन्तर्राष्ट्रिय नेपाली समाजका केन्द्रीय अध्यक्ष तथा जनप्रगतिशील मञ्च पोर्चुगलका सल्लाहकार अर्जुन घिमिरे प्रमुख अतिथिका रूपमा रहेका थिए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका अध्यक्ष उमेश खड्का, सोनाम योञ्जन लामा, जनजाति महासंघका अध्यक्ष चोप कुमार मगर, नेपाली समाजका अध्यक्ष योञ्जन कुमार तामाङ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्य राजकुमार थापा, इन्सका सल्लाहाकार दावा स्वङ लामा, महिला समाजकी अध्यक्ष शान्ति अर्याल अधिकारी, प्रवासी मञ्चका अध्यक्ष दिपक खत्री, शेर्पा किदुकका अध्यक्ष राजेन्द्र शेर्पा, तामाङ समाजका अध्यक्ष ह्योनजान ली, तथा हल उपलब्ध गराई विशेष सहयोग पुर्याउने आदरणीय धन शेर्पा लगायत विभिन्न सामाजिक तथा राजनीतिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

यस विशेष कार्यक्रममा माओवादी विचारधारा बोकेका क्रान्तिकारीहरू, सामाजिक रूपान्तरणका पक्षधरहरू, तथा प्रवासी नेपाली समुदायका सचेत सदस्यहरूको उल्लेखनीय सहभागिता रह्यो ।

कार्यक्रमको सञ्चालन ऋतु अधिकारीले गरेकी थिइन् भने उपस्थित सम्पूर्ण प्रतिनिधिहरूलाई दिपक बानियाँ लगायतका कमरेडहरूले स्वागत गरेका थिए ।

कार्यक्रमका वक्ताहरूले जनयुद्ध नेपाली जनताको मुक्ति, वर्गीय उत्पीडन, दलित शोषण, महिला हिंसा, र सामाजिक विभेदविरुद्धको संघर्ष भएको कुरामा विशेष जोड दिए। १० वर्षसम्म चलेको यस महान संघर्षले संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र, तथा श्रमिक वर्गको सशक्त प्रतिनिधित्व स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको थियो ।

कार्यक्रमकी अध्यक्ष सीता ढकाल सुवेदीले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्ण व्यक्तित्वहरूलाई हार्दिक आभार व्यक्त गर्दै भनिन्, ‘हाम्रो प्रवास जीवनको दशक लामो यात्रामा समाजले गरेको मूल्यांकन नै आजको कार्यक्रम भएको महसुस गर्दैछु । आगामी दिनमा पनि यही समाजप्रति सकारात्मक योगदान दिइरहनेछु ।’

त्यसैगरी, प्रमुख अतिथि अर्जुन घिमिरेले नेपालमा माओवादी जनयुद्धको ऐतिहासिक पृष्ठभूमि स्पष्ट पार्दै, क्रान्तिकारी विद्यार्थी संगठनको नेतृत्वमा रहँदा भोगेका चुनौतीहरू, माओवादी आन्दोलनको मूलधारमा आएको परिवर्तन, तथा अन्य राजनीतिक दलहरूले माओवादीप्रति राखेको व्यवहारबारे प्रकाश पारे ।

उनले प्रवासी भूमिमा रहेका माओवादी कार्यकर्ताहरूले सामना गरिरहेका समस्याहरूको समाधानका लागि सङ्गठित, जुझारु, र वैचारिक रूपमा सशक्त बन्नुपर्ने आवश्यकता औंल्याए । साथै, जनप्रगतिशील मञ्च पोर्चुगलको नेतृत्वमा सीता ढकाल सुवेदीले पुर्याएको योगदानप्रति प्रशंसा गर्दै, आगामी दिनमा मञ्चलाई अझ प्रभावकारी बनाउने संकल्प व्यक्त गरे ।


प्रतिक्रिया

One thought on “पोर्चुगलमा जनयुद्ध दिवस मनाइयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर