कलिलो काँधमा परिवारको जिम्मेवारी, अटो रिक्सा चलाएर पूरा गर्छिन् कृष्णा नेपाली – Nepal Press

कलिलो काँधमा परिवारको जिम्मेवारी, अटो रिक्सा चलाएर पूरा गर्छिन् कृष्णा नेपाली

सुर्खेत । दैलेखकी कृष्ण नेपालीले कलिलो काँधमा घरपरिवारको जिम्मेवारी बोकिरहेकी छन् । २१ वर्षीया कृष्णले अटो रिुक्सा चलाएर घरपरिवारको आर्थिक जिम्मेवारी पूरा गर्दै आएकी हुन् ।

बुवा एक्लैको कमाइले घर धान्न नसकिने देखिएपछि उनले अटो रिक्सा चलाउन थालिन् । उनका बुबामा भारतस्थित एक होटलमा काम गर्छन् । कृष्णाले कक्षा १० को पढाइ सकिलगत्तै अटो रिक्सा चलाउन थालेको बताइन् ।

‘घरमा आमाबुवा, दिदीबहिनी र भाइ छन्’, कृष्णाले भनिन्, ‘बुवा एक्लैबाट घरको जिम्मेवारी पूरा नहुने देखिएपछि म पनि कमाउने बाटोमा लागेकी हुँ ।’

उनले सुरूमा घर निर्माणमा मजदुरको काम गरेको बताइन् । निर्माण मजदुरीमा सम्भावना नदेखिएपछि अटो रिक्सा चलाउनेतर्फ लागेको उनीले बताइन् ।

‘आर्थिक संकटले गर्दा काम गर्नुपर्ने बाध्यता थियो’, कृष्णाले भनिन्, ‘त्यसैले १० कक्षा सकेपछि अटो रिक्सा चलाउन थालें ।’

अटो चलाउन केही ज्ञान र जानकारी नभए पनि आत्मविश्वासका साथ लागेपछि काममा सफलता पाउँदै आएको कृष्णाले बताइन् । उनका अनुसार ऋण लिएर अटो रिक्सा किनेका हुन् । जसको मासिक १८ हजार रुपैयाँ किस्ता बुझाउँदै आएको उनी बताउँछिन् ।

कृष्णा अहिले अटो रिक्सा चलाउन पूर्ण रुपमा सक्षम भइसकेकी छन् । अटो रिक्सा सञ्चालनमै स्थापित भइसकेकी उनले यसबाट मासिक ३० हजार रुपैयाँ आम्दानी भइरहेको बताइन् ।

लेबर काम गर्दा महिनामा १५ हजारमात्र कमाइन्थ्यो, अब अटो चलाएर ३० हजारसम्म पुग्छ’, उनले भनिन्, ‘यो काम गर्दा सहज पनि छ, सबैले सम्मान पनि गर्छन् ।’

अटो रिक्सा चलाउन थाल्दा सुरुमा थुप्रै आर्थिक कठिनाइको सामना गर्नुपरे पनि अहिले किस्ता तिर्ने, घर खर्च चलाउने र भाइको पढाइ खर्चको व्यवस्थापन भइरहेको उनको भनाइ छ ।

कृष्णा दैलेखमा अटो रिक्सा चलाउने केही सीमित चालकमध्ये एक हुन् । उनले आफूलाई सहारा दिने र हौसला दिने धेरै मानिस भेटेको बताइन् ।

सुरुमा अटो चलाउने महिला देख्दा अचम्ममा परेको कृष्णाका यात्रु बताउँछन् । उनीहरुको अनुसार कृष्णा आत्मविश्वासका साथ अटो रिुक्सा चलाउँछिन ।

महाबु गाउँपालिका- ६ की लक्ष्मी थापा भन्छिन्, ‘सुरुमा, हामीलाई विश्वास थिएन कि एक महिला अटो चलाउँछिन्, तर अब हामी ढुक्कसँग अटोमा यात्रा गर्न सक्छौं, उनी राम्रोसँग चलाउँछिन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *