को हुन् बीमा प्राधिकरणको अध्यक्ष बन्न ‘सर्टलिस्ट’मा परेका पाँच जना ? – Nepal Press

को हुन् बीमा प्राधिकरणको अध्यक्ष बन्न ‘सर्टलिस्ट’मा परेका पाँच जना ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि पाँच जना सर्टलिस्टमा परेका छन् । कमलप्रसाद रेग्मी, चिरञ्जीवी चापागाईँ, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा अध्यक्षका लागि सर्टलिस्टमा परेका हुन् ।

नागरिकता किर्तेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघिका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध मुद्दा दायर गरेपछि अध्यक्ष पद रिक्त छ । रिक्त सो पदका लागि गएको पुस २६ गते आवेदन माग गरिएको थियो ।

प्राधिकरणको अध्यक्ष बन्न १२ जनाको आवेदन परेको थियो । जसमा सर्टलिस्टमा परेका पाँच जनासहित डा. देवराज रोका, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, डिमप्रसाद पौडेल, विक्रान्त पाण्डे, रमण नेपाल र विनोद काजी श्रेष्ठ रहेका थिए । तर, उनीहरू भने सर्टलिस्टमा पर्न सकेनन् ।

सर्टलिस्टमा परेकाहरूलाई प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष नियुक्तिको लागि बनेको सिफारिस समितिले अन्तरवार्ताका लागि बोलाएको छ । सर्टलिस्टमा परेका पाँच जनालाई व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तरवार्ताका लागि यही फागुन १० गते समितिले बोलाएको हो ।

बीमा प्राधिकरणको अध्यक्ष बन्नका लागि सर्टलिस्टमा परेका कमलप्रसाद रेग्मी बीमा प्राधिकरणकै कार्यकारी निर्देशक हुन् । अर्का चिरञ्जीवी चापागाईँ पनि प्राधिकरणकै पूर्व अध्यक्ष हुन् । चापागाईँ तत्कालीन बीमा समितिमा एक कार्यकाल अध्यक्ष बनिसकेका व्यक्ति हुन् ।

पूर्व राजस्व सचिव समेत रहेका रामशरण पुडासैनी कृषि विकास बैंकका अध्यक्ष हुन् । स्मरण रहोस्, नेपाल बीमा प्राधिकरण ऐनको मस्यौदा बनाउँदा पुडासैनी अर्थ मन्त्रालयमा राजस्व सचिवकारुपमा कार्यरत थिए ।

दामोदर बसौला बीमा बोर्डका पूर्व कार्यकारी निर्देशक हुन् भने शरद ओझा पत्रकार हुन् ।

सर्टलिस्टमा परेकाहरूले व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तरवार्ता दिएपछि उनीहरूमध्येबाट तीन जनालाई मात्रै मन्त्रीपरिषद्मा पठाइन्छ । मन्त्रीपरिषद् बैठकले जसमध्येबाट एक जनालाई प्राधिकरणको अध्यक्ष नियुक्त गर्नेछ । अध्यक्षको कार्यकाल चार वर्षको हुनेछ ।

बीमा प्राधिकरणको अध्यक्ष बन्नका लागि बीमा, मौद्रिक, बैंकिङ्ग, वित्तीय, वाणिज्य शास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी यस सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्य कानुन, न्याय सय, अनुभव हासिल गरेको हुनुपर्ने बीमा ऐनमा व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर