परराष्ट्रमन्त्री राणाको मस्कट मन्तव्य: जयशंकरलाई धन्यवाद भन्दै अरू के-के भनिन् ? (भिडिओ)


काठमाडौं । ओमानको राजधानी मस्कटमा भएको आठौँ हिन्द महासागर सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवाले सामुद्रिक मार्ग भूपरिवेष्टित देश नेपाललाई जरुरत भएको बताइन् ।
मानवताको समावेशी र दिगो विकासको लागि सामुद्रिक सहकार्य आवश्यक भएको राणाले बताएकी छिन् । उनले भुटानी विदेशमन्त्रीको भनाई साभार गरेर यस्तो बताएकी हुन् ।
ग्लोबल साउथमा सबैभन्दा धेरै जनसंख्या भएको भन्दै ग्लोबल साउथको आवाज विश्वमा आवश्यक भएको भन्दै राणाले डिजिटल डिभाइडरदेखि जलवायु परिवर्तन जस्ता चुनौतीमा ग्लोबल साउथलाई साथ लिनुपर्नेमा मन्त्री राणाले जोड दिइन् ।
नेपाल दक्षिण दक्षिण (साउथ साउथ) सहकार्यमा सकारात्मक भएको बताएकी राणाले हिन्द महासागर क्षेत्रमा धेरै जनसंख्या भएकोले हिन्द महासागर सम्मेलनको अर्थ भएको बताइन् ।
साथै मन्त्री राणाले जलवायु न्यायको मुद्दामा पनि जोड दिएर विकसित देशहरूले गरेको प्रतिबद्धता पुरा हुनुपर्ने बताइन् । मन्त्री राणाले महिला र युवाहरूको आवाज ग्लोबल साउथबाट सुन्नुपर्ने समेत बताइन् ।
मस्कटको मन्तव्यमा राणाले निम्तोको लागि भारतीय विदेशमन्त्री एस. जयशंकर र आयोजनाको लागि ओमान सरकारलाई धन्यवाद भनेकी छिन् ।