काठमाडौंका २५ सयभन्दा बढी सडक र गल्लीको जीआईएस नक्सांकन सुरू


काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकको इन्भेन्ट्री (सूची) तयार गर्ने, वैज्ञानिक र मौलिक नामाकरण गर्ने तथा सडकसँग सम्बन्धित पूर्वाधार अभिलेखन गर्न भौगोलिक सूचना प्रणाली (जीआइएस) मा आधारित नक्सांकनको काम थालेको छ । गत पुस ९ गतेदेखि ५ जना भौगोलिक सूचना प्रणाली इञ्जिनियर र ५ जना सिनियर सर्भेयर यसमा खटिएका छन् ।
नक्सांकनका क्रममा यसअघि गरिएका कामबाट प्राप्त उपलब्धीलाई थप गर्दै लगिने महानगरले जनाएको छ । कार्यक्रमलाई सहभागितामूलक र प्रभावकारी बनाउने उद्देश्यले सहरी व्यवस्थापन विभागले आइतबार वडाध्यक्ष, विभागीय प्रमुख र इञ्जिनियरहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । त्यस क्रममा भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारले भने, ‘यसअघि नक्सा बनाउँदाको अवस्था र आवश्यकता फेरिएर सहरले अहिले फरक अवस्था धारण गरेको छ । त्यसबेलाका सूचना स्वतः अद्यावधिक नहुँदा धेरै कुरा खोजेर तथ्यांक तयार पार्नु पर्नेछ । यसका लागि काम थालिएको हो ।’
छलफलमा वडाध्यक्ष दलबहादुर कार्कीले, प्रचलित नामलाई मौलिक नाममा अभ्यस्त गराउन मसिना-मसिना कार्यक्रम कार्यान्वयन गर्दै वृहत नतिजा प्राप्त गर्ने बाटो समात्नुपर्ने धारणा राखे ।
‘सडक, पथ, गल्ली र चोकको नाम परिवर्तन गर्न वडाहरूमा माग आएको आएकै छन् । समन्वय गरेर दिगो हुने काम गरौँ,’ उनको सुझाव थियो ।
अन्तरक्रियामा प्रस्तुतिकरण गर्दै महानगरपालिकाका नापी अधिकृत इञ्जिनियर अशोक श्रेष्ठले, २०५८ सालमा सञ्चालन भएको काठमाडौं उपत्यका म्यापिङ कार्यक्रमबाट २ हजार ५७८ वटा पथ, सडक, मार्ग र गल्लीहरुको नामाङ्कन र नक्साङ्न अवस्थालाई अद्यावधिक गरिने बताए ।
‘त्यसबेला ८० हजार घरधुरीलाई मेट्रिक सिस्टममा आधारित नम्बर प्रदान गरिएको थियो । कार्यक्रमले प्रदान गरेको भौगोलिक सूचना र सेटलाइट तस्विरको मद्दतले अहिलेसम्ममा २ हजार ४० वटा पथ, सडक, मार्ग र गल्लीको डिजिटल नक्सांकन र नामाङ्कन भइसकेको छ । सेटलाइट इमेजबाट यकिन हुन नसकेका पथ, सडक, मार्ग र गल्लीको डिजिटलाइज गर्न ड्रोन इमेज लिने प्रक्रिया अगाडि बढेको छ,’ श्रेष्ठले जानकारी दिए ।
नक्सांकनको कामबाट सडकको इन्भेन्ट्री (सूची) तयार हुनेछ । यसमा सडक र सडक सञ्जालको मौलिक र वैज्ञानिक नाम, सडकसँग सम्बन्धित योजना, फोहरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, आपतकालीन द्रूत सेवालगायत क्षेत्रका तथ्य र तथ्याङ्क हुनेछन् ।
अहिले सडकहरूको नक्सांकन गर्ने र सूची तयार पार्ने, काठमाडौं उपत्यका म्यापिङ कार्यक्रमबाट नामाकरण भइसकेका सडकहरुलाई एकीकृत गर्ने, सडकहरुको मौलिक र वैज्ञानिक नामकरण गर्ने, सडकसँग जोडिएका संरचना र पूर्वाधारको विवरण संकलन गर्नु तथा नक्सांकन गर्नु कार्यक्रमको लक्ष्य भउको महानगरले जनाएको छ ।
भौगोलिक सूचना प्रणालीमा आधारित नक्सा नहुँदा अहिले ठेगाना प्रणालीसँग सम्बन्धित तथ्याङ्क उपलब्ध हुन सक्ने अवस्था छैन । महानगरपालिका र वडाका योजना एकीकृत हुन सकेको छैन । प्रशासनिक नक्सा र वडाहरूको सिमानाको अवस्था मिलेको छैन । यसैकारण भवन र पूर्वाधारहरुको यथार्थ विवरण प्राप्त हुन सक्ने अवस्था छैन । अहिले थालिएको नक्सांकन कार्यक्रमबाट यी अभावलाई कम गराउँदै लगिनेछ ।
नक्सांकनबाट प्राप्त तथ्याङ्कले राजस्व विभागलाई नक्सामा आधारित वैज्ञानिक राजस्व निर्धारण गरेर व्यक्ति र संघसंस्थालाई आवद्ध गराउन सघाउ गर्ने महानगरले जनाएको छ । सहरी व्यवस्थापन विभागलाई घर नक्सा, यातायात र स्मार्ट टोलका लागि विश्लेषणयुक्त प्रणाली उपलब्ध हुनेछ । जोखिमयुक्त स्थानको पहिचान गर्न, विपद् व्यवस्थापनमा पूर्वतयारी तथा प्रतिकार्य योजना गर्न, आपतकालीन अवस्था व्यवस्थापनका तयारीका लागि विपद व्यवस्थापन विभागलाई काममा मद्दत हुने बताइएको छ ।
फोहोरमैला संकलन, ढुवानी तथा व्यवस्थापनका लागि वातावरण व्यवस्थापन विभागलाई रुट निर्धारण गर्न सहज हुनेछ । नागरिकको स्वास्थ्य संस्थामा पहुँच बढाउन, रोग तथा महामारी नियन्त्रणका कार्यक्रम सञ्चालन गर्न स्वास्थ्य विभागलाई सहयोग हुनेछ । सम्पदा क्षेत्रमा पर्यटन प्रवर्धनका लागि योजना गर्न सम्पदा तथा पर्यटन विभागलाई विवरण उपलब्ध हुनेछ ।
ठेगानामा आधारित सामुदायिक पशुपन्छीको तथ्यांक राख्न कृषि तथा पशुपन्छी विभागलाई, सहकारीहरुको स्थान निर्धारण गरेर नियमन गर्न सहकारी विभागलाई, गरिबी उन्मुलन, सामाजिक विकासका कार्यक्रम सञ्चालन गर्न सामाजिक विकास विभागलाई, तथ्यांक विश्लेषण गर्न सूचना प्रविधि विभागलाई, सडक, पैदल मार्ग, भौतिक संरचनाहरूको योजना तर्जुमा तथा कार्यान्वयन निगरानीका लागि सार्वजनिक निर्माण विभागलाई मद्दत हुनेछ ।